बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए ‘म्याच’ भएको छ।
प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको जनाइएको छ।
दिनेशलाई पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा राखिएको छ। यसअघि दिनेशले सुधारगृहमै रहेका बेला आफ्ना बुबालाई आफूले बलात्कार र हत्या नगरेको जनाएका थिए।
उनले गाउँपालिकाकै एक कर्मचारीको नामसमेत किटान गरी तिनले आफूलाई धम्क्याएर अपराध स्वीकार्न लगाएको बताएका थिए। भागरथीसँग दिनेशको डिएन म्याच भएपछि दिनेश नै उक्त घटनामा संलग्न रहेको प्रमाण बलियो भएको थियो।
दिनेशले पुर्पक्षका लागि सुधारगृह नपठाउँदासम्म आफूले नै बलात्कार हत्या गरेको बयान दिएका थिए।
यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो। गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा भोलिपल्ट स्थानीय लवलेक जङ्गलमा वीभत्स र निर्वस्त्र रुपमा शव फेला परेको थियो।
त्यसपछि प्रहरीले फागुन ५ गते दिनेशलाई सार्वजनिक गरेको थियो। पछि प्रहरीले दिनेशलाई २० दिन हिरासतमा राखेर थप अनुसन्धान गरेको थियो।
जिल्ला अदालतले फागुन २५ गते दिनेशलाई पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको थियो। सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश र कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन्। नाताले दुवै दिदीभाइ पर्छन्।रासस