श्वासनलीमा खाना अड्किएर इन्फेक्सन: पैसा पनि सकियो, ज्यानको भर छैन

जुम्लाको हिमा गाउँपालिका-२ का कमल रोकाया कार्तिकसम्म खाइलाग्दै थिए।

भर्खर २३ वर्षका उनले खिचेका सेल्फी फोटो हेर्दा लक्काजवानको अनुभूति गराउँथ्यो। घर परिवारले आफ्नो भविष्यको सहारा उनलाई सम्झन्थे।

फोक्सोमा देखिएको समस्याका कारण उनी ओछ्यान परेका छन्। उपचारका लागि देश-विदेशका अस्पताल धाएका लम्बेतान फेहरिस्त छन् तैपनि उनको घरमा चैन फिरेको छैन।

पहिलो पटक बिरामी हुँदा मंसिर ९ देखि २३ गतेसम्म सुर्खेतको माया नर्सिङ होम, २३ गतेदेखि २९ गतेसम्म सुर्खेतकै प्रदेश अस्पताल भर्ना भए। उपचार सम्भव भएन। त्यसपछि उनलाई काठमाडौंको वीर अस्पताल लागियो। त्यहाँ १ महिना छ दिन बसे। १५ दिन त आइसियूमै भर्ना गरेर राखियो। रोग २० को १९ भएन। 

यत्तिकैमा महिना दिन अरु बिते। माघ ७ गते भरतपुर क्यान्सर अस्पताल चितवनमा लगियो। त्यहाँ पनि भएन। राति २ बजे लखनउको प्राइभेट हस्पिटल एण्ड ट्रमा सेन्टर लगियो। त्यहाँ ११ दिन आईसीयूमा राखियो।

कमलका कुरुवा अंगद रोकायाले सुनाए, 'सास छउञ्जेल आश हुन्छ। लखनउबाट फेरि काठमाडौं लगियो र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर आईसीयूमा राखिएको छ।'

अहिले मनमोहन कार्डियोथेरासिकको बेड नम्बर ४१० मा कमलको शरीर लतारिएको छ। पातलो छाला हाडमा लेमिनेस गरेजस्तो छ- सिंगो शरीर। छातीको दाँयातिर ओडारजस्तो प्वाल छ र पनि कमलको सास मन्द चलिरहेको छ। आफन्त आश मानेर कुरी बसेका छन्। फोक्सोमा देखिएको समस्या कम भएको छैन।



माओवादी क्रान्ति : ‘कसरी मार्ने’ सिकायो, ‘कसरी बाँच्ने’ सिकाएन



कमाउने आशमा भारत गएका कमल स्वास्थ्यमा समस्या देखिएपछि गत मंसिरमा घर फर्किएका थिए। काम गर्ने क्रममा २०७७ मंसिरमा उत्तराखण्डाको परेकमा बिरामी भएपछि नेपाल फर्किएका थिए।

सुर्खेतको माया निर्सिङ होमबाट सुरु भएको उपचार यात्रा भारत हुँदै काठमाडौंसम्म पुग्यो तर पनि निको भएको छैन। आफन्तले उपचारमा कुनै कसुर बाँकी राखेका छैनन्।

'तीन महिनादेखि आइसियुमा राखेर उपचार भइराखेको छ', कमलका भाइ भैरवले भने, 'जता लिए पनि, जस्तो उपचार गरे पनि निको हुँदैन। आफूसँग भएका पैसा र ऋण दानले अहिलेसम्म चल्यो। अब औषधि किन्ने पैसासमेत छैन।' कमलको उपचारको लागि १९ लाखभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ। त्यो सबै ऋण-सापटी गरेर जुटाएको गरेको पैसा हो।

'म तीन महिनादेखि आईसीयूमा गम्भीर बिरामी भएका दाजुको उपचारमा कुररुवा बसिरहेको छु,' भैरवले भने, 'अस्पतालले सहयोग गरे पनि महंङ्गो औषधि किन्नुपर्ने अवस्था छ। आर्थिक अभावले औषधि किन्न सकिएको छैन। यो अवस्थासम्म त जेनतेन धानियो अब आर्थिक अवस्थाले धान्ला जस्तो छैन।'

आर्थिक अभाव भएपछि उनले हारको मानसिकतामा भने, 'यत्रो धेरै खर्च गर्दा पनि औषधि किन्ने रकम नहुँदा दाजुको उपचार हुन सकेन भने म के गरौँ?'

भैरव रोकाया बताउँछन्- खर्च भएको १९ लाख रुपैयाँमा १८ लाख ऋण हो। जग्गा धितो राखेर ६ लाख रुपैयाँ बैंकबाट निकालिएको थियो। अन्य ऋण गरेर उपचार गरियो तर उक्त रकम सकिएपछि अहिले ठूलो समस्या भएको छ। औषधि किन्न नसकिएको भन्दै हार गुहार गरिरहेको । हिमा गाउँपालिकाले ५० हजार रकम सहयोग गरेको छ।



ओखर बेचेरै उपसचिवले भन्दा धेरै कमाउने 'खत्री', बोल्न पनि छैन फुर्सद (भिडियाेसहित)



जुम्लाको अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्रले १५ हजार, जुम्ली सेवा समाजले १० हजार रुपैयाँ र इन्द्रेणी कार्यक्रमबाट ४० हजार रुपैयाँ प्राप्त भएको छ। भैरवले भने, 'ऋण सापट गर्दा पनि नपुगेकोले औषधि किन्नकै लागि भए पनि हारगुहार गरिरहेको छु।'

बिरामीको औषधि किन्ने रुपैयाँ नहुँदा अस्पतालले कुरुवाको खानाको जिम्मेवारी अस्पतालले लिएको छ। टिचिङ अस्पताल आईसीयू इञ्चार्ज उमा खनालका अनुसार, कमलले खाना खाने क्रममा श्वासनलीमा खाना अड्किएका कारण इन्फेक्सन भएर प्वाल परेपछि गम्भीर रुपमा बिरामी परेका हुन्। अस्पतालले तीन महिनादेखि आईसीयूमा राखेर हरप्रयास गरेर उपचार गरिरहेको छ।

'उपचारमा कुनै कन्ज्जुस्याइँ छैन तर आर्थिक अभावका कारण समस्या भइरहेको छ,' उनले भनिन्, 'बिरामीको तौल २८ केजी मात्र छ।  डा. अञ्जन सापकोटासहितका डाक्टर उपचार गरिरहनुभएको छ।'

आर्थिक अवस्था कमजोर र ऋण गरेको पैसा सकिएपछि बिरामीसहित कुरुवाको खानासमेत खुवाउने जिम्मा अस्पतालले लिएको आईसीयू इञ्चार्ज खनालले थपिन्।

कमलको जीवन बचाउन औषधि धेरै आवश्यक रहेकाले आर्थिक सहयोगको आवश्यकता रहेको छ। कमल बाँच्छन्। त्यसका लागि औषधि महत्त्वपूर्ण छ। उनको जीवन रक्षाको लागि यतिबेला धेरै सहयोगी मनहरुबाट आर्थिक सहयोगको खाँचो परेको छ।

प्रकाशित मिति: : 2021-04-13 14:34:00

प्रतिकृया दिनुहोस्