कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण एक महिना भित्र सकिने

काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ अबको एक महिनामा सक्ने गरी अघि बढाइएको छ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दाहिनेतर्फ सबै संरचना हटाएर निर्माणको काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ। यही गतिमा काम हुँदा अबको एक महिनामा सम्पन्न गर्न सकिने डिभिजन प्रमुख कुवेर नेपालीले बताए। उनका अनुसार अर्को दिशामा भने एउटा घरका कारण निर्माणमा ढिलाइ भएको छ।

घरधनीले मुआब्जा रकममा उपभोग क्षेत्रका आधारमा माग गरेका छन्। त्यो घरबाहेक अन्यत्र काम गर्न समस्या नभएको उनले बताए। उनले भने, “त्यो घरको पनि सहमति भएपछि दुई महिनासम्ममा सकिनेछ।”

यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ। सडक कार्यालयले निर्माण शुरु गर्नुभन्दा पहिले सडकका दुवैतर्फको निर्माणस्थल खाली गरेको थियो।

देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको छ। यहाँ भने सडकका संरचना हटिसकेपछि ठेक्का सम्झौता गरिएको थियो। कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा देब्रे (उत्तरतर्फ) एक लेन र दाहिने (दक्षिणतर्फ) दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ। 

विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ । बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तार गर्न बाटो खुलेको हो।

प्रकाशित मिति: : 2021-04-12 08:03:00

प्रतिकृया दिनुहोस्