एमालेले बनायो १९ सदस्यीय स्थायी कमिटी, 'नेपाल समूह' बिदा, महिला शून्य

नेकपा एमालेको बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकले सो पार्टीको स्थायी कमिटी गठन गरेको छ।

उक्त स्थायी कमिटीमा एमालेका नामबाट समानान्तर गतिविधि गरिरहेका झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका कसैलाई पनि राखिएको छैन। पूर्व उपाध्यक्ष वामदेव गौतमलाई भने राखिएको छ। 

स्थायी कमिटीमा एमाले–माओवादी एकीकरणपछि बनेको विघटित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका हाल केपी शर्मा ओली नेतृत्वको एमालेमा रहेका सबै स्थायी कमिटी सदस्य छन्। 

एमाले स्थायी कमिटीबाट झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गाेकर्ण बिष्ट, योगेश भट्टराई र अमृत बोहोरा हटाइएका छन्। उनीहरु माधव नेपाल  नेतृत्वको 'समानान्तर एमाले' मा सक्रिय छन्।

यही वैशाख ६ गतेको बैठकको निर्णयका आधारमा एमालेले कर्णाली प्रदेशसभामा पार्टीको औपचारिक ह्वीप उल्लङ्घन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गर्ने प्रदेशसभाका प्रकाश ज्वालासहित चार सदस्य र यसअघि निलम्बनमा परेका नेता झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत ३२ जनालाई दुई दिनभित्र जवाफ माग्ने गरी स्पष्टीकरण सोधेको थियो।

पहिलो बैठकमा अध्यक्ष ओलीको राजनीतिक र महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन छलफलपछि पारित भइसकेको छ। एमालेले आगामी मङ्सिरमा दशौँ महाधिवेशन आयोजना गर्ने तय गरेको छ।

एमाले स्थायी कमिटीका १९ सदस्य :

१) केपी शर्मा ओली

२) वामदेव गौतम

३) ईश्वर पोखरेल

४) रामबहादुर थापा 'बादल'

५) विष्णु पौडेल

६) सुवासचन्द्र नेम्वाङ

७) शङ्कर पोखरेल

८) प्रदीप ज्ञवली

९) लेखराज भट्ट

१०) टोपबहादुर रायमाझी

११) सत्यनारायण मण्डल

१२) विष्णु रिमाल

१३) छविलाल विश्वकर्मा

१४) पृथ्वी सुब्बा गुरुङ

१५) रघुवीर महासेठ

१६) किरण गुरुङ

१७) केशव बडाल

१८) पुष्पराज कँडेल 

१९) मणि थापा



प्रकाशित मिति: : 2021-04-23 13:38:00

प्रतिकृया दिनुहोस्