नेपाल ओडीआई देश हो, आशा छ त्यो हामी रिटेन गर्छौं: मुख्य प्रशिक्षक वाट्मोर

दीप सुवेदी

काठमाडाै‌ं

मुख्य प्रशिक्षक डेभ वाट्मोरले नेपालले वान–डे अन्तर्राष्ट्रियको मान्यता कायमै विश्वास व्यक्त गरेका छन्। 

रोयल सिंघी होटलमा चार दिन ‘सेल्फ आइसोलेसन’ मा बसेपछि बुधबार राति उनको कोभिड–१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

अर्को दिन उनी नेपालको प्रशिक्षक भएर प्रस्तुत भए । बिहीबार बिहानको पत्रकार सम्मेलन सहभागी हुँदै वाट्मोरले भने, ‘नेपाल ओडीआई देश हो, आशा छ त्यो हामी रिटेन गर्छौं।’

नेपालले जिम्बावेमा सम्पन्न सन् २०१८ को विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो २०२३ सम्मका लागि हो।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलसहित पत्रकारमाझ उपस्थित वाटमोरले नेपाल आउन पाउँदा खुसी लागेको बताए।

वाट्मोरले आफ्नो पहिलो उद्देश्य नेपाली क्रिकेटको स्तरोन्नति रहेको बताए। ‘आजदेखि मेरो कार्य सुरु भएको छ। अगाडि धेरै काम गर्नुछ। त्यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्नेछ। मेरो अनुभव नेपाली क्रिकेटको विकासमा लगाउनेछु,’ उनले भने।

पत्रकारहरुले के श्रीलंकालाई झैं नेपाललाई विश्वकपमा पुर्‍याउन सक्नुहुन्छ? भनेर साेधिएकाे प्रश्नमा उनले सपना नै नदेखे त्यहाँसम्म पुग्न नसकिने जवाफ दिए।

‘कुन दिन विश्वकप पुग्छौं भन्ने वाचा म गर्दिनँ। त्यहाँ पुग्न नेपालजस्तै धेरै देशले प्रयास गरिरहेका छन,’ उनले भने, ‘एसोसियट राष्ट्रका लागि त्यहाँ पुग्नु ठूलो चुनौती छ। तर सपना नदेखेसम्म, उच्च ठाउँमा पुग्ने उत्साह नबोकेसम्म हामी त्यहाँ पुग्दैनौं।’

वाट्मोरले नयाँ चुनौतीबारे आफू जानकार गरेको प्रतिक्रिया दिए। उनी आफूले सजिलो काम नरोजेको बताए।

‘कुनैपनि काम लिदा चुनौतीहरु प्रशस्तै आउँछन। यहाँ पनि थुप्रै चुनौतीहरु छन। यो सजिलो ठाउँ होइन,’ उनले भने, ‘मैले नेपाली क्रिकेट फलो गरिरहेको छु। मसँग भएको सबै अनुभव यहाँ प्रयोग गर्नेछु र अहिलेको भन्दा अर्को चरणमा प्रवेश गराउने प्रयास गर्नेछु।’

यता क्यानले क्यानका सचिव अशोकनाथ प्याकुर्‍यालले लिग–२ मा प्रदर्शन सुधार गर्नु वाट्मोरको पहिलो जिम्मेवारी रहेको बताए।

‘उहाँको पहिलो जिम्मेवारी लिग–२ मा नेपालको प्रदर्शन सुधार्नु नै हुनेछ,’ प्याकुर्‍यालले भने, ‘उहाँको कार्यकालमा उहाँसँग नेपाली क्रिकेटलाई माथि उठाउने अपेक्षा छ।’

यता उनलाई तीनवटा क्षेत्रमा रहेर काम गर्न दिइने प्याकुरेलले बताए।

उनले भने ‘हामीले विशेषगरी तीन वटा क्षेत्रमा रहेर काम गर्ने भनेका छौँ । एउटा विश्वकप लिग २ मा राम्रो नतिजा ल्याउने, दोस्रो ग्रासरुट क्रिकेट विकासमा काम गर्ने र तेस्रो महिला क्रिकेट र यू-१९ क्रिकेटलाई पनि कन्सलट्यान्सको रुपमा सहयोग गर्ने रहेको छ।’

नेपाल क्रिकेट संघले पुस पहिलो साता उनलाई नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो। संघले खुला प्रतिस्पर्धाबाट उनलाई चयन गरेको हो।

उनीसँग एक वर्षको अनुबन्ध गरिएको छ। अस्ट्रेलियाका लागि सात टेस्ट र एक वानडे खेलेका ह्वाटमोर खेलाडीभन्दा पनि प्रशिक्षकका रूपमा बढी चर्चित छन्।

