अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व विभागबाट निलम्बन गरिएका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई बयानका लागि बोलाएको छ।
अख्तियार प्रमुख आयुक्तमा राईले काम थालेपछि ठूलो भ्रष्टाचार प्रकरणको छानबिनले तिव्रता लिएको छ। यहि क्रममा शर्मालाई बयानका लागि बोलाइएको हो।
गैरकानूनी कर फछ्र्यौट प्रकरणमा मुछिएका शर्मालाई बुधबार सूचना प्रकाशित गरेरै बयानका लागि बोलाइएको हो। ७ दिनभित्र शर्मा अख्तियारमा बयानका लागि हाजिर हुनुपर्ने छ।
कर फछ्र्यौट आयोग, २०७१ बाट कर फछ्र्यौटका लागि सम्झौता भएका विभिन्न करदाताहरूसँग लाभ लिएर राज्यलाई ठूलो आर्थिक नोक्सानी गरेको अभियोग शर्मालाई लागेको छ। अभियोगमा उनीविरुद्ध परेको उजुरीमाथि थप अनुसन्धान आवश्यक भएकाले शर्मालाई बयानका निम्ति बोलाएको अख्तियारले जनाएको छ।
आयोगको टंगालस्थित कार्यालयको ११४ नम्बरमा सम्पर्क गर्न शर्मालाई भनिएको छ। शर्मा तोकिएको समयमा हाजिर नभए पक्राउ गरिने अख्तियारले जनाएको छ।