स्थापनाकाे ३६ वर्ष भइसक्दा पनि नेपाल कुस्ती संघकाे एउटा कार्यालयसमेत छैन। संघसँग न त आफ्नै तालिम केन्द्र छ।
‘बाहिर भन्दाखेरि मलाई कतिखेर हाँसो पनि लाग्ने गरेको छ। अहिले हामीसँग अफिस छैन। कुनै ऐतिहासिक दस्तावेजहरू छैनन्’, संघका अध्यक्ष प्रकाशकुमार कुसारी (सम्राट)ले भने।
लामाे समयदेखि विवाद र विभाजनकाे भुमरीमा परेर नेपाल कुस्ती संघकाे हालत यस्ताे भएकाे हाे।
वि.सं. २०७२ जेठ २५ गते नारायणदेव राणाकाे नेतृत्वमा नेपाल कुस्ती संघकाे गठन भएकाे थियाे। जसलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे मान्यता थियाे।
तर, त्यसकाे एक सातामा नै राज मोहम्मद मिया अन्सारीकाे नेतृत्वमा अर्काे कमिटी गठन भयाे। त्यसलाई ओलम्पिक कमिटीले मान्यता दियाे।
२०७६ जेठ २४ गते राणाले नेतृत्व गरेकाे संघकाे चार बर्ष कार्यकाल सकिँदै थियाे। तर, तत्कालीन राखेप सदस्य सचिव केशवकुमार बिष्टले राणा नेतृत्वकाे संघलाई अधिवेशन अनुमति नदिएर अन्सारी नेतृत्वकाे संघलाई कमिटी पुनर्गठनकाे अनुमति दिए।
आफ्नाे कार्यकाल सकिने अन्तिम दिन (२०७६ असार ९ गते) विष्टले गरेकाे त्याे निर्णयपछि संघकाे विवाद चुलियाे। अन्सारी नेतृत्वकाे संघले १६ सदस्यीय कमिटी गठन गर्याे। राणा नेतृत्वकाे कमिटी सर्वेच्च अदालत गयाे।
सर्वाेच्चले २०७७ चैत ३ गते दुवै संघलाई खारेज गरेर नयाँ कमिटी गठन गर्न आदेश दियाे। आदेशपछि राखेप र ओलम्पिक कमिटी एक ठाउँमा आए। यी दुई बिचकाे सहमतिमा कुसारीकाे नेतृत्वमा तदर्थ कमिटी गठन भयाे।
र, संघकाे अधिवेशनले २०८० चैत ४ मा कुसारीकाे नेतृत्वमा १६ सदस्यीय कमिटी गठन गर्याे।
अब भने संघकाे विवाद लगभग टुंगिएकाे छ। यद्यपि, संघ शून्यतामा छ। याे कठिन अवस्थाबाट नेपाल कुस्ती संघ अब कसरी अगाडि बढ्छ?
संघका नवनिर्वाचित अध्यक्ष प्रकाशकुमार कुसारीसँग बिएलकर्मी कमल प्रभातले कुराकानी गरेका छन्।
प्रस्तुत छ, कुसारीसँग गरिएकाे कुराकानी :
लामो विवाद र विषम परिस्थितिपछि कुस्ती संघले तपाईंको अध्यक्षतामा नयाँ कमिटी पाएकाे छ। एक किसिमले गन्जागाेल संघकाे नेतृत्व सम्हाल्नु पर्दा कस्तो लागिरहेकाे छ?
