म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारेमा निर्माण भएको बहुउद्देश्यीय सभाहलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ।
अस्वभाविक लागत बनाएर डिजाइन, ठेक्का प्रक्रियामा मिलेमतो र भवन निर्माणमा अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालयमार्फत छानविन शुरु गरेको हो।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आयोगको निर्देशनानुसार प्राविधिकसहितको टोली बनाएर छानविन शुरु गरेको जानकारी दिए। “छानविन टोलीले भवनको नापजाँचका साथै सम्बन्धित कागजातको अध्ययन शुरु गरेको छ”, उनले भने, “कागजातको अध्ययन र नापचाँजपछि तयार पार्ने प्रतिवेदन प्रशासनमा बुझाउँछ। त्यसलाई रायसहित थप अनुसन्धानका लागि अख्तियारमा पठाउँछौँ।”
टोलीमा प्राविधिक, प्रशासनिक र लेखासँग सम्बन्धित अधिकृतस्तरका कर्मचारी छन्। मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सभाहल निर्माणका लागि बागलुङको जयलक्ष्मी निर्माण सेवाले २०७६ फागुन १५ गते रु एक करोड चार लाखमा ठेक्का सम्झौता गरेको थियो।
विद्युतीय माध्यमबाट आह्वान गरिएको ठेक्का प्रक्रियामा दुई वटा फर्मले सहभागिता जनाएका थिए। विसं २०७८ जेठ १५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको भवन गत पुस महिनामै सकिएको छ। लक्ष्यभन्दा छिटो काम भएको सो सभाहलको डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रियाका विषयमा दरबाङका बासिन्दाले शङ्कास्पद भएको प्रश्न उठाउँदै आएका थिए।
अस्वभाविक लागत बनाएको, अनुकूलका ठेकेदारलाई काम लगाउन भवन डिभिजनका कर्मचारीले ठेक्का प्रक्रियामा मिलेमतो र चलखेल गरेको आरोप लागेको छ। एक सय ५० क्षमताको सो सभाहलको लम्बाइ ७७ फिट सात इञ्च र चौडाइ ४२ फिट तीन इञ्ज छ। एकतले सभाहल भवनमा पिल्लर बनाइएको छैन।
स्टेज, दुई वटा चेञ्जिङ रुम, तीन वटा शौचालय, पानी ट्याङ्की बनाइएको छ। टिनको छाना भएको भवनमा फलामका ट्रस राखिएको छ। एघार फिट अग्लो इँटाको पर्खाल लगाइएको भवनको भुई ढलान गरिएको छ भने ट्रसको उचाइ पाँच फिट छ। रघुगङ्गा गाउँपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा मौवाफाँटमा बनाउन लागेको सभाहलको डिजाइन भने मालिकाको भन्दा फरक छ। पिल्लर राखिने तीन तले भवनको भुई तलामा बन्ने सभाहलको ढलान, पहिलो तलामा कोठा पार्टेसन गरेर फिनिसिङ र तेसो तलामा पिलर उठाउन हिमालयन बिल्डर्स ललितपुरले भ्याटसहित रु ६७ लाख सात हजार ५२६ मा ठेक्का लिएको छ।
गाउँपालिकाकै प्राविधिकले डिजाइन तयार पारेको यो सभाहल भवनको लम्बाइ ४८ फिट र चौडाइ ३७ फिट रहेको छ। गाउँपालिकाले सञ्चालन गर्ने योजनाको डिजाइन र ठेक्का प्रक्रियामा भवन डिभिजनका कर्मचारीको संलग्नता र सक्रियतालाई शङ्काको रुपमा हेरिएको छ। गाउँपालिकाका लेखा अधिकृत फणीन्द्रप्रसाद आचार्यका अनुसार रु बीस लाख पेस्की लगेका निर्माण व्यवसायीले दोस्रो चरणमा थप रु तीस लाख भुक्तानी लगेका छन्। अन्तिम बिल भुक्तानी गर्न कर्मचारीले आनाकानी गरेको ठेकेदार कम्पनीका प्रतिनिधि बाबुराम सापकोटाले बताए।रासस