केही दिन यता जुम्लामा विद्यालयस्तरीय अन्डर- १६ फुटबल प्रतियोगिता चलिरहेको छ। छात्र र छात्रा दुवैकाे प्रतियोगिता चलिरहेको हुनाले खेलप्रेमीहरुकाे घुइँचो छ। राम्रा खेलाडीहरुले खेलप्रेमीहरुलाई आकर्षक गरिरहेका छन्।
मंगलबार दिउँसाे दर्शकदीर्घामा थिए, सिंजा गाउँपालिकाका स्वास्थ्य शाखा संयाेजक ललित राेकाया। कर्णाली मा.वि. अनामनगर र जनता मा.वि. महत गाउँ आमनेसामने भएर खेलिरहेका थिए। उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीले दर्शककाे ध्यान खिचिरहेका थिए।
खेलकाे ३४औँ मिनेटमा कर्णाली मा.वि.ले फ्रि किक पायाे। ९ नम्बर जर्सी लगाएका खेलाडी फ्रिक किक हान्न तम्सिए। उनलाई उत्साहित बनाउन राेचक खेल देखेर उत्साहित भएका राेकायाले एउटा गज्जबकाे ट्रिक लगाए। ‘बाबु जाली चुम्ने गरेर हान। तिमीलाई मेराे तर्फबाट एक हजार रुपियाँ पुरस्कार हुन्छ’, भने।
याे सुनेका ९ नम्बर जर्सीवाला खेलाडी मुसुक्क मुस्कुराए। रेफ्रिले सिटी बजाए। बिच सन्टरदेखि थाेरै अगाडिबाट प्रहार गरेकाे उनकाे फ्रि किकले नभन्दै जाली चुम्याे। खेलकाे ३४औँ मिनेटमा कर्णाली मा.वि.ले एक, शुन्यकाे अग्रता लियाे।
त्यसकाे एक मिनेट पछाडि पहिलाे हाफ सकियाे। लगत्तै राेकायाले उनलाई बाेलाएर एक हजार रुपियाँ नगद दिए। पूरै खेल अवधिभर उनी सबैकाे नजरमा परे। विपक्षी टिमका खेलाडीले उनलाई खुब हाने। रक्षात्मक अवस्थामा पुग्नेगरि फाउलकाे सिकार भए।
खेल अवधिभर कर्णाली मा.वि. लयमा रह्याे। खेलाडीले राम्राे प्रदर्शन गरे। दास्राे हाफकाे ५९औँ मिनेटमा विशाल बुढथापाले टिमका लागि दाेस्राे गाेल गरे भने ६२औँ मिनेटमा विकास बुढाले तीन जनालाई छलाउँदै उत्कृष्ट तेस्राे गाेल गरे। खेल र दर्शककाे मन दुवै कर्णाली मा.वि. अनामनगरले जित्याे।
यसरी पहिलाे गाेल गरेर आफ्नाे टिमकाे मनाेबल उच्च बनाउन भूमिका खेल्ने खेलाडी थिए, चन्दननाथ नगरपालिका- १ कुलालबाडाका इदेश कुलाल।
कक्षा ९ मा नेपाली मध्यमबाट पढिरहेका कुलालले धान कटेपछि बाँझा भएका खेत र स्कुलका खाली चाैरमा खेल्दै फुटबल सिकेका थिए। त्यहीँ उनले फ्रि किक हान्ने, छलाउने, पास दिनेलगायत उत्कृष्ट कला सिकेका थिए। यसले उनलाई फुटबल प्रमेमी मात्रै हाेइन खेलाडी नै बनाइदियाे।
उनले बच्चैदेखि सिकेकाे फुटबलकाे कला यसपालि कर्णाली मा.वि.ले कर्णाली प्रविधिक शिक्षालयकाे खेल मैदानमा गरेकाे छनाेट खेलमा देखाए। खेल शिक्षककाे नजरमा परेर छनाेटमा परेकाे उनले बिएल नेपाली सेवासँगकाे कुराकानीमा बताए।
‘यसपालि स्कुलले कर्णाली प्राविधिक शिक्षालयमा लगेर छनाेट खेलाएकाे थियाे। त्यहीँबाट सरले मलाई छनाेट गर्नुभयाे,’ उनले भने, ‘फुटबल मेराे साथी हाे। खेलाडी बन्ने मेराे सपना छ।’