नेपाली खेलकुदमा विभिन्न खालका अप्ठ्यारा समस्या र बेथितिहरु थिए। नेपाल कुस्ती संघ पनि विवाद र अप्ठ्यारोमा थियो। सम्मानित सर्वोच्च अदालतले २०७७ चैत ३ गते पुराना दुवै कमिटीहरुलाई खारेज गरेर नयाँ कमिटी निर्माणका लागि आदेश गरेको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्यसको कार्यान्वयन गर्ने क्रममा नेपाल ओलम्पिक र राखेपको बिचबाट समन्वय र सल्लाह गरेर परिमार्जित एउटा निर्वाचन कमिटी बनायो। त्यसको प्रतिवेदन र निष्कर्षका आधारमा राखेपले मेरो नेतृत्वमा तदर्थ कमिटी गठन गर्यो। अदालतले तीन महिनाको समय ताेकेर पुन: निर्वाचनका लागि एउटा कार्यादेश दिएको थियो। त्यस मुताबिक गत चैत ४ गते म नेतृत्व गर्ने गरी सर्वसम्मत रुपमा निर्वाचित भएर आएँ।
नेपाल कुस्ती संघलाई शून्य अवस्थाबाट अगाडि बढाउनका लागि हामीले व्यवस्थापकीय भूमिका निर्वाह गर्ने सन्दर्भ जोडिएको हुनाले नयाँ खालको अनुभूति, जिम्मेवारी र चुनौती थपिएको महसुस गरेको छु।
यसलाई तपाईंले अवसरको रुपमा लिनु भएको छ कि बाध्यात्मक चुनौती?
म सबै कानुनी प्रक्रियाहरु पूरा गरेर अदालतले दिएको आदेश र राष्ट्रिय खेलकुद विकास ऐन २०७७लाई कार्यान्वयन गर्ने सन्दर्भमा निर्वाचित भएको अध्यक्ष हुनाले मैले यसलाई चुनौती भन्दा पनि अवसरका रुपमा लिएको छु। शून्यबाट सुरु गरेर माथि उठाउने चरणका रुपमा लिएको छु।
अहिले संघको अवस्था कस्तो छ?
बाहिर भन्दाखेरि मलाई कतिखेर हाँसो पनि लाग्ने गरेको छ। अहिले हामीसँग अफिस छैन। कुनै ऐतिहासिक दस्तावेजहरु छैनन्।
तर, अहिले हामीले पुराना डाटा (तथ्यांक) संकलन गर्ने प्रक्रिया सुरु गरेका छौँ। अफिसका लागि राखेपसँग समन्वय गरेका छौँ। अफिस बनाएर कार्ययोजनाहरु व्यवस्थित बनाउने गरी काम भइरहेकाे छ।
खेलाडीलाई तालिम गराउनका लागि हामीसँग व्यवस्थित हल छैन। सबै प्रदेशमा प्रशिक्षकहरु आवश्यक छ। प्रतियोगिता गराउनका लागि आवश्यक पर्ने रेफ्रीहरुको संख्या न्यूनभन्दा न्यून छ। यस्ता चुनौतीका बिचबाट यसलाई अवसर र सम्भावनाका रुपमा अगाडि बढाउनका लागि केही अल्पकालीन र दीर्घकालीन निर्णयहरु गर्दैछौँ। यही बिचबाट हामी अगाडि बढ्ने चरणमा पुग्नेछौँ। शून्यताबाट सुरुवात गर्नुपर्ने अवस्थालाई मैले सबैभन्दा ठुलो अवसरका रुपमा लिएको छु।
एउटा कार्यालयसमेत नभएको संस्थाको नेतृत्व गर्नुपर्ने अवस्था आउँदा मनमा कस्ता कुराहरु आउँछन्?
