अमेरिकामा बितेका सात दिनमा मास सुटिङका सातवटा नै घटना भएका छन्। त्यसकै पछिल्लो श्रृंखलाका रूपमा सोमबार कोलोराडोको बोल्डरमा भएको घटनामा एक प्रहरी अधिकृतसहित १० जना मारिएका छन्।
घटना घटाउने बन्दुकधारी २१ वर्षीय अहमद अल अलिवी अलिसा भएको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरेर हत्याका १० वटा अभियोग लगाइ बोल्डर काउन्टी जेलमा पठाइएको छ।
अलिसा सिरियाली मुलका अमेरिकी भएको जनाइएको छ। सन् १९९९ मा जन्मिकएका उनी सन् २००२ मा अमेरिका आएका थिए। उनी मार्सल आर्टसका खेलाडी भएको बताइएको छ।
यसैबीच प्रहरीले घटनामा मारिनेको परिचय सार्वजनिक गरिएको छ। मारिनेमा ग्रोसरी किनमेल र कोभिड-१९ को खोप लगाउन गएका २० वर्षदेखि ६५ वर्षका सामान्य मानिस भएको बताइएको छ।
केही समययता अमेरिकामा जातीय घृणाका घटनामा वृद्धि भैरहेको छ। घटना सामान्य आक्रमणदेखि मास सुटिङसम्म भएका छन् । गत मंगलबार जर्जियाको एटलान्टामा एसियाली मुलका मानिसले सञ्चालन गरेका तीन मसाज र स्पामा भएको मास सुटिङमा ६ दक्षिण कोरियाली महिलासहित ८ जना मारिएका थिए।
बोल्डरको घटना भने फरक खालको छ । घटना एक मुस्लिम युवाले घटाएकाले यो धार्मिक घृणाको कोणबाट पनि घटाइएको हुनसक्छ। प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। अहिलेसम्मको अनुसन्धानले आक्रमणकारी एकजना मात्र रहेको पनि प्रहरीले जनाएको छ।
कोलोराडोको बोल्डरमा नेपालीहरूको पनि उल्लेख्य बसोबास छ। तर, प्रहरीले सार्वजनिक गरेको सूचीमा कोही पनि नेपाली परेका छैनन्। नेपाली समुदायका लागि यो एक सुखद समाचार हो।
अमेरिकामा सात दिनमा सात मास सुटिङ, कोलोराडोको बोल्डरमा मुस्लिम युवाद्वारा १० मारिए