कोरोना भाइरस (कोभिड–१९) कारणले विदेशमा यो साता मात्र थप २ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो साता निधन भएका दुवै जना बेलायतमा बस्दै आएका नेपाली हुन्।
शनिबार साँझसम्म ३ सय ४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ। हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना संक्रमणले निधन भएका हो।
हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपालीहरु संक्रमित भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र यूएईमा ५० जना नेपालीको ज्यान गएको छ।
शनिबार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९ सय ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार ६ सय २८ जना कोरोना संक्रमण मुक्त भएका छन्।
संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा ३ हजार १० जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७४ हजार ६ सय ८ जना भने २ लाख ७० हजार ७ सय ७७ जना अर्थात ९८ दशमलव ६ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।