मुन्धुम ट्रेल अवलोकनमा स्वीस राजदूत एलिजावेथ

नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आएकी छन्।

पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माणको काम शुरु गरिएको मुन्धुम ट्रेल अवलोकन गर्न स्वीस राजदूत एलिजावेथसहितको टोली खोटाङको साकेला गाउँपालिका आएको हो।

साकेला–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङलाई मुन्धुम ट्रेलको शुरु विन्दु (प्रवेशद्वार) मानिएकाले राजदूत एलिजावेथ खोटाङ आउनुभएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए।

“स्वीस राजदूतसँग समग्र विकास प्रक्रियाको अवस्थाका साथै विशेषगरी पर्यटन प्रवद्र्धनका विषयमा छलफल गरियो”, उनले भने, “छलफलका क्रममा निर्माणाधीन अवस्थामा रहेको मुन्धुम ट्रेलका लागि स्वीस सरकारका तर्फबाट आवश्यक सहयोग रहने बताउनुभएको छ।”

स्वीस राजदूत एलिजावेथलाई गाउँपालिका प्रमुख झङ्कार, उपप्रमुख सरिता खड्कालगायतले स्वागत गरेका थिए।

गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको भेटघाटका क्रममा राजदूत एलिजावेथसँग गाउँपालिकाको समग्र विकास प्रक्रियाका बारेमा समेत छलफल भएको गाउँपालिका प्रमुख भङ्कारले बताए।

मुन्धुम ट्रेलका लागि निर्माणाधीन पूर्वाधार विकासका गतिविधि अवलोकन गर्दै मङ्गलबार साकेला गाउँपालिका आइपुगेको राजदूत एलिजावेथको टोली तावाभञ्ज्याङबाट टेम्के हुँदै चखेवा भञ्ज्याङतर्फ गएको छ।

खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थल चखेवा भञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडालगायतको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो।

 साकेला गाउँपालिकाभित्र पर्ने खण्डमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको ३५ प्रतिशत गरी ९१ लाख ४५ हजार २५२ मा मुन्धुम ट्रेलको काम भइरहेको जनाइएको छ।

प्रकाशित मिति: : 2021-04-15 06:52:00

प्रतिकृया दिनुहोस्