३२ वर्षीय फुटबलर सुनिल थापा मगर जुम्लाको चन्दननाथ नगरपालिका- ५ का बासिन्दा हुन्। नयाँ पुस्ताका आइडल उनी तेज गतिमा दौडिने र छलाउन सक्ने राम्राे सीप भएका फरवार्ड हुन्।
फुटबल करियरमा उनले देखेको मिठो सपना भनेकै ‘ए’ डिभिजन लिग खेल्ने थियो। त्यसैका लागि उनी सशस्त्र प्रहरीमा भर्ती भएका थिए। जब उनले त्यहाँबाट पनि मौका पाउने स्थिति बनेन तब उनले जागिर नै छोडिदिए। यो लेख उनको फुटबल जीवनमा केन्द्रित छ।
कमजोर पारिवारिक स्थितिबाट गुज्रिएका सुनिलले बोर्डिङ स्कुलको मुख कहिले पनि देखेनन्। त्यसैले दुई कक्षासम्म जुम्ला बजारस्थित बालमन्दिर स्कुलमा पढे। एसएलसी सम्मकाे अध्ययन चन्दननाथ मा.वि.बाट सकाएका उनले रत्नचूडेश्वर मा.वि.बाट प्लस टु हुँदै जुम्ला बहुमुखी क्याम्पसमा स्नातक तहमा भर्ना भएका थिए।
त्यतिञ्जेल उनले राम्रो फुटबल खेलाडीको रुपमा आफ्नाे परिचय बनाइसकेका थिए। २०६८ सालमा धनगढीमा भएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको फुटबल टिमबाट राष्ट्रिय खेल खेलेका उनी सशस्त्र प्रहरी हुनुको मुख्य कारण विभागीय टिममा समावेश हुन पाइन्छ र ए डिभिजन लिग खेल्न पाइन्छ कि भन्ने थियो। तर, त्यहाँ पनि पावर लाग्ने देखेपछि उनी जागिरको आश मारेर हिँडे।
सानो छँदा धान काटेपछि बाँजा हुने गुठी संस्थानका खेत उनीहरुका रंगशाला थिए। बाल मन्दिनरको चौरमा साना पोष्ट बनाएर तीन जनाको टिममात्रै खेल्न मिल्थ्यो। बल भने अहिलेका जस्ता हुँदैन्थे। बजारमा ट्युप किन्न पाइन्थ्यो। त्यसको मुख काटेर भित्रतिर प्लास्टिक भरेर टाइड बनाएर खेल्ने गरेको सुनिललाई खुब याद आउँछ।
‘त्यसरी नै फुटबल सिक्यौँ। निस्फिक्री दौडिन सिक्यौं। अहिलेको राजा सिम र शेरा खेत हामीलाई फुटबलको बेस बसाउने ठाउँ हुन्,’ उनले भने, ‘१२-१४ वर्षको उमेरदेखि फुटबल खेल्न थालेको हो। त्यसभन्दा अगाडि ट्युपको बल बनाएर खेल्यौं।’
उनका बुबा पनि खेलाडी हुन्। बुबाहरुको टिम टुँडिखेलमा खेल्न लागेको बेला उनी बुबाका झोला र कपडा समाउने काम गर्थे। त्यतिबेला उनलाई लाग्थ्यो कुनै दिन म पनि खेल्नेछु। ‘खुब रहर लाग्थ्यो। टुँडिखेलमा खेल्न गयो भने ठुलै खेलाडी भइन्छ जस्तो लाग्थ्यो,’ उनले भने।
उनका बुबाका पालामा जुम्ला बजारको रारा युवा क्लब निकै चर्चित थियो। त्याे टिमबाट निकै सानो उमेरमा खेल्न पाउने खेलाडी हुन, सुनिल। अर्थात्, उनले रारा युवा क्लबबाट जिल्लास्तरीय क्लब फुटबलमा डेब्यु गरेका थिए। सायद, त्यतिबेला उनी १४-१५ वर्षका थिए।
उनलाई याद छ, पहिलोपटक टुँडिखेलमा खेल्दा जुम्ला बजारका बुद्धि तामाङले फुटबल सुज दिएको। मागेको फुटबल सुज लगाएर खेलेका सुनिल समय बित्दै जाँदा राम्रो सीप भएको खेलाडीको रुपमा परिचित हुँदै गए। मैदानमा उत्रिँदा सुनिलको नाममा हुटिङ हुन थाल्यो।
सुरुमा अनुभव नभएका कारण उनी डिफेन्स खेल्थे। त्यसको दुई वर्ष जतिमा उनले फरवार्डमा स्थान पाए। पहिला छापामारका जस्ता देखिने मिल्ट्री जुत्ता लगाएर फुटबाल खेल्थे। निकै सस्ता मिल्ट्री जुत्ता उत्पादनमा सरकारले प्रतिबन्ध लगायो। कारण त्यतिबेला माओवादी युद्ध चलिरहेको थियो।
