काठमाडौँ कोरोनाको उच्च जोखिममा, नाकामा कोरोना परिक्षण हुँदैन (भिडियाे)

कमल प्रभात

काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाई गर्ने बताए पनि अवस्था ठिक विपरित छ।

मंगलबार बिहान सामुदायिक प्रहरी साझेदारी, पालिका समिति चन्द्रगिरीले आयोजना गरेको कोरोना संक्रमण सचेतना तथा मास्क वितरण अभियानमा बिएल नेपाली सेवाको टोली थानकोट नाका पुग्दा चेकजाँच फितलो देखिएको हो।

यसअघि जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, काठमाडौंले उपत्यका भित्रिने नाकामा कोरोना परिक्षण गरेर प्रवेश गर्न भने पनि सामान्य ज्वरो नाप्ने व्यवस्था समेत गरिएको छैन।

थानकोट नाका चन्द्रागिरी नगरपालिका वडा नं–२ मा पर्छ। आफ्नो क्षेत्र भएको हुँदा वडाले चेक जाँचको व्यवस्था मिलाउनु पर्ने हो। तर वडा भने स्रोत साधनको अभावका कारण सामान्य जाँच समेत गर्न नसकेको बताइरहेको छ। ‘हामीसँग स्रोत साधनको अभाव भएको कारण चेकजाँज गर्न नसकेका हौं। कर्मचारीको अभाव छ, स्वास्थ्य सामाग्री छैनन्’, चन्द्रागिरी नगरपालिका–२ का वडा अध्यक्ष गोपी सुर्खेतीले बिएल नेपाली सेवासँगको कुराकानीमा भने। 

उनले हाल वडा कार्यालय मास्क बाँड्न सक्ने अवस्थामा पनि नरहेको बताए। ‘साधन नभएर हेल्थ डेस्क समेत राख्न सकेका छैनौं। हामीसँग आजसम्म प्रदेश र संघीय सरकारले समन्वय गरेको छैन,’ उनले भने।



म्यान्मार सेनाद्वारा टमूनगरमा दुई नेपालीभाषीको गोली हानी हत्या



उक्त नाकाको हालको मुख्य समस्या भनेको स्रोत साधनको अभाव हो। विशेष गरेर चेकजाँचमा खटिने कर्मचारीले लगाउने पीपीई, जाँच गर्ने उपकरण, सुरक्षा सामग्रीको अभाव भएको वडाअध्यक्ष सुर्खेती बताउँछन्। उनी नाकामा हाल कसैको पनि कोरोना परिक्षण (पिसिआर) नभएको बताउँछन्।

‘हामीले यात्रुलाई मास्क लगाउन भन्नु बाहेक केही गर्न सकेका छैनौं। पिसिआर गर्न सक्ने अवस्था पनि छैन, गरेपनि कोराना पोजेटिभ देखिएमा कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो चुनौती छ,’ अध्यक्ष सुर्खेतीले भने, ‘कोरोना पोजिटिभ देखियो भने कसरी मानिसलाई व्यवस्थापन गर्ने, अस्पताल वा क्वारेन्टानसम्म पुर्याउने साधन समेत छैन।’

यहाँको अर्काे मुख्य चुनौती भनेको फोहोर व्यवस्थापन हो। उपत्यका बाहिरबाट भित्रिने मानिसलाई परिक्षण गर्दा निस्कने फोहोर व्यवस्थापनमा समस्या हुँदा कर्मचारीलाई नै संक्रमण फैलन सक्ने हुन्छ।

‘अन्य फोहोर जसरी महानगरपालिकाले यसलाई लैजादैन, यसलाई छुट्टै व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘फोहोर व्यवस्थापन गर्न कठिन हुन्छ, उचित फोहोर व्यवस्थापन नहुँदा आफैलाई कोरोना संक्रमण हुन्छ की भन्ने त्रास बढेको छ।’ सोही कार्यक्रममा पुगेको काठमाडौं जिल्ला प्रमुख अधिकारी कालीप्रसाद सवेदीले यहाँको समस्या छिट्टै हल गर्ने बताएका छन्।



श्वासनलीमा खाना अड्किएर इन्फेक्सन: पैसा पनि सकियो, ज्यानको भर छैन



उनले बिएल नेपालीसँगको कुराकानीमा भने,‘अहिले यो क्षेत्रमा उच्च जोखिम छ। हामीले छिट्टै स्वास्थ्य मन्त्रालयमा कुरा गरेर यहाँ चेक जाँचको व्यवस्था मिलाउछौं।’ उनले थपे,‘म आजै स्वास्थ्य मन्त्रालय गएर हेल्थ डेक्स राख्न अनुरोध गर्छु। अरु कुराको व्यवस्थापन छिट्टै हुनेछ।’

कोरोना संक्रमणबाट बच्न विभिन्न सचेतना अभियान चलाउँदै आएको महानगरीय प्रहरीले यहाँ चेकजाँच गर्न सहयोग गर्ने बताएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले कोरोना संक्रमण नियन्त्रणमा सक्दो साथ दिने बताएका छन्।

अहिले विशेष त भारतीय नाकाबाट नेपाल प्रवेश गर्ने मानिसमा कोरोना संक्रमण जोखिम बढी देखिएको छ। तर, भारतीय नाकाबाट विभिन्न जिल्ला हुँदै काठमाडौैं आउने मानिसको कोरोना परिक्षण भएको छैन। त्यसकारण पनि विभिन्न जिल्लासँग समन्वय गरी उचित स्थानमा चेकजाँच नगरेमा कोरोन फैलिनसक्ने देखिन्छ। त्यसकारण समयमै यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ।

प्रकाशित मिति: : 2021-04-13 20:16:00

प्रतिकृया दिनुहोस्