बिहिबार, १६ अक्टोबर २०२५

एमालेबाहेक सबै दलहरू चुनावमा जाने भइसके, संसद् पुनर्स्थापनाको एजेन्डा अब ‘गौण’– प्रचण्ड

News Image
• • •

नेकपा माओवादी (केन्द्र)का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेबाहेक सबै दलहरू चुनावमा जान सहमत भइसकेको दाबी गरेका छन्।

बिहीबार बिहान चितवनस्थित जिल्ला पार्टी कार्यालय आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै दलहरू चुनावको तयारीमा लागिसकेकाले संसद् पुनर्स्थापनाको एजेन्डा गौण बनिसकेको बताए।

एमालेमा अध्यक्ष केपी ओली पक्ष संसद पुनर्स्थापनाको पक्षमा देखिए पनि बहुमत नेताहरू चुनावको पक्षमा रहेकाले एमालेसँग पनि चुनावको विकल्प नभएको प्रचण्डको जिकिर थियो।

प्रचण्डले हालैको जेनेरेशन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायतका विषयमा स्पष्ट धारणा राखेका छन्।

उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’ को संकेतको रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने बताए।

उनले भने, ‘युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्। हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो।’

संयोजक प्रचण्डले २३ गते राजधानीमा भएको आन्दोलनको क्रममा देखिएको ‘गम्भीर सुरक्षा लापरवाही’ लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री तथा सरकार प्रमुखको भूमिकाको आलोचना गरे।

उनले भने, ‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो। तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो। गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातिमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!