जनतान्त्रिकको नाममा कांग्रेसका मेयरले ७ लाख फिरौती उठाएको रहस्योद्घाटन

तस्वीर : योगेन्द्र पजियारको फेसबुकबाट
तस्वीर : योगेन्द्र पजियारको फेसबुकबाट

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार उर्फ जोगीले जनतान्त्रिक तराई मुक्ति मोर्चाको नाममा ७ लाख रुपैयाँ असुली गरेको रहस्योद्घाटन भएको छ।

नेपाली कांग्रेसबाट मेयर बनेका पजियारले जनतान्त्रिकले अपहरण गरि बन्धक बनाएको ब्यक्तिलाई अपहरणमुक्त गराइदिने नाममा ७ लाख फिरौती लिएको खुलेको हो।

एघार वर्षअघि २०६६ सालमा जनतान्त्रिकले महेन्द्रनगरका स्थायीबासी तथा नेपाल सरकारका कर्मचारी वनरक्षक (रेन्जर) तुरुन्तलाल पुर्वेलाई अपहरण गरेको थियो।



चुडामणि शर्मादेखि उमेश ढकालसम्मको फाइल पुनःअनुसन्धान

निगमका कार्यकारी निर्देशकविरूद्ध अख्तियारमा दुई उजुरी दर्ता 



अपहरित पुर्वेलाई अपहरणमुक्त गराइदिने नाममा त्यतिबेला नेपाली कांग्रेस धनुषाको साबिक क्षेत्र नं. ५ को सभापति रहेका पजियारले पुर्वेकी श्रीमती निलमसँग ७ लाख रुपैयाँ लिएका थिए। उनले रेन्जर पति तुरुन्तलाललाई अपहरणमुक्त गराइदिने नाममा निलमसँग फिरौती रकम बुझेका थिए। 

पजियार २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयर निर्वाचित भएका हुन्।  
रेन्जर तुरुन्तलालका परिवारले बिएल नेपाली सेवालाई दिएको जानकारी अनुसार पजियारले फिरौती रकम बुझेर उल्टै परिवारलाई गुमराहमा राखेका थिए। 

मेयर पजियारले फिरौती रकम जनतान्त्रिकलाई नबुझाएपछि रेन्जर तुरुन्तलाललाई जनतान्त्रिकले छोड्न मानेको थिएन। उनी अहिले पनि बेपत्ता छन्। 

‘मेरो श्रीमान अझै जिवित हुनुहुन्छ,’ रेन्जर तुरुन्तलाल कि श्रीमती निलम पुर्वेले बिएल नेपाली सेवाको जिज्ञासामा भनिन्। उनले मेयर योगेन्द्र पजियारले श्रीमानलाई अपहरणमुक्त गराइदिने सर्तमा आफूबाट ७ लाख रुपैयाँ लिएर गएको तर अहिलेसम्म श्रीमान फिर्ता नआएको पुष्टी गरिन्। 
‘मसँग श्रीमानलाई अपहरणमुक्त गराइदिन्छु भनेर ७ लाख बुझ्नु भएको हो। तर, पैसा पनि फर्किएन। मान्छे पनि अहिलेसम्म फर्किएको छैन,’ उनले भनिन्।



प्रचण्डलाई ८ करोड बुझाएर कार्यकारी निर्देशक बनेका थिए पौडेल

डिपो प्रमुखसँग मासिक ५ लाख रुपैयाँसम्म असुल्छन् पौडेल



निलम पुर्वेसँग आफूले ७ लाख बुझेको मेयर पजियारले पनि स्विकार गरे। उनले रेन्जर तुरुन्तलाल पुर्वेलाई अपहरणमुक्त गर्न आफूले परिवारबाट ७ लाख बुझेको बताए। 

‘म ज्यानको बाजी लगाएर आधा रातमा अपहरणकारीलाई पैसा बुझाउन गएको हो। अपहरणकारीले ढल्केबर नजिकै रहेको औरही खोलामा आफ्नो लोकेशन दिएका थिए। म र मेरो एक साथी पैसा बुझाउन गएका थियौं। ७ लाख रुपैयाँको झोला राखिदिएर हामी फर्कियौं,’ मेयर पजियारले बिएल नेपाली सेवासँग भने। 

रेन्जर तुरुन्तलाल पुर्वेको अपहरणमा नातामा पर्ने केही व्यक्ति तथा मेयर योगेन्द्र पजियार संलग्न रहेको परिवार श्रोतले आरोप लगाएको छ।

अपहरणकारीले माग गरेको फिरौती रकम तोकेर पहिले मेयर पजियार पुर्वेको घर पुगेको परिवारको आरोप छ। तर, मेयर पजियार घर परिवारले नै सहयोगका लागि बोलाएको दावी गर्छन। 

उनले अपहरण तथा फिरौती मामिलामा पुलिस प्रशासनलाई आफूले जानकारी गराएको तर पुलिस प्रशासनले नै अपहरणमुक्त गर्न आफूलाई जिम्मेवारी दिएको दावी गरे।

‘मैले अपहरण र फिरौती रकमको विषयमा पुलिस प्रशासनलाई जानकारी गराएको थिए। उहाँहरूले नै मलाई जिम्मेवारी बहन गर्दै अपहरणमुक्त गराउन पहल गरिदिन अनुरोध गर्नुभएको थियो,’ मेयर पजियारले भने।

अपहरणमा परेका पुर्वेको श्रीमती, दुई छोरी तथा एक छोरा छन्। श्रीमती निलमले श्रीमान अझै बेखबर बनेपछि फिरौतीबापत दिएको रकम फिर्ता गर्न मेयर पजियारलाई ताकेता गर्दै आइरहेकी छिन्। घरमा कमाउने कोही नहुँदा पुर्वे परिवारको आर्थिक अवस्था निकै कमजोर भएको छ। 

श्रीमानको खोजी गरिदिन निलमले ईलाका प्रहरी कार्यालय, महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रशासन कार्यालय धनुषामा किटानी जाहेरी पनि दिएकी छिन्। तर, राजनीतिक संरक्षणका कारण उनको जाहेरीको विषयमा प्रशासन मौन छ।

निलमले भक्कानिदै बिएल नेपाली सेवासँग भनिन्, ‘११ वर्षदेखि म श्रीमान फर्किने आशामा बसेको छु। मेयर पजियार जनतान्त्रिकलाई पैसा बुझाइसकेको भनेर पन्छिने गर्छन। तर, त्यति पैसा दिएर मेरो श्रीमान किन फर्काउन सकेनन?’

२०६५ सालतिर तराईमा राजनीतिको नाममा भूमिगत गिरोहको ठूलो चलखेल बढेको थियो। त्यतिखेर राजनीतिक संरक्षणमा अपहरण, फिरौती तथा हत्याको शृंखला नै चलेको थियो।     
 
 

प्रकाशित मिति: : 2021-03-06 18:06:00

प्रतिकृया दिनुहोस्