बौद्धस्थित रामहिटीमा एउटा सानो पसल छ, जहाँ माटोले बनाएका मूर्ति झुण्डिएका छन्। जसलाई काभ्रेका कनक पाख्रिनले बनाएका हुन्। उनी एकाबिहान मूर्ति रंगाउन व्यस्त रहन्छन्।
उमेरले ४० काटिसके। कालो माटोलाई भगवानको स्वरूप दिन थालेको नै दुई दशक बितिसक्यो। तर अझै दु:खको दिन सकिएको छैन।
उनी आफ्नो हातले र सिकेको सीपले माटोलाई भगवान बनाउन सक्छन्। उनले बनाएको भगवानलाई मानिसहरुले पैसा चढाउने गर्छन्। तर, उनको जीवनमा भने यसले खासै फरक ल्याएको छैन। त्यही पनि उनी खुसी छन्।
गीतामा एउटा दिब्योउपदेश छ– ‘कर्म गर्नु। फलको आश नगर्नु।’
यही मूलमन्त्रमा उनको जीवनको रथ दौडिएको छ। उनलाई आफूले बनाएको मूर्ति बेच्न कहिले काहीँ हप्ता दिन मात्र होइन, महिना पनि कुर्नुपर्छ। तर पनि उनी दंग छन्।
उनलाई आफ्नो कलाप्रति ठूलो लगाव छ। भन्छन्, ‘बिक्रि भए पनि नभए पनि मतलब छैन तर मेरो कलालाई निरन्तरता दिइरहने छु।’
उनले बनाएका ठूला मूर्तिको मूल्य २५ हजार पर्ने गर्छ। सानो आकारको मूर्ति भने ५ हजारमा बेच्दै आएका छन्। उनी क्षमता भएर मात्र नपुग्ने त्यसलाई प्रस्फुटित गर्न परिवारको आर्थिक सहयोग पनि आवश्यक रहेको उनको बुझाई छ।
‘मेरो परिवारको आर्थिक अवस्था राम्रो थियो भने कहाँ पुगिसक्थे होला। तर के गर्नु सपना देख्ने मात्र त हो नि’ उनी भन्छन्, ‘आर्थिक अवस्था कमजोर भएपछि जस्तोसुकै राम्रो कला भए पनि के गर्नु?’
आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मिएका कनकलाई गरिब भएकोमा ठूलो गुनासो छ। २०३७ सालमा काभ्रेमा जन्मिएका उनी ६ सन्तानमध्येका कान्छो हुन्। उनका आमाबुवा खेती किसानीमा लागेका थिए। त्यसैले घरको अवस्था कमजोर थियो।
परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उनले ८ कक्षामा स्कुलको पढाई हाप्नु पर्यो। उनलाई पढ्ने मन नभएको होइन तर पढाइलाई विश्राम दिनु उनको बाध्यता थियो।
जीवनमा केहि गरेर देखाउनु पर्छ भन्ने सोच बुनेका उनी चित्र कोर्न भने सानैदेखि सिपालु थिए। यसैले कालान्तरमा उनको घरपरिवार पाल्ने बाटो बन्यो।
चित्रकला हुँदै वास्तुकलामा प्रवेश गरेका कनकले अनगिन्ति पुरस्कार पनि जितेका छन्।
उनी २०५१ सालमा १४ वर्ष हुँदा काठमाडौं प्रवेश गरेका थिए। यतिबेला उनका लागि काठमाडौं नितान्त अपरिचित थियो। किनभने यहाँ उनको न आफन्त बसोबास गर्थे, न चिनजानका नै कोही थिए। काठमाडौंमा सुरुका दिन गुजारा चलाउन उनले अर्कोको घरमा काम गरे।
एकदिन मंगलबजार घुम्ने क्रममा उनले स्थानीय नेवारहरुले कालो माटोले मूर्ति बनाइरहेको देखे। यसले उनको मथिङ्गल हल्लियो।
तत्कालै नेवारहरुसँग काम सिक्ने जिकिर गरे। यसमा कसैलाई आपत्ति भएन। विगत कोट्याउँदै उनले भने, ‘म उहाँहरुसँगै बसेर मूर्ति बनाउन सिक्न थाले। मलाई माटोबाट बन्ने सबै आकृति सिकाउनुभयो।’
माटोसँग खेल्न जानेपछि उनको जीवनले नयाँ मोड लियो। ललितपुर शिक्षा कार्यालयबाट आयोजना गरेको हस्तकला प्रतियोगितामा उनी सम्मानित भए।
‘माटोको घोडा बनाएर दोस्रो भएको थिए। त्यसबेला प्रमाणपत्र र सय रुपैयाँले सम्मानित भएको थिए’, उनले भने। यसले उनको उत्साह थपियो। आफै मूर्ति बनाउन र बेच्न थाले।
२०५९ सालमा उनको विवाह गाउँकै कुसुम योञ्जनसँग भयो। हाल दुवै रोजगारीमा छन्। यसले घर चलाउन केही सहज भएको छ। ‘श्रीमती पनि जागिरे छिन्। उनी लामाको कपडा छाप्ने काम गर्छिन्।’
यो जोडीबाट जन्मिएको छोराछोरी भने क्रमश: कक्षा ११ र ८ मा पढ्दैछन्।
कलामार्फत राज्यलाई चिनाउने सपना बुनेका कनक सरकारले कलाकारलाई महत्व नदिएकोमा केही निरास छन्। भन्छन्, ‘यहाँको राजनीति नै राम्रो छैन। गरिब दु:खीले कहिँ स्थान पाउँदैन। मैलै कहिले पाउँछु र?’
आफ्नो कलाकारिता फस्टिए बेरोजगार युवाहरुलाई पनि रोजगारी दिने उनको उद्धेश्य छ। ‘नेपालका कोहिँ युवा बेरोजगार नबनोस्। यही मेरो कामना छ,’ उनले भने।