१६ वर्षे प्रकाश जसले माछा बेचेरै ५ परिवार पाल्छन् (भिडियो)

अछुत कोपिला  

काठमाडाै‌ं

अविरल बगिरहन्छ कर्णाली नदी। माथि छ– आकर्षक कर्णाली पुल। फोटो खिच्न र टिकटक बनाउनमा व्यस्त देखिन्छन्, एक हुल मानिस। त्यहाँ नून बेचेर सुनको सपना देख्नेहरु भेटिन्छन्। त्यो ठाउँ हो– कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी।

नेपालको सबैभन्दा लामो पुलमध्येको एक कर्णाली पुल भएकै कारण चिसापानी क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ।

यही फुटपाथमा माछा बेच्नेगरेको अवस्थामा भेटिए, लम्कीचुहा–३ का प्रकाश मगर। उनी १६ वर्षका छन्। कक्षा १० मा पढ्छन्। उनको स्कुल कालिका मावि हो जो लकडाउनदेखि अहिलेसम्म बन्द छ।

विद्यालय बन्द भएको अवसर पारेर दैनिक टोकरीमा माछा बोकेर दिनभरि कर्णाली पुल आसपास चाहर्छन्। माघ दोस्रो साता हामीसँग भेट हुँदा माछा बेच्नको लागि उनी चीसापानीको सडकमा ओहोरदोहोर गरिरहेका थिए। -माछा हजुर माछा, कर्णालीको स्वच्छ र ताजा माछा, एकदम सस्तोमा पाइन्छ’ भन्दै जहाँबाट गाडी आउँछ उतै दर्गुथे उनी। चिसापानी माछाका लागि प्रसिद्ध छ। यहाँ आएर माछा नखाएर फर्किने बिरलै मानिस हुन्छन्।

जहाँको माछाको व्यापार लोपलाग्दो छ। कर्णाली पुल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य रोजाइ र सबैचन्दा बढी खोजिने परिकार नै माछा हो। यहाँ खुला, फुटकर र  प्याकेजिङमा माछा बिक्री हुन्छ। प्रकाश आफूले शुलभमा पाइने र सजिलै बिक्ने माछा बेच्न थालेको पाँच वर्ष भएको बताउँछन्।

उनले कक्षा ५ मा पढ्दादेखि नै टोकरीमा माछा बेच्न थाले। भन्छन्, 'पाँच वर्षदेखि माछा बेच्दै आएको छु। पहिला केही थाहा थिएन। यहाँ रहरले आउँथे। अहिले मेरो जीविकोपार्जनको स्रोत बनेको छ।'

उनी पाँच वर्षदेखि पढाइ खर्चसमेत माछा बेचेरै व्यहोर्दै आएका छन्। आफ्नो लागि पढाइ खर्च जोहो गर्नुका साथै घरको लागि नुन तेलको लागि समेत आफैँले गरिरहेको उनको भनाइ छ। विद्यालय सञ्चालन भएको समयमा उनी एकाबिहानै आउँछन्। ९ बजेसम्म माछा बेच्छन्। त्यसपछि विद्यालय जान्छन्। दिउँसो १२ पछि फेरी आएर साँझ  अँध्यारो भएपछि मात्रै घर फर्किन्छन्।

जुन प्रकाशको विगत ५ वर्षदेखिको नियमित समय तालिकाजस्तै हो। घरमा छिमेकी साथीहरुसँग रमाउने उमेरमा प्रकाश फुटपाथमा व्यापार गरेको भेटिन्छिन्। विद्यालय जाँदासमेत टिफिनको समयमा विद्यालयका साथी मात्रै होइन, शिक्षकहरुलाई समेत माछा बेच्छन्। यसरी चलिरहेको छ, प्रकाशको बालापन।

उनको घरको आर्थिक अवस्था नाजुक छ, परिवारको मुख्य आम्दानीको स्रोत नै खेतीकिसानी गर्ने हो। उनको परिवारमा जम्मा ५ जना सदस्य छन्। उनका बाबा, आमा बुढा छन्। दाइ र भाउजू घरधन्दाका साथै ज्याला मजदुरी गर्दन्। आश्रित उमेर समूहका उनी अभिभावकहरुलाई नै आफ्नो परिश्रमको कमाइले घरको खर्च जोहो गर्छन्।

