ताजकिस्तानमा शुक्रबार राती नेपाली समयअनुसार १० बजेर ४६ मिनेटमा ६ दशमलव ३ स्केलको भूइँचालो गएको छ। भूइँचालोको कम्पन छिमेकी भारत, अफगानिस्तान र पकिस्तानमा पनि महसुस गरिएको थियो।
ताजकिस्तानलाई केन्द्रबिन्दु बनाएर गएको भूइँचालोका कारण कति मानवीय क्षति भयो, त्यसको जानकारी बाहिर आएको छैन। तर, भारतीय राजधानी दिल्लीमा मानिसहरू घर हल्लाउन थालेपछि बाहिर निस्किएका थिए।
भारतमा दिल्ली, पञ्जाब, राजस्थान, उत्तराखण्ड र जम्मु–काश्मिरमा भूइँचालोको झट्का अनुभव गरिएको थियो। अमेरिकाको भूगर्भ विभागले ताजकिस्तानको भूइँचालोको स्केल ५ दशमलव ९ रेक्टर मापन गरेको थियो। तर, पाकिस्तानी भूगर्भ विभागले ६ दशमलव ४ मापन गर्यो।
दिल्लीभन्दा इस्लामाबाद, लाहोर, खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा भूइँचालोको बढी अनुभव भएको थियो। जम्मु–काश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले शुक्रबार आएको भूइँचालोले सन् २००५ को सम्झना गराएको बताएका छन्।
उनले भूइँचालोको कारण घरबाट बाहिर निस्किन बाध्य बनाएको बताए। ‘म ओढ्ना ओढेरै भागे। जमिन हल्लिरहेको थियो। मैले आफ्नो मोबाइल उठान पनि बिर्सिए’, उनले भने।