‘भारी बोकेपनि मागेर खान परेको छैन’ (भिडियाेसहित)

कर्णाली राजमार्गलाई  ‘मृत्युमार्ग’ भन्ने गरिन्छ। कारण हो, असुरक्षित, अव्यवस्थित र जोखिमपूर्ण सडक। सुर्खेत हुँदै दैलेख, कालिकोट र जुम्लासम्म २ सय ३२ किलोमिटर यात्रा गर्नुपर्छ। विशेषगरि कालिकोट खण्डमा यस्ता कुराको सामना गर्नुपर्छ। यहाँको भौगोलिक अवस्थितिका कारण कालिकोट सडकखण्ड जोखिमपूर्ण छ। यो राजमार्गलाई ‘मृत्युमार्ग’मात्रै होइन, एक प्रकारले  ‘समृद्धिमार्ग’ मान्न सकिन्छ। 

२०४८ मा निर्माण सुरु भएर २०६३ साल चैत्र ३१ गतेदेखि कर्णाली राजमार्ग सञ्चालनमा आएको थियो। ०६३ सालयता कर्णालीमा भइरहेको विकास र विनासको कारण हो यो राजमार्ग। राजमार्गसँग जोडिएको यहाँको अर्को लुकेको पाटो हो, रोजगारी। कर्णाली राजमार्ग खुलेपछि कर्णालीका मानिसका नुन, चामल ल्याउन पैदल हाट जाने दिनको अन्त्य भयो। रोजगारीका लागि कालापहाड जान नेपालगञ्जसम्म हिँड्नुपर्ने बाध्यता पनि हट्यो। 

पछिल्लो समय कर्णाली राजमार्गका सडकछेउ सानातिना बजार समेत फस्टाउन थालेका छन्। ती मध्ये दैलेखको डुंगेश्वर, राकम कर्णाली, कालिकोटका ताडी र नाग्म बजार उदाहरण हुन्। जितेगडा पनि एक प्रतिनिधि क्षेत्र हो। कालिकोट सदरमुकाम मान्मपछि सबैभन्दा बढि आर्थिक गतिविधि सञ्चालन हुने क्षेत्र पनि हो, जितेगडा। 

यहाँबाट पुलमार्फत कर्णाली तरेर कालिकोटका रास्कोट, पलाता हुँदै हुम्ला समेत पुग्ने गरिन्छ। यहि क्षेत्रमा अहिले नेपाली सेनाले सडक समेत खनिरहेको छ। जितेगडा कालिकोटका धेरै बेरोजगारका लागि रोजगारीको माध्यम पनि हो। कर्णाली नदिको छेउमा परम्परागत बस्ती छ। जहाँ कालिकोटका करिब १ सय ५० भन्दा बढी नागरिक पल्लीदारी (भारी बोकेर) जिविकोपार्जन गर्छन। नेपालगञ्ज र सुर्खेतबाट गाडीमा ल्याइएका सामान ओसारपोसार गर्ने उनीहरुको मुख्य काम हो। 

यहाँ दैनिक कालापहाडको झल्को दिनेगरि पल्लीदारी गरिरहेका भेटिन्छन्। बिएल नेपाली सेवाले सुरु गरेको भूइँमान्छे श्रृंखलाको १० औं भागमा जितेगडामा पल्लीदारी गर्ने कालिकोटका माण्ठहरुको कर्मबारे चर्चा गर्दैछौ।
‘भारी बोकेपनि मागेर खान परेको छैन,’ शेर बहादुर थापा नाम गरेका एक मण्ठाले भने–‘घर तिर्खु हो। भारी बोक्न थालेको दुई वर्ष भयो। पाँच जनाको परिवार छौं। दुई छोरा छन्, १ छोरी र श्रीमान–श्रीमती छौं।’

परिवारको जिविकोपार्जनको स्रोत यहि हो। घरमुली पनि उनी नै हुन्। छोराछोरी पढाउनेदेखि घर खर्च चलाउने सबै जिम्मेवारी उनकै हो। उनी बाह्रै महिना भारी बोक्ने काम गर्छन।  

दैनिक १ हजारदेखि १५ सयसम्म कमाईं छ। यसबाट सबै कुरा पुगेको छ। यहाँ मान्छे नपाएको बेला कहिलेकाहीँ अरु काम पनि गर्छन। ‘अधिकांश समय भारी बोक्ने काम गर्दै आएको छु। हाम्रो मुख्य काम भनेको सुर्खेत नेपालगञ्जबाट आएका सामान बोक्ने र गन्तव्यसम्म पुर्याइदिने हो। दुःख गर्न त बानी परिसक्यो। अब काम गरेपछि दुःख हुने भइहाल्यो,’ उनले भने,‘दुःख गरे अनुसार फल पाउँदा खुसी लागिहाल्छ नि। कमाईं नभएको दिन निराश पछि हुन्छु।’

