शेयरबजार बुलिश ट्रेण्डमै, दोस्रो त्रैमासको अन्तिम दिन नयाँ रेकर्ड बनाएर बन्द

बिएल संवाददाता

काठमाडाै‌ं

शेयर बजारले पुस महिनाको अन्तिम दिन नेप्से सूचकले १८.८१ अंकले बढेर २२८६.५५ विन्दुको नयाँ रेकर्ड बनाएको छ। यस दिन झण्डै ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

२०७ वटा कम्पनीको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता शेयर ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँमा खरिद बिक्री भएको हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमास पनि विदा हुँदैछ । मसान्तको दिन पनि बजार आकर्षक हिसाबले वृद्धि भएको छ । 

नेप्से सूचक र खरिदबिक्री रकममा पनि सकारात्मक माहोल देखिएको छ । अधिकांश सूचक सकारात्मक रहँदा विशेषगरी फाइनान्स, उत्पादनमूलक, माइक्रोफाइनान्स र बीमा समूहहरुमा अधिक तेजी देखिएको छ । 

पछिल्लो केही दिनयता बैंकिङ समूहको सूचक उकालो लाग्दै आएकोमा बुधबार भने फाइनान्स र उत्पादनमूलक उपसमूहको सूचक उच्च दरले बढेको छ। 

लगानीकर्ताले बैंकिङ छोडेर उत्पादनमूलक र फाइनान्स कम्पनीहरुको शेयर खरीद बढाएको देखिन्छ। यस्तै, माइक्रोफाइनान्स उपसमूहमा पनि लगानीकर्ताको आकर्षण बढेको छ। यस दिन बैंकिङ उपसमूहको सूचक भने ०.१८ प्रतिशतले घटेको छ।

पछिल्ला दिनहरुमा सेयर बजारमा चमक आइरहेको छ । माघदेखि ब्याजदर थप घट्ने भएको छ । सोही अनुसार बैंकहरुको आधार दर घट्दै गएको देखिएको छ । बैंकहरुले ब्याजदर घटेको सूचना पनि धमाधम सार्वजनिक गरिसकेका छन् । यसबाट आगामी दिनमा बजार अझै सकारात्मक बन्ने अनुमान गरिएको छ ।

बजार बुलिस चक्रमा हिँडिरहेको छ । यो चक्रमा बजारको वृद्धिक्रम बढी हुने गर्छ । घटबढ हुँदै बजार अघि बढ्ने भए पनि प्रतिशतमा हेर्दा वृद्धिक्रम अधिक हुने गर्छ । बुल रनको विशेषता यही हो । बुल रनलाई न्यून विन्दुको ब्याजदरले सहयोग गरेको छ । 

बुधबार कारोबारमा आएकामध्ये १२ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने आरम्भ चौतारी, फर्स्ट माइक्रोफाइनान्स, इन्फिनिटि लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक लगायताको १२ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

उता मल्टिपर्पस फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ भने महिला सहयात्रा माइक्रोफाइनान्सको ३.८२ प्रतिशत, नेपाल एसबिआई बैंकको ३.७२ प्रतिशत, सिभिल बैंकको १.७९ प्रतिशत र नेपाल इन्स्योरेन्सको १.४६ प्रतिशतले घटेको छ।

नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै २६ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २० करोड ७२ लाख, अपर तामाकोशीको १८ करोड ४९ लाख, शिवम् सिमेन्टको १६ करोड ३६ लाख र एनआइसी एशिया बैंकको १५ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएकामध्ये १२९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३८ वटाको शेयरमूल्य घटेको छ। ८ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

प्रकाशित मिति: : 2021-01-13 16:04:00

प्रतिकृया दिनुहोस्