१७ वर्षको कलिलो उमेरमा साइकल दुर्घटनामा परिन्।
अस्पताल पुर्याउँदा डाक्टरले भने, ‘उपचार सम्भव छैन। बरु, घर लैजानुस्, अनुहार त सबैले हेर्न पाउलान्।’
परिवार भने अर्काे अस्पतालतिर माेडियाे।
त्यो अस्पतालले प्राण त बचाइदियो तर कमरभन्दा तलको भाग सधैंका लागि नचल्ने भयो।
तर, पनि उनले हिम्मत हारिनन्। बनिन्, देश चिनाउने खेलाडी।
उनी अर्थात्, जेनिसा कडायत।
वि.सं. २०५४ मा कैलालीको गौरीगंगामा नगरपालिकामा जन्मिएकी जेनिसाले सानोमा सोच्थिन्, कि त आर्मी बन्छु, कि त नर्स।
बालमस्तिष्कमा पलाएका तिनै रहरले पढाइतिर ध्यान तानिरहेको थियो।
कक्षा ८ सम्म घर नजिकको कालिका निम्न माध्यमिक विद्यालयमा पढिन्। त्यहाँभन्दा माथिको पढाइका लागि गाउँबाट टाढा जानुपर्थाे।
उनलाई बुबा–आमाले घरबाट हिँडेर आधा घण्टामा पुगिने भवानी राष्ट्रिय माध्यमिक विद्यालयमा भर्ना गरिदिए।
आधा घण्टाको बाटो छिचोलेर विद्यालयसम्म पुग्न कठिन थियो। बाटो अप्ठ्यारो, बिचमा थियो खोला।
छोरीलाई विद्यालयसम्म पुग्न सजिलो होस् भनेर बुबाले साइकल किनिदिएका थिए। त्यही साइकलले विद्यालयसम्मको यात्रालाई सहज बनाइरहेको थियो। एक किसिमले साइकल जेनिसाको सहयात्री थियो।
०७२मा एसएलसीको तयारीमा जुटिरहेकी जेनिसामा तिहारको रौनक भरिएको थियो।
घरमा तिहारको चटारोले कसैलाई काम गर्ने फुर्सद थिएन। आमालाई सघाउने रहर हुँदाहुँदै बुबासँग सामान किन्न बजार जानुपर्ने भयो।
बुबासँग नेपाल–भारतको सीमानामा पर्ने गौरीफण्टा पुगिन्।
तिहारको सामानसँगै खुसीहरु बोकेर जेनिसाका बुबा–छोरी छुट्टाछुट्टै साइकलमा घर फर्किँदै थिए।
कसैले काटेको रुख ढलेर च्याप्यो। २०७० कात्तिक १६ गतेकाे घटना थियाे त्याे।
रुखका हाँगाहरुले लागेर ढलिन्, जेनिसा।
टाउकोमा चोट लाग्यो, दायाँ हात पनि भाँचियो।
उपचारका लागि तत्काल धनगढीस्थित सेती पुर्याइयो। सेती अस्पतालले चोटमा औषधि त लगाइदियो तर टाउको चोटको उपचार गर्न सकेन।
धनगढीमा उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल पुर्याइयाे।
भेरी अस्पतालले त झन् उपचार नै सम्भव नभएको भन्यो। त्यतिबेला डाक्टरहरुले भनेका थिए, ‘उपचार सम्भव छैन। बरु, घर लैजानुस्, अनुहार त सबैले हेर्न पाउलान्।’
परिवारले भेरी अस्पतालका डाक्टरहरुको कुरालाई लत्याएर झिनो आशासहित काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पताल ल्यायो।
भेरी अस्पतालले माया मारेकी जेनिसालाई टिचिङ अस्पतालले बचायो।
उनको ज्यान त बच्यो तर अवस्था भने सामान्य भएन।
टिचिङ अस्पतालले एक महिनासम्म अन्नसमेत खान नदिएर उपचार गर्यो।
टाउको अप्रेसन भयो।
‘हिँड्डुल गर्न सक्ने गराउन सकिन्छ कि भनेर अस्पतालले एक महिना जुसमात्र खुवाएर उपचार गर्यो’, जेनिसाले बिएल नेपाली सेवासँग भनिन्, ‘होसमा आएपछि डाक्टरलाई मैले भनेकी थिए,– कि मेरो राम्रोसँग उपचार गर्नुस्, कि मलाई मारिदिनुस्।’
उपचार त भयो तर कमरभन्दा तलको भाग चलेन। उनलाई मेरुदण्ड पक्षघात भयो। अर्थात्, अब उनले आफ्नो जीवन ह्विलचियरमा गुडाउनुपर्ने भयो।
एक महिनाको उपचारपछि टिचिङ अस्पतालबाट डिस्चार्ज भइन्।