तीन मुख्य चुनौती 

आइसिसी विश्वकप लिग-२ मा नेपालको प्रदर्शन उच्च पार्ने उनको पहिलो चुनौती हो।

उनकाे मुख्य ध्यान २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप हाे। टी–२० विश्वकपको नेपालले २०२२ फेब्रुअरीमा सिधै ग्लोबल छनोट खेल्दैछ। जसमा सहभागी हुने १६ टोलीमध्ये ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। सोही चार टोलीमा पर्नसके नेपाल २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउनेछ।

यता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले तय गरेको लिग-२ को नयाँ खेल तालिकाअनुसार नेपालले आगामी मार्चदेखि २०२३ को फेब्रुअरीसम्ममा ८ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ।

लिगका नौ वटा सिरिज मध्ये नेपालले गत वर्ष घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। 

लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्।

लिग–२ का उत्कृष्ट ३ टिम आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा छनोट हुनेछन्। पुछारका ४ टिम आइसिसी क्रिकेट विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा धकेलिनेछन्।

लिग-२ ले विश्वकप छनोट मात्र नभएर एकदिवसीय मान्यताको पनि टुंगो लगाउनेछ।

बल एन्ड ब्याट फाउन्डेसनले उनलाई सन् २०१७ मा कोचिङ क्लिनिकका लागि नेपाल ल्याएको थियो। दुई साताको क्लिनिकमा उनले नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई पनि प्रशिक्षण दिएका थिए । वाट्मोरले त्यही कारण आफूले नेपालमा प्रशिक्षक बन्न आवेदन दिएको जनाउँदै भने, ‘नेपाल क्रिकेट संघले मलाई जुन विश्वास देखाएको छ, त्यसअनुरुप म मेरो आफ्नो विज्ञता नेपालको क्रिकेट प्रगतिलाई प्रयोग गर्नेछु।’

काे हुन् वाट्मोर

सन् १९९५ मा वाटमोर श्रीलंकाकाे राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएपछि याे देशकाे क्रिकेटमा कायपलट भएकाे थियाे। उनले कप्तान अर्जुना रणतुङ्गासँग मिलेर पहिले हरुवा टिमकाे छवी बनाएकाे श्रीलंकालाई एकदिवसीय क्रिकेटकै शक्तिशाली राष्ट्रकाे रुपमा चिनाए।  

वाटमाेर प्रशिक्षक नियुक्त भएकाे वर्ष दिनभित्रै श्रीलंकाले भारतमा भएकाे विश्वकपकाे उपाधि जितेकाे थियाे। उनले ओपनरद्धय सनथ जयसूर्या र रमेश कलुविथरानालाई आक्रामक जाेडीकाे रुपमा प्रशिक्षित गरेका थिए। 

श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायरसँग आबद्ध भए। उनले यहाँ दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी पनि जिताएका थिए।

१९९९ को विश्वकपमा उनी फेरि श्रीलंका फर्किएका थिए। तर पहिले जस्ताे श्रीलंकाले सफलता पाउन सकेन। २००३ को विश्वकपमा भने उनको प्रशिक्षणमा श्रीलंका पुन: सेमिफाइनलमा पुग्याे।

उनले बंगलादेशलाई पनि प्रशिक्षण दिइसकेका छन्। उनकाे नेतृत्वमा २००५ मा बंगलादेशले (जिम्बाब्वेविरुद्ध) पहिलो टेष्ट म्याच जितेकाे थियाे भने कार्डिफमा भएको एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई हरायो। २००७ को विश्वकपमा बंगलादेश ‘सुपर–एट’ का लागि छनोट पनि भएको थियो।

बंगलादेश छाडेपछि उनी २००७ मा भारतको नेसनल क्रिकेट एकेडेमीको निर्देशक बने। उनले भारतकाे यू–१९ टिम पनि सम्हालिसकेका छन्।

२००८ मा मलेसियामा भएको यू–१९ विश्वकपमा भारतीय कप्तान विराट कोहलीकाे नेतृत्वमा उनले भारतलाई उपाधि दिलाउन सफल भए। २०१० र २०११ मा आइपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक बनेका वाटमाेर ४ मार्च २०१२ मा पाकिस्तान टिमको पनि प्रशिक्षक नियुक्त भए। उनको प्रशिक्षणमा पाकिस्तानले एसिया कप जितेकाे थियाे। २०२० फेब्रअरीदेखि उनी सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षक छन्।

प्रकाशित मिति: : 2021-01-21 11:42:00

प्रतिकृया दिनुहोस्