पहिला उनी परिवार पाल्न कालापहाड गएका थिए। कर्णाली राजमार्ग खुलेपछि आफ्नै ठाउँमा काम गर्न सजिलो भएको छ। आफ्नौ ठाउँमा भारी बोके पनि अरुसँग मागेर खान परेको छैन। 
**

‘भारी बोक्न थालेपछि कालापहाड छुट्यो’ मान्म घर भएका प्रदिप विक भन्छन्। उनले जितेगडामा काम गर्न थालेको १३ वर्ष पुग्यो। यहिँबाट उनको परिवार चलिरहेको छ। उनलाई लाग्छ, जीवन नै अरुको भरमा चलिरहेको छ। 
‘गाडीमा आउने सामान बोक्ने काम गर्छौं। कतिले त आफै लिन्छन्। धेरै मानिसलाई यहाँ भारी बोक्छन् भन्ने थाहा छ। टाढा जानु पर्ने अवस्थामा दुःख भएपनि कमाई राम्रो हुन्छ,’ उनी भन्छन्,‘सानो सामान भएमा लालीघाँटसम्म बोकेरै जान्छौं। पलाँतासम्म पनि भारी बोकेर जान्छौं।’

कहिलेकाहीँ त उनलाई त्यहिँ बास बस्नुपर्छ। उनी पनि काम गर्न पहिला कालापहाड गएको थिए। 
‘पहिले दुईतीन पटक पनि गएको थिए। तर यहाँ भारी बोक्न थालेपछि भने जानु परेको छैन। खासगरी यहाँ भारी बोक्न थालेपछि कालापहाड जान छुटेको हो।’

यहाँ कालापहाडभन्दा धेरै राम्रो कमाईं छ उनको। ‘यहाँ राम्रो कमाईं हुन्छ। कालापहाडमा राम्रो कमाईं हुँदैन थियो। दुःख धेरै हुन्थ्यो। अर्काको ठाउँमा हरेक कुराको दुःख हुन्छ। यहाँ दुःख भएपनि परिवारसँग बस्न पाइएको छ,’ उनले भने,‘भारी बोक्नुमा नै मज्जा छ। भारी बोक्ने काम हो, महिनाभरी गर्न सकिदैन। महिनाको २५ दिनसम्म काम गर्छु। भारी बोकेर महिनाभरी सबै खर्च जोडेर ३० हजार जम्मा हुन्छ।’

** 

शेर बहादुर र प्रदिप प्रतिनिधि पात्र मात्र हुन्। त्यहाँ कुल १ सय ५० जना भन्दा बढिले पल्लीदारी गर्छन्। उनीहरुको मुख्य आम्दानीको स्रोत भनेकै गाडीमा यात्रा गर्ने यात्रु हुन्। यात्रुका सामान बोक्ने उनीहरुको काम हो। स्वदेश मै धेरै बेरोजगारको लागि रोजगारीको माध्यम बनेको जितेगडा कर्णाली राजमार्गसँगै जोडिएको छ।

त्यहाँबाट जिल्ला सदरमुकाम पुग्न साढे एक घण्टा लाग्छ। कात्तिक अन्तिम साता जितेगडामा नेपालगञ्जबाट पुगेको गाडी रोकिँदा चार–पाँच जना गाडी भएतिरै आए। सबैभन्दा अघि शेरबहादुर नै पुगेका थिए। शिरमा ढाका टोपी, भित्री शरिरमा भेस्ट, सर्ट र बाहिर महिलो कोट थियो। कात्तिक महिनाको चिसो मौसममा पनि तल्लो शरिरमा हाफ पाइन्ट र चप्पल लगाएका थिए।

उनको हातमा पल्ली (भारी बोक्दा प्रयोग हुने डोरी) थियो। त्यहाँ ओर्लिएका कालिकोटका यात्रुका सामान ओर्सान थाले। गाडीको हुट (छत) बाट ओराल्ने, भूईमा राख्ने र सडकछेउमा पुर्याइदिन्थे। त्यहाँको क्रियाकलाप हेर्दा त्यो स्वाभाविक थियो। जुन लामो समयदेखि चलिआएको छ। पछि सबै सामान ओरालीसकेपछि सामान गन्तव्यमा पुर्याउन बार्गेनिङ सुरु भयो। त्यहाँ अरु पनि थिए। ती दुईसहित थप अरुसाथीहरु समेत सामेल भएर गन्तव्यतिर लागे। गाडी गन्तव्यतिर लाग्यो। पल्लादारी गर्ने मान्ठ आफ्नो कर्मतिर लागे।

प्रकाशित मिति: : 2021-01-05 15:37:00

प्रतिकृया दिनुहोस्