भएका संरचनाहरुलाई भत्काएर नयाँ बनाउनुभन्दा हुँदै नभएकोमा नयाँ डिजाइन गरेर बनाउनु सबैभन्दा ठुलो कुरा भएको मैले ठानेको छु। राष्ट्रिय खेलकुद विकास ऐनले गाइड (मार्गनिर्देश) गरेअनुसार हामी सातै प्रदेशमा यसका संरचनाहरु बनाउँछौँ। ७७वटै जिल्लामा यसलाई फैलाउँछौँ। त्यसपछि सबै पालिकाहरुमा बिस्तार गर्छौँ। विद्यालयस्तरबाट व्यवस्थित ढङ्गले अगाडि बढ्न सजिलाे हुने भएकाेले हामीले विद्यालयहरुमा कुस्ती टिचरहरु उत्पादन गर्नेछाैँ।
त्यसकारण आफ्नाे भिजनअनुसार काम गर्नका लागि यो अवसर सबैभन्दा सुनौलो हो। ‘यो अवस्थाबाट पनि माथि उठ्न सकिन्छ’ भन्ने लागेर मैले नेतृत्व लिएका हो।
खेलाडीको अवस्था कस्तो छ?
हामीसँग चार–पाँच सयको हाराहारीमा खेलाडी हुनुहुन्छ। याे संख्या धेरै ठुलो हो जस्तो मलाई लाग्छ। त्यसलाई व्यवस्थित हिसाबले अगाडि बढाउनका लागि हामीसँग टेक्निकल (प्राविधिक) टिम छ। राखेपको तर्फबाट चिफ कोचको रुपमा काम गरिरहनुभएको छ, मुमताज अली इद्रिसी। उहाँ हाम्रो टेक्निकल टिमकाे संयोजक हुनुहुन्छ। अन्य प्रशिक्षकज्यूहरु पनि हुनुहुन्छ। यो टिम परिचालन गरेर काम गर्न सकियो भने हामी खेलाडीको संख्यामा वृद्धि गर्न सक्छाैँ।
खासगरी विद्यालयहरुलाई खेलकुदको स्रोतको रुपमा विकास गर्नुपर्छ। विद्यालयस्तरबाट नै सिकाउँदै ल्याउने हो भने राम्रो गर्न सकिन्छ। त्यसो भएको हुनाले त्यहाँसम्म पुग्ने हाम्रो प्रयत्न छ।
अघिल्लो विवादले खेलाडीमा कस्तो असर परेको छ?
अघिल्लो नेतृत्वले खेलाडीहरुलाई पारिवारिक वा अन्य हिसाबले हेर्ने गरेको गुनासा छन्।
संघले खेलकुद र खेलाडीहरुको व्यवस्थापकको रुपमा काम गर्नुपर्ने भएपनि खेलाडीहरुको भावनालाई नबुझेर एक्स्पोज नगर्ने, अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नपठाउने, फ्रेन्डसीप खेलहरु नखेलाउने, समस्या र चुनौतीहरुबारे छलफल नगर्ने गरेको भन्ने कुराहरु आएका छन्।
म निर्वाचित भइसकेपछि दुई–तीन चरणमा खेलाडीसँग बसेर ‘तपाईंका समस्या र चुनौतीहरु के–के छन्?’ भनेर छलफल गरेको छु। हामी एक्लै सफल हुने पनि होइन, त्यसमा सबै खेलाडीको एकीकृत भावना जागृत गरेर उहाँहरुसँग समन्वय र परामर्श गरेर सही ढंगले अगाडि बढ्ने सोचेको छु।
त्यो क्षतिको भरण कसरी गर्ने सोच्नु भएको छ?