गोजीमा समोसा खाने पैसा नहुने उमेरमा सरकारले सस्ता जुत्तामा प्रतिबन्ध लगाएपछि महंगा फुटबल सुज किन्न सक्ने कुरै भएन। त्यसैले फुटबल सुज मागेर फुटबल खेल्नु परेको उनी सम्झिन्छन्।
‘मैले माथि पनि भनिसकेँ मेरो पढाइ सँधै सरकारी स्कुलमा भयो। यस्तो अवस्थामा हाइफाइ सम्भव थिएन,’ उनले भने, ‘फुटबलमै ध्यान भएकाले जेनतेन काम चलाएँ। टिम राम्रो बन्दै गएपछि मेरो खेल पनि राम्रो बन्दै गयो। पछि आफ्नै सुज किनेर लाउन थालेँ।’
छैटौँ राष्ट्रिय फुटबल प्रतियोगिता खेलिसकेपछि उनलाई लागेको थियो, ‘म अब राम्रो खेल्न सक्छु। मेरो मुल्यांकन कतैबाट होला।’ त्यही आशले नै उनी सशस्त्र प्रहरी भएका थिए। मनमा विभागीय टिमबाट ए डिभिजन खेल्ने ठुलो धोको पालेर बसेका सुनिल टुट्नुको कथा कारुणिक छ।
उनको मनमा विभागीय टिमबाट फुटबल खेल्न पावर लाग्दैन भन्ने थियो। कहिँ कतै पहुँच नभएका उनी त्यही आश राखेर सशस्त्र प्रहरीमा भर्ती भए। प्रतिभा पहिचान गरेर टिममा सहभागी गराइन्छ भन्ने आश थियो।
तीन वर्ष खाएको जागिरबाट प्राप्त हुने तलब उनले फुटबलका निम्ति भनेर खर्चे। राम्रा फुटबल सुज र स्वास्थ्यकर खानामा सबै तलब सकाउन थाले। उनी आफूले देखेको मिठो सपनाको मञ्जिलसम्म पुग्नै आँटेका थिए। खुसी थिए उनी।
‘१५ महिना तालिममात्रै गरेँ। ९ महिना बेसिक तालिम र ६ महिना प्याकेज तालिम भनेर डिएलडब्लुडी गरेँ,’ उनले भने, ‘यी सबै सरासर गर्नुसँग एउटा मात्रै स्वार्थ थियो फुटबल खेल्न पाउने।’
तनहुँमा तालिम गर्दा गर्दै उनी फुटबल खेल्थे। त्यही बिचमा त्यहाँका खेलाडी टोलीले उनलाई चिने। तालिम हुँदाहुँदै खेल्ने केटाहरु कोही छ भने पठाइदिनु पर्यो भन्ने खबर आयो। राम्रो खेले पनि। तालिमपछि उनको सरुवा पोखरा कालिका गणमा भयो।
गणबाट ‘सुनिल थापा मगर नामको केटा छ उसलाई पठाउनु’ भनेर बाहिनीमा तानियो। त्यसबेला उनलाई खुब आश लागेको थियो। मन खुसीले उडेर आकाश छुन आँटेको थियो।
उनले जिउ-ज्यान लगाएर खेले। त्यहाँबाट हलचोकमा आइजिबी कप खेल्न भनि काठमाडौँ गए। दिलो ज्यान दिएर खेलेका उनी छनोटमा परेनन्। त्यहाँको निर्णय चित्त नबुझेपछि उनी साह्रै निराश भए। उनी नराम्ररी टुटे।
कल्पना नै नगरेको परिस्थितिको दृश्य हेर्न विवश थिए, सुनिल। उनका निम्ति भन्दिने कोही भएन। निष्पक्षताको आँखामा त्यहाँ पनि मोतिबिन्दु लागेछ। पहुँच नहुनुको पीडा भोगिरहेका थिए।
जब उनले यहाँ पनि पावर लाग्ने रहेछ भन्ने थाहा पाए, तब जागिर बेकार हो भन्ने निष्कर्षमा पुगे। सशस्त्रको जागिरलाई खल्लो लाग्न थाल्यो। एउटै उद्देश्य पालेर गएका उनले आफ्नो उद्देश्यभन्दा ठुलो जागिर ठानेनन्। छोडेर हिँडे।
सशस्त्रको छनोट समितिले गरेको व्यवहारबाट टुटेका सुनिल फुटबलमा टुटेका थिएनन्। फर्किएर जुम्लामै खेल्न थाले। पछि धरानमा भएको नवौँ राष्ट्रिय खेलकुदमा सुनिल छनोटमा परेका थिए। तुलसीपुरमा पनि खेले। तीनवटा राष्ट्रिय खेल खेलेका सुनिलको ए डिभिजन लिग खेल्ने सपना अधुरै रह्याे।
