सांसद रावल बस्ने घरमा ढुङ्गा हानेको अभियोगमा एक युवक पक्राउ 

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

नेकपा एमालेका सांसद झपट रावल बसेको घरमा राति ढुङ्गा हानेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले रामेछाप घर भएका २२ वर्षीय मनोज तामाङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका युवकले आफूले सांसद रावललाई नचिन्ने र घरबेटीको रिसले ढुङ्गा हानेको बताएका छन्।

'उनीहरूले सांसद ज्यूलाई लक्षित गरेर हानेको देखिदैंन। जुन घरमा बस्नुहुन्छ त्यहाँको घरबेटीसँगको रिसले हानेको देखियो,' महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले भने।

सांसद रावलले राज्य व्यवस्था समितिको बैठकमा आफ्नो घरमा ढुङ्गा हानेको जानकारी गराएका थिए। त्यसो त उनले राति नै प्रहरीलाई खबर गरेको समेत बताए।

प्रहरीले नियन्त्रणमा लिएका युवकको मोटरसाइकल सांसद रावल बस्ने घरका घरबेटीले छेउमा राख्न नदिएको र हावा खोल्दिएपछि उनीहरूले ढुङ्गा हानेको एसएसपी खापुङ्ले बताए।

प्रकाशित मिति: : 2021-04-15 15:57:00

प्रतिकृया दिनुहोस्