टिचिङ अस्पतालबाट निस्किएपछि काभ्रेकाे एक थेरापी सेन्टरमा उपचार भइरहेको थियो उनको।
त्यही भेटिइन्, गायत्री दाहाल।
तिनै गायत्रीको सल्लाहमा ललितपुरको किस्ट अस्पतालमा अप्रेसन भयो।
अप्रेसनपछि हिँड्न मिल्नेछ भन्ने विश्वास जेनिसालाई थियो, ‘त्यहाँको डाक्टरले पनि म हिँड्न सक्नुहुन्छ भन्नु भएको थियो। मलाई पनि विश्वास थियो, अब म हिँड्न सक्नेछु भन्नेमा तर अप्रेसनपछि पनि म हिँड्न नसक्ने भएँ।’
त्यसपछि जेनिसाका खुट्टाले कहिले पाइला चाल्न पाएनन्।
जीवन ह्विलचियरमा गुडिरह्यो।
२०७२ मा खगेन्द्र नवजीवन केन्द्रमा पुग्यो उनी सवार ह्विचियर।
त्यहाँ भेटिइन्, लक्ष्मी कुँवर।
तिनै लक्ष्मीले सुनाइन् मेरुदण्ड पक्षघात भएका मानिसले पनि पौडी (स्विमिङ) खेल्न सक्छन् भन्ने कुरा।
जेनिसाले लक्ष्मीको कुरा सुनिन्, तर पत्याइनन्।
त्यसपछि भेटिएकी सोनिका ढकालले मेरुदण्ड पक्षघात भएका मानिसले कसरी पौडी खेल्न विधिबारे जानकारी दिइन्।
अनि बल्ल जेनिसाले भनिन्, ‘म पनि खेल्छु।’
मेरुदण्ड भएका मानिसले पौडी खेल्नका लागि के-के गर्नुपर्छ वा शरीरमा के लगाउनुपर्छ?
सानोमा पौडी खेल्दा डुबेकी थिइन्। फेरि आएको थियो थियो पौडी खेल्ने कुरा।
बाल्यकालको घटनालाई लिएर परिवारले उनलाई पौडी नखेल्न सुझाव दिएको थियो। तर, दबिएनन्, उनका आकांक्षाहरु।
जुटिन्, अभ्यासमा।
लक्ष्मी कुँवरले लेखेको हेरिन्। अनि त झन् बढ्दै गयो हौसला।
देश चिनाउने मौका
यही वर्ष चीनमा १९औँ एसियाली खेलकुद (एसियाड) भयो।
उनले नेपालको तर्फबाट ५० मिटर दूरीको पौडीमा भाग लिने मौका पाइन्। छोटो समय अभ्यास गरेर एसियाडमा भाग लिएकी उनले कुनै पदक त जित्न सकिनन्। तर, राम्रो खेल प्रदर्शन गरिन्।
‘एसियाडका लागि सोचेजस्तो प्रशिक्षण गर्न पाइनँ। त्यही पनि सुतिरहेको बेला छुचुन्द्रोले खुट्टमा टाेकेर घाउ बनाइदियो’, उनले भनिन्, ‘१५ दिनको ट्रेनिङमा ६ दिनमात्र सहभागी हुन पाएँ।’
चीन पुगेपछि मौसम परिवर्तनको कारण बिरामी परेर अस्पताल नै भर्ना हुनु परेको थियो। तर, उनले हिम्मत हारिनन्, सकेजति क्षमता प्रदर्शन गरिन्।
उनलाई ओलम्पिकको अनुभव र मेरुदण्ड पक्षघात भएकाहरु पनि पौडी खेल्न सक्छन् भनेर सन्देश पनि दिनु थियो। यी दुवै कुरा उनले पाइन्। ‘सोच त जित्नु नै थियो तर स्वास्थ्य अवस्थाको कारण राम्रो खेल्न सकिनँ। जित्नुमात्र ठुलो कुरा होइन रहिछ, सिक्न त पाएँ।’
उनी पाैडी (स्विमिङ)मात्र होइन्, बास्केटबल पनि खेल्छिन्।
यी सबै गर्न चुनौतीका ठुला–ठुला पहाडहरुलाई भत्काउनुपर्छ। तर, अवसर पाए केही गरेर देखाउने हुटहुटी उनमा स्पष्ट देखिन्छ। ‘हामीजस्तो व्यक्तिलाई खेल्न मन छ, त्यहीअनुसार सामानहरु पनि चाहिन्छ, त्यसका लागि सरकारले सहज व्यवस्था मिलाइदिए हुन्थ्यो’, विशाल आँटको अगाडि सरकारसँग उनको यत्ति छ अपेक्षा।
अहिले जेनिसाको परिचय फराकिलो भएको छ।
जेनिसा ह्विलचियरमा जीवन गुडाइरहेकी यात्रीमात्र होइनन्, देश चिनाउने साहासले भरिएकी याेद्ध पनि हुन्।
डाक्टरले बाँच्दिने भनेर घर फर्काएकी जेनिसाले बाँचेरमात्र होइन गरेर पनि देखाएकी छन्।
र त भन्छिन्, ‘मलाई बाँच्दिने भनेर घर पठाउने डाक्टरलाई एक पटक भेट्न मन छ।’
भिडियाे :
फाेटाे/भिडियाे : शनि शाक्य