‘पहिला स्थानीयस्तर हुँदैन क्षेत्रीय खेल हुन्थ्यो। हामी नेपालगञ्ज खेल्न जान्थ्यौँ,’ उनले भने, ‘अहिले खेल नै हुँदैनन्। खेलाडी छनोटमा पर्ने सम्भावना नै रहेन। क्षेत्रीय खेल भएन भने जुम्लाबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा कोही पनि सामेल हुन पाउँदैनन्।’
जुम्ला नेपालगञ्ज र सुर्खेतका बलिया टिमलाई टक्कर दिन्थ्यो। सुनिल, राजबहादुर खत्री, केशव हमाल, खड्गी कट्टेल, रुविन भण्डारी, लक्ष्मी महतलगायतको बलियो टिम थियो। त्यसैले जुम्लाको फुटबलको उचाइ थियो। सुनिलले सम्झे, ‘राजबहादुर खत्री, केशव हमाल र म पहिलोपटक राष्ट्रिय खेल खेल्ने खेलाडी हौँ। पछि लक्ष्मी महत पनि छनोट भए।’
छनोटमा पर्नु र सेटमा खेल्नु फरक कुरा हुन्। उनी केही समय खेल्न पाउँथे। तर, त्यहाँ पनि पावर लाउनुपर्ने स्थिति देखेपछि उनलाई उदेक लाग्यो। समग्र देशकै खेल क्षेत्रको विकास हुन नसक्नुको कारण प्रतिभाभन्दा पनि पावर हेरिने हुनाले हो।
सबैतिरबाट उदेक लाग्दै गएपछि उनी २०७४ सालमा पुन: सरकारी सेवामा प्रवेश गरे। वन रक्षकबाट सेवा सुरु गरेका उनी अहिले सहायक लेखापाल छन्। यो जागिर उनले फुटबल टोलीमा समावेश हुन पाउने आशले सुरु गरेका थिएनन्।
तीनवटा प्रतियोगिता लगातार जितेको सुनिलको टिम जुम्लामा हाई-हाई थियो। उनको टिमका साथीहरु जागिर र आ-आफ्नो पेशा व्यवसायमा लागिसकेपछि अब त्यो टिम कमजोर भइसक्यो। उनका साथीहरु बेलामौकामा खेलिरहेका छन्।
अब भने सुनिललाई जुनियर टिमका साथीहरुलाई समय दिनुपर्छ भन्ने लागेको छ। जागिरपछि उति समय हुँदैन। लेखामा हुँदा त झन् कयौँ समस्या छन्। बेफुर्सदिलो समयमा खेलको आशा राख्नु पनि भएन।
त्यसमाथि उनी अहिले रौतहटको गौरमा छन्। मधेसतिर भारतको प्रभाव बढी भएर होला जम्मै क्रिकेटमात्रै खेलिन्छ। उनले त्यहाँ फुटबल खेल्न पाउने कुरा पनि भएन। अब बिस्तारै उमेर पनि छिप्पिँदैछ। नयाँ खेलाडीलाई उत्साहित गराउने उनको सोच छ।
जुम्लामा फुटबलको राम्रो क्रेज छ। तर, खेल संस्कृतिको विकास अझै हुन सकेको छैन। तर, एन्फा अझै प्रभावकारी भइसकेको छैन।
अन्तिममा उनले भने, ‘अब भाइहरुलाई राम्रो गराउने सोच छ। रेफ्री ट्रेनिङ लिने सोचेको छु। त्यसपछि कोच गर्ने र खेलाउने गर्दै फुटबलका निम्ति केही गर्न सकिन्छ कि। ए डिभिजन लिग खेल्ने सपना त टुटिसक्यो। मैले कोच गरेको कोही खेलाडी ए डिभिजनमा पुग्यो भने आफ्नो सपना पूरा भएको ठान्नेछु।’
यथार्थ जिबनको भोगाई बास्तबमा हाम्रो समाज अनि नेपालमा राम्रो क्षमतावान खेलाडी होइन पावर र पहुच सङ्ग सम्बन्धित खेलाडी को मात्र सिट सिमित छ तेसैलेत खेललाइ नि जीवन समर्पित गर्ने शुनिल थापा जस्ताले अवसर पाउन सकेका छैनन मात्र पावर पहुँच हुनेले मात्र खेल्न पाउने हुदा पो नेपाल को खेल क्षेत्र खुकुलो अनि खुस्किदै गयको भन्ने लाग्छ मलाइ
सम्बन्धित निकाय को गम्भीर ध्यान्नकर्सण हुन जरुरी छ राज्य सम्पुर्ण सपना देख्ने खेलाडि को सपना पुर्ती गर्न तत्पर हुनुपर्दछ "राम्रालाइ प्रथामिक्तामा राखौ हाम्रालाइ भन्दा" खेल जगत को जय होस्🙏