निरन्तर खेल आयाेजना नहुनु। आयाेजना भएपनि खेलाडी मुठभेटमा उत्रिनु। त्यसैलाई निहुँ बनाएर सम्बन्धित गाउँका मान्छेसमेत मिलेर झगडा गर्नुले जुम्लामा खेलकुदकाे विकास हुन सकेकाे छैन। थुप्रै प्रतिभावान खेलाडीले आफ्नाे प्रतिभा दबाएर राख्नु परेकाे छ।
कुनै पनि हालतमा हार्न नचाहने मानसिकता विकास हुँदा नियमित आयाेजना गर्नलाई चुनाैती थपिएकाे एन्फा अध्यक्ष भरत बुडथपाले बताए। ‘जुम्लामा फुटबलको अपार सम्भावना हुँदाहुँदै पनि राष्ट्रिय स्तरमा खेलाडीकाे पहुँच पुगाउन सकिएकाे छैन,’ उनले भने, ‘हाम्राे झगडालु स्वभाव परिवर्तन गर्न हामीले नै मेहनत गर्नुपर्नेछ। जसबाट हामीले राम्रा नामि खेलाडीकाे प्रतिभा उजागर गर्न सकुँ।’
कर्णाली प्रदेशमा जुम्ला र सुर्खेत उत्कृष्ट खेल प्रदर्शन गर्ने जिम्ला पर्छन्। प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुँदा सधैंजसाे जुम्ला र सुर्खेतकाे फाइनलमा भेट हुन्छ। निरन्तर खेलिरहेकाे सुर्खेतसँग साेमबारे औँसीजस्ताे कहिलेकाहीँ मात्रै खेल्ने जुम्ला हार्छ। निरन्तर खेल र निरन्तर प्रशिक्षण भएकाे खण्डमा जुम्ला एक नम्बर जिल्ला हुने चर्चित फुटबलर खडकी कट्टेल बताउँछन्।
जुम्लाकाे फुटबल अझ अगाडि नबड्नुमा उनकाे पनि एन्फा अध्यक्षकाे जस्तै धारणा छ। ‘सुर्खेतका वडा-वडामा खेल मैदान छन्। हामी खेत खलियानमा खेलिरहेका छाैं,’ उनले भने, ‘हामीमा हार स्वीकार गर्ने र खेल सुधार गर्नुपर्ने साेचकाे विकास हुनै सकेकाे छैन। यसैले प्रतिभाशाली खेलाडी खुम्चिनु परिरहेको छ।’
यही भूमरीमा इदेश पर्ने सक्ने चिन्ता व्यक्त गर्छन्, फुटबल प्रेमी राेकाया। उनले भने, ‘नियमित खेल भैदिएकाे भए इदेशजस्ता खेलाडी अगाडि बड्न पाउने थिए। उनीहरुकाे भविष्य उज्ज्वल हुने थियाे।’
इदेश फुटबलमा भविष्य खाेजिरहेका छन्। परिवारकाे व्यक्तिगत लगानीबाट उनकाे खेल सुधारिने अवस्था छैन। न त उनकाे परिवारले नियमित खेल र प्रशिक्षण हुने ठाउँमा नै उनलाई पठाउन र पढाउन सक्छ।
जग्गा जमिन कम भएकाे गाउँ कुलालबाडाका धेरै पुरुषलाई जाँडरक्सीकाे कुलतले बिगारेकाे छ। इदेशका बुबा पनि कुलतमा फसेका छन्। उनकी आमाकाे ज्याला मजदुरीले उनकाे परिवार चलिरहेको छ। घरमा पाँच कक्षामा पडिरहेकी बहिनी छिन्।
‘बुबा रक्सी खानुहुन्छ। काम केही गर्नुहुन्न। ममीले कागर गरेर गुजारा चलिरहेको छ,’ उनले भावुक हुँदै भने, ‘ममीकाे कामले कतिन्जेल धान्छ र हामी पढ्न पाइरहने हाैँ, थाहा छैन। तर, फुटबल खेलिरहने माेराे सपना हाे।’
नियमित रुपमा प्रतियोगिताकाे आयाेजना भइरह्याे भने प्रशिक्षणहरु भइरहे भने धेरै प्रतिभावान खेलाडी उत्पादन हुने थिए। नहुँदा धेरै खेलाडीहरुकाे भविष्य अनिश्चित छ। पारिवारिक कठिनाइ र खेलकाे अनियमितताकाे बीचमा इदेशकाे सपना सकार हुन्छ हुँदैन त्याे हाललाई भविष्यकाे गर्भमै रहन दिउँ!