हुम्लाको सिमकोटलाई सेतो पछ्यौरीले छोपेको छ। जता हेर्यो हिउँ नै हिउँ। पूर्वमा मारुधोर पश्चिममा दूधेदह उत्तर दक्षिणमा पञ्चमुखी हिमाल र सैपालले सिमकोटलाई धेरेर बसेका छन्।
सिमकोट सानो उपत्यका। बिहानको सूर्यकिरणसँगै हिमालहरु पूरै खुशी भएको जस्तै उज्यालिएको देख्न पाइन्छ। यही हिमालको बीचमा भएर होला यहाँ अलि चीसो नै छ।
हिउँ पर्दा जनजीवन कष्टकर त छ तर यहाँका बासिन्दाले हिउँ परेपछि हुने कष्टको पहिले नै बन्दोबस्त गरिसकेका हुन्छन्। हिउँले रुखका हाँगाहरु निहुँराएको, हाँगाबाट हिउँ खसेर हाँगा उम्कँदा सारै मज्जा आउँछ।
हिउँ पहिरो पनि यस्तै हाँगाबाट हिउँ झर्दा, हिउँका डल्ला लडेर जाँदा पहरो आउँछ तर सिमकोटमा त्यो संभावना त छैन। सिमकोट बजारको आडैमा रानीवन छ, त्यही गएर हेर्न मज्जा आउँछ।
अर्को कुरा रुखका हाँगामा रहेको हिउँलाई धाम लागेर बिलाउँदा थोपा–थोपा चुहिँदाचुहिँदै धाम अस्ताउँछ। अनि बरफ बनिहाल्छ। बिहान उठेर हेर्दा रुखमा रेसादार फल लागेको झैँ देखिन्छ। कति मन लोभ्याउन्छ।
हिउँमा चिप्लेटी खेल्ने साथीभाइहरु हिउँले हिर्काउने हिउँमा ढाल्ने गरेर निकै मज्जा लिने गर्दछन्। बजारनजिक रहेको तल्लो गाउँ र माथिल्लो गाउँमा बिहान खान बनाउँदा उडेको धुवाँमा सूर्यका किरण छिर्दा कति सुन्दर देखिन्छ !?
यो क्षण दृश्यानुरागीका लागि सुनौलो अवसरजस्तै हुन्छ। यति बेला स्थानीयको घरमा गएर सिमी र मकै अनि त्यसमा अलि बोसो, खसीखुट्टा हालेर मिसाएर पकाएको कोल र कोदाको रोटी खाँदै हिउँ फाल्दै रमारहेका छन्।
यो सुनौलो अवसर, हिउँ खेल्नेहरुका लागि एक गन्तव्य हो।