रिपोटर्स क्लब नेपालको २३औँ वाषिकोत्सवका अवसरमा दर्जन बढी क्रियाशील पत्रकार सम्मानित भएका छन्।
राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरे।
सो अवसरमा एक लाख रुपैयाँ राशिको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरियो। यस्तै रु ५० हजार राशिको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरियो।
‘तारणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुररुस्कार’ संयुक्त रुपमा रेडियो नेपालका पत्रकार डा नवराज लम्साल र नेपाल टेलिभिजनका पत्रकार शालिक सुवेदीलाई प्रदान गरियो। सो पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ।
त्यस्तै २५ हजार राशिको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट ताजा खबर साप्ताहिकका सम्पादक इश्वरीप्रसाद वाग्ले, ‘सहिद जगतप्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका पत्रकार बालकृष्ण अधिकारी, ‘उमासिंह स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका पत्रकार विनु सुवेदी, ‘बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार’बाट रिपोटर्स नेपालका फोटो पत्रकार मुकुन्द कालिकोटे सम्मानति भए। ती पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ।
यस्तै २० हजार राशिको ‘वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार’ एविसी टेलिभिजनका पत्रकार अनन्त अनुरागलाई प्रदान गरियो। ‘सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार’बाट राससका उपसम्पादक एवम् अनलाइन टेलिभिजन पत्रकार संघका अध्यक्ष जीवन भण्डारी सम्मानित भए।
त्यस्तै ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकारबाट डिसी नेपालका सहसम्पादक मदन कोइराला, दामन पोस्ट साप्ताहिकका सम्पादक शान्तराम बिडाँरी, योहो टेलिभिजनका वरिष्ठ कार्यक्रम प्रस्तोता रोहन श्रेष्ठ, प्राइम टाइम टेलिभिजनका सहसम्पादक दीपक अर्याल, नेपाल पुकार टेलिभिजनका सम्पादक प्रकाशचन्द्र दाहाल, न्यूज एजेन्सी नेपालका क्यामरा पर्सन देवानन्द शिल्पकार, सरोकार टेलिभिजनका क्यामेराम्यान दुर्लभ थापा, डेमोक्रेसी साप्ताहिकका सम्पादक गणेश खड्कालगायत सम्मानित भएका थिए। ती पुरस्कारको राशि जनही रु २० हजार रहेको छ। रासस