परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणासहित किम जोङ्ग–उनले मनाए जन्मदिन

 उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्नो जन्मदिन मनाएका छन्। किमले आफ्नो जन्मोत्सवमा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा गरेका छन्।

पछिल्लो पाँच वर्ष यताकै ठूलो राजनीतिक कार्यक्रममा सैन्य योजना सार्वजनिक गरिएको जनाइएकाे छ। उत्तर कोरियाले थप परिष्कृत लामो दूरीमा मार हान्न सक्ने मिसाइल, