१५ महिनादेखि जारी इजरायल–हमास युद्ध अन्त्य र बन्धकहरू रिहा गर्ने सहमति भएको छ।
कतार र अमेरिकाको लामो समयको मध्यस्थता प्रयासपछि बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको बीबीसीले जनाएको छ।
करिब छ सातामा युद्धविराम प्रक्रिया सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा केही इजरेली बन्धकहरू छाडिने र त्यसको बदलामा इजरायलले प्यालेस्टिनी बन्दीहरू छाड्ने र केही क्षेत्रबाट इजरायली फौज फिर्ता हुने बीबीसीले जनाएको छ।
सम्झौताको पहिलो चरणमा रिहा हुन सक्ने हमासले जारी गरेको ३४ जना इजरायली बन्धकहरूको सूची टाइम्स अफ इजरायलले प्रकाशित गरेको छ।
रोयटर्सका अनुसार सूचीमा ५० देखि ८५ वर्षका १० जना महिला र ११ जना वृद्ध बन्धकहरूको नाम समावेस छ। साथै हमासले पहिले इजरायली हवाई हमलामा मारिएका बालबालिकाको नाम पनि समावेश गरेको छ। यद्यपि हमासले उनीहरू मारिएको प्रमाण पेश गरेको छैन।
त्यस्तै रिहा हुने सूचीमा नेपालका विपिन जोशीको नाम समावेस छैन। जोशी युद्धको सुरुवाती समयदेखि नै हमासको नियन्त्रणमा रहेको विश्वास गरिएको छ। यद्यपि उनको अवस्था अझै अज्ञात छ।
बीबीसी भेरिफाइको अध्ययनअनुसार हमाससँग अझै ९४ जना बन्धकहरू छन्। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको अनुमान छ। हमासले जारी गरेको सूचीमा कति जीवित र कति मृतक छन् भन्ने खुलाइएको छैन।
सम्झौताको खबर बाहिरिएसँगै गाजाभर हर्षोल्लास छाएको छ। मानिसहरू प्यालेस्टिनी झण्डा बोकेर नाराबाजी गर्दै खुसी साटिरहेको दृश्यहरू सार्वजनिक भएका छन्। इजरेली बन्धकहरूका परिवारहरूले पनि राहत महसुस गरेका छन्।
यद्यपि सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुने नहुनेमा उनीहरू चिन्तितसमेत देखिन्छ।
हमासले सार्वजनिक गरेकाे सूची