पढाइको लागि कापी, कलम, लुगा फाटो किन्न र नास्ता खर्च व्यवस्थापन आफैँ गर्छन्। ‘विद्यालय पनि जान्छु। यहाँ आएर माछा पनि बेच्छु। सबै यसैबाट चलिरहेको छ। लकडाउनको समयमा विद्यालय लागेको थिएन। त्यतिबेला भने दिनभर बेच्थे,’ बिएल सेवा सेवासँग कुराकानी गर्दै उनले भने। चिसापानीको बजार क्षेत्र पुग्न उनको घरबाट घण्टौ लाग्छ। उनका अनुसार लकडाउनको समयमा घरबाट आउने गाडी नचल्दा बिहान झिसमिसेमै घरबाट हिँडेरै आउँथे। करिब १० महिना जति पैदलै हिँडेर आएको उनले बताए।

लकडाउनको समयमा गाडी नचल्ने भएका कारण कमाइ राम्रो हुँदैनथ्यो तर उनी भने निरन्तर माछा बेच्न आइरहन्थे। कहिले त दिनमा १ सय रुपैयाँ पनि कमाइ हुँदैनथ्यो। सय रुपैयाँ भएपछि एक पोका तेल किन्न पुग्छ, कापी, कलमको जोहो हुन्छ भन्ने लागेर कहिल्यै पनि माछा बेच्न आउन नछुटाएको उनले बताए। जबकि उनका उमेरका सबै साथीहरु घरमै बेफुर्सद समय बिताइरहेका हुन्थे।


लकडाउन खुलेपछि भने गाडी चल्न थालेपछि मानिसको आवातजावत बढ्दै गएको छ। चिसापानीमा कर्णाली पुल घुम्न आउनेहरुको संख्या बढ्दो क्रममा छ। ह्वात्तै मानिसको  आवातजावत बढेपछि उनी निकै खुशी छन्। उनले भने, 'लकडाउनको समयमा त्यति राम्रो कमाइ थिएन। अहिले ठिकै छ। मानिसहरुको चहलपहल पनि बढेको छ।'

अहिले दैनिक कमाइ नै भएन भने पनि  सरदर ५ सय देखि ८ सय सम्म आम्दानी हुन्छ। बढी भएको दिन भने एक हजार रुपैयाँ भन्दा ज्यादा हुन्छ।

यहाँ २०–२५ जना युवाहरुको समुह फुटपाथमा माछा बेच्ने गरेको छ। उत्तिकै संख्या होटल तथा रेष्टुरेण्टमा पनि। प्रकाश यहाँका माछा बेच्नेहरुमध्ये सबैभन्दा कान्छा सदस्य हुन्। उनका अनुसार माछाहरु अछामको सोल्टा कुहिनेबाट खरीद् गरेर ल्याइन्छ। धेरै जना भएकोले नदीमा जाल हालेर ल्याइका माछा उनीहरुले विभिन्न परिकार तथा प्रकारले बेच्ने गर्दछन्।

त्यहाँ साविक कर्णालीका जिल्लामा रहेका साना नदी तथा रारा तालमा समेत पाइने असला जातको माछा पाइन्छ। मंग्र, सहर, क्लोज, गर्दी र असला जातको माछा बिक्री हुन्छ। त्यहाँ माछा सबैभन्दा बढी बर्दियाको बढैयाताल र अछामबाट ल्याइन्छ। प्रतिकेजी  ६ सय रुपैयाँमा माछा किन्न पाइन्छ भने  सुकाएको प्रति पिस २५ र भूडी फालेको प्रति पिस १० रुपैयाँमा बिक्री हुने गरेको छ।

 

 



असत्यसँग नझुकेकी सत्यवती (भिडियाे)

‘भारी बोकेपनि मागेर खान परेको छैन’ (भिडियाेसहित)

दुःख स्वीकारे, खुसी पाइयो (भिडियाेसहित)

सेवाग्राहीकी ‘आइकन’ आरती! (भिडियाेसहित)

कसरी हराउँछन् यति धेरै महिला–बालबालिका ?

बाघको जिल्लामा एक दिन

सपनालाई ‘पशुपति’हरु पानी–पँधेरो

प्रकाशित मिति: : 2021-02-05 09:25:00

प्रतिकृया दिनुहोस्