हाइकिङले जगायो आशा

बिएल संवाददाता

काठमाडाै‌ं

धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित थप्रेक, व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोटलगायतका क्षेत्रमा हाइकर्स क्लब नेपालले गरेको हाइकिङले यहाँको पर्यटकीय विकासमा आशा जगाएको छ।

हाइकिङका माध्यमबाट गण्डकी प्रदेशभित्रका पर्यटकीय गाउँको उजागर गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो १६ औँ शृङ्खला थप्रेकमा सम्पन्न गर्दै यहाँका प्रकृति र संस्कृतिका विविध पक्षको स्थलगत अध्ययन एवं अवलोकन गरेको क्लबका उपाध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए।    
धौलागिरि हिमालदेखि लमजुङ गोरखासम्मका हिमाल हुँदै पर्यटकीय नगरी पोखरा, तनहुँको सदरमुकाम दमौली आदिलाई एक साथ नियाल्न सकिने यी ठाउँ पर्यटकीयरूपमा उपयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको उनले बताए। 

हाइकर्स क्लबको समूहलाई स्वागत गर्दै शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले थप्रेक, गलाफु भञ्ज्याङ, गलेखामकोटलगायतका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन आवश्यक भएको बताए।

हाइकर्स क्लबको एक दिवसीय हाइकिङले आशा जगाएको उल्लेख गर्दै उनले  यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।  यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्न पूर्वाधार विकासलगायतका कामलाई आफूहरू निर्वाचित भएपछि प्राथमिकतामा राखेर अघि बढाइएको उनकाे भनाइ थियो।

धार्मिकरूपमा यहाँका विभिन्न स्थलको आफ्नै विशिष्टता भएको जानकारी दिँदै उहाँले धार्मिक आस्था र विश्वासका थप्रेक कोट, गलाफु शिवालय, गलेखामकोटका साथै लामो समय खडेरी परेमा पानी मागिने तीर्थस्थल माइको थान आदि र यहाँबाट देखिने हिमाली तथा पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने बताए।

थप्रेकमा रहेका ठूलाठूला गर्हा, पोखरी पनि यहाँको पहिचान भएको बताउँदै वडाध्यक्ष पौडेलले पर्यवरणीयरूपमा विशेष महत्व राख्ने पोखरीको संरक्षणलाई वडाले जोड दिएको बताए। काठेपिपल, सिलिङ्गे, पोखरी थोक, अर्चलेलगायतका स्थान दृश्यावलोकनका लागि आकर्षक गन्तव्य रहेको उनले जानकारी दिए। 
थप्रेक टोल विकास संस्थाका अध्यक्ष टलबहादुर गुरुङले पर्यटकीयरूपमा आकर्षक गन्तव्य भएर पनि यहाँको सम्भावनालाई पर्यटन बजारमा उपयोग गर्न नसकिएको धारणा राखे।  ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य नगेनसिंह ठकुरी, जुमबहादुर गुरुङलगायतले यस क्षेत्रका सम्भावनालाई उजागर गर्नसके पर्यटन यहाँको समृद्धिका लागि महत्वपूर्ण आधार बन्न सक्नेमा जोड दिए। रासस

प्रकाशित मिति: : 2021-02-08 09:09:00

प्रतिकृया दिनुहोस्