एमालेको ओली र नेपाल समूहका ११ नेताबीच धुम्बाराहीमा छलफल

नेकपा एमालेमा भएको विवाद समाधान गर्न पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा दुई पक्षका नेताहरूबीच छलफल सुरु भएकाे छ। बिहान साढे ११ बजे सुरु भएको वार्तामा दुवै पक्षका गरी ११ जना नेता सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरी संवादका लागि बाेलाएका  थिए । प्रधानमन्त्री ओलीका एक सल्लाहकारले भने, 'प्रधानमन्त्रीले हिजाे नेता नेपाललाई फोन गर्नुभयाे र कता बराल्लिइरहनुभएकाे । आउनुस्, छलफल गरौँ भन्नुभयो । सोही बमाेजिम छलफल भएकाे हाे ।'

सर्वोच्च अदालतले फागुन २३ गते फैसला गरेर साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलो पटक एमालेका दुई पक्षाबीच छलफल हुन लागेको हो।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपा दुई समूहमा विभाजन भएको थियो। एकतर्फ ओली थिए भने अर्को तर्फ प्रचण्ड–नेपाल रहेका थिए।

एमाले ब्युँतिएपछि उक्त पार्टीभित्र पनि ओली र नेपाल गरी दुई समूह भएका थिए। 

छलफलमा ओलीसहित उनी पक्षधर महासचिव ईश्वर पोखरेलसहित संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु  विष्णु पौडेल, प्रदीप  ज्ञवाली सहभागी छन्।

नेपाल पक्षबाट वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी छन् ।

प्रकाशित मिति: : 2021-03-15 12:00:00

प्रतिकृया दिनुहोस्