खासगरी राष्ट्रियस्तरको तालिम सञ्चालन गर्ने गरी ट्रेनिङ सेन्टरहरु बनाउने लक्ष्य लिएका छौँ। त्यस्तै पहिलो चरणमा दुई सय जति कोचहरु उत्पादन गर्नका लागि एउटा अभियानात्मक हिसाबले अगाडि बढ्ने लक्ष्य लिएका छौँ। त्यसपछि करिब पचास जना रेफ्री उत्पादन गर्ने लक्ष्य लिएका छौँ। त्यसपछि त्यो टिमबाट नै विद्यालयहरुमा प्रतियोगिताहरु गर्ने कुरा हुने छन्। जिल्ला र प्रदेशमा प्रतियोगिताहरु गर्ने कुराहरु हुने छन्। त्यसका लागि निजी क्षेत्रसँग समन्वय गर्ने गरी प्रक्रिया सुरु गरेको छौँ।
कोच (प्रशिक्षक) उत्पादन गर्ने कुरा सबैभन्दा महत्वपूर्ण छ। त्यसपछि ती कोचहरुलाई विद्यालयस्तरमा पठाउने दोस्रो महत्वपूर्ण कुरा छ। त्यो गरेपछि त्यहाँबाट उत्पादिन खेलाडीहरुलाई विभिन्न प्रतियोगितामा पठाउने छौँ। त्यसको लागि पहिलो कुरा प्रशिक्षक उत्पादन र दोस्रो कुरा खेलाडी उत्पादन नै हो। खेलाडी उत्पादन भइसकेपछि तिनीहरुलाई व्यवस्थित र अन्तर्राष्ट्रिय नियमअनुसार अगाडि बढाउने कुरा रहन्छ। त्यसपछि हामी पूर्णरुपमा प्रतिस्पर्धामा जान सक्नेछौँ।
हामीले एउटा कुस्ती एकेडेमी निर्माण गर्ने लक्ष्य लिएका छौँ। त्यसका लागि राखेप र नेपाल सरकारसँग हामीले संघको तर्फबाट प्रस्ताव पेश गरेका छौँ। त्यो स्वीकृत भइसकेपछि एउटा नयाँ कामको सुरुवात हुनेछ।
अन्य खेलका अभ्यास र प्रतियाेगिताका लागि मैदान नभएको गुनासाहरु आइरहेका हुन्छ, कुस्ती संघको अवस्था के छ?
राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको सातदोबाटोमा एउटा सानो ट्रेनिङ सेन्टर छ। हाम्रो आफ्नो एकेडेमी पनि छैन। ट्रेनिङ गर्ने आफ्नै हल पनि छैन।
मैले सुरुमा नै भनेको थिएँ, हाम्रो अफिस पनि छैन। तर, हामी योजनामा छौँ, त्यसका लागि संघले राखेपमा केही प्रस्ताव पठाएको छ। ती प्रस्तावहरु पास भएपछि हाम्रा सबै कुराहरु व्यवस्थित हुन्छन्। अफिसका पदाधिकारीहरुले डकुमेन्टहरु झोलामा बोकेर हिँड्नुपर्ने जुन अवस्था छ, त्यो चिरेर हामी अगाडि बढ्छौँ।
प्रदेश र जिल्लाको अवस्था कस्तो छ?
हामीले अहिले चारवटा प्रदेश पूर्णरुपमा गठन गरेको छौँ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश गठन गर्ने प्रक्रियामा छौँ। अन्यमा प्रदेश कमिटी गठन नभएपनि जिल्लाहरुमा कमिटी गठन भएका छन्।
राज्यका अन्य निकाय र खेलाडीबाट कस्तो अपेक्षा गर्नुभएको छ?
नेपालको खेलकुदलाई नै नयाँ ढङ्गले डाेर्याउन सकेनौँ भने भविष्यले हामीलाई श्राप्नेछ।
राज्यको नेतृत्वदायी संस्था राखेप हो, उसले खेलकुदका सबै संघलाई गर्ने व्यवहार समान हुन्छ। प्रतियोगिता र सहभागिताको आधारमा केही तल-माथि त होला तर सबै संघलाई हेर्ने दृष्टिकोण बराबर नै हुन्छ। त्यसो भएको हुनाले कुस्ती संघलाई पनि हेर्ने नजर सकारात्मक हुने नै भयो। युवा तथा खेलकुद मन्त्रालय त भयो नै, त्यसका अलवा निजी क्षेत्रलाई पनि सहभागी गराउने एउटा व्यवस्था छ। त्यही व्यवस्थामा रहेर निजी क्षेत्रलाई पनि समेट्नका लागि हाम्रो नेतृत्व लाग्नेछ।
तपाईं नेतृत्वको यो निर्वाचित कमिटीले आफ्नो कार्यकालमा के–के गर्ने लक्ष्य लिएको छ?
एउटा मानिसले सही किसिमको प्रयत्न गर्यो भने सबैभन्दा राम्रो गर्न सकिन्छ भने हामी निर्वाचित १५ जनाले आँटियो भने कसो नहोला र? भन्ने छ।
त्यसमाथि ‘केही गरौँ’ भन्ने हुटहुटी भएका साथहीहरु मेरो टिममा हुनुहुन्छ। त्यसो भएको हुनाले हामीले साँच्चिकै भन्ने हो भने यो कार्यकालमा राष्ट्रियस्तरको तालिम केन्द्रको रुपमा एउटा संरचना स्थापना गर्छौँ। त्यो हामीले पहिलो बैठकमा लिएको अठोट हो। सोहीअनुसार सबै प्रदेशमा कभर्डहल निर्माण गर्ने कुरा रहन्छ। त्यसका लागि प्रदेश, जिल्लादेखि पालिकास्तरसम्म पिरामिड आकारमा संरचना निर्माण हुन्छन्। त्यहाँबाट नै हामीले सबै गर्न सकिन्छ। त्यसपछि घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा व्यापक सहभागीता जनाउन सक्छौँ। यो नै हाम्रो लागि सबैभन्दा ठुलो कुरा हुनेछ। तर, त्यसका लागि चुनौतीका ठुला पहाडहरु छन्, तिनीहरुलाई गर्ल्याम्म ढालेर अवसर नै अवसरमा बदल्ने काम हाम्राे कार्याकालमा हुनेछ।
व्यक्तिगत हिसाबले यी कुराहरु पूरा गर्न सक्छु भन्ने आत्मविश्वास छ?
त्यो आत्मविश्वास भएर नै मैले नेतृत्व लिएको हो। चुनौतीका पहाडहरुलाई छिचोल्नका लागि राखेप, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सहयाेगका लागि समन्वय गर्नेछाैँ। डाेजरकाे रुपमा ती टुलहरु प्रयाेग गरियाे भने गज्जबले गर्न सकिन्छ भन्ने विश्वास छ।
खेलाडीबारे?
सबै खेलाडीलाई घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराउनमा व्यवस्थापकको भूमिका हामी निर्माण गर्छौँ। खेलाडीका लागि नै हाम्रो संस्था हो। व्यवस्थापनका लागि नै यो संघ बनेको हो।
...भनेको खेलाडीलाई ‘ढुक्क भएर खेल्नुहोस्’ भन्ने तपाईंको धारणा हो?
हो।
उपाधि जित्नका लागि तपाईंहरु सबै खेलाडी लाग्नुहोस्। ‘खेलाडी भएर मेरो भविष्य सुनिश्चित भयो’ भन्ने आभास दिलाउने काम संघले गर्नेछ। ढुक्क भएर खेल्नुहोस्।
अन्त्यमा।
नेपालमा खेल्ने खेलाडीको भविष्य यहीँभित्र छ। खेलाडीहरुका आश्रित परिवारले ‘मेरो छोरा-छोरी खेलेर एउटा खालको वातावरण निर्माण गर्यो। हामीलाई पालनपोषणमा समस्या छैन’ भन्ने वातावरण निर्माण गर्नुपर्ने छ। सबै क्षेत्रहरुसँगकाे समन्वयमा यी सबै कुराहरु हुनेछन्। नेपालको खेलकुदलाई नयाँ उचाइमा पुर्याउनका लागि सबैले सकारात्मक प्रयत्न गरौँ। सकारात्मक ढङ्गले सहकार्य गरौँ। विदेश पलायनको वातावरण अन्त्यका लागि हाम्रो संघको तर्फबाट, हाम्रो नेतृत्वको तर्फबाट सकारात्मक प्रयत्न हामीबाट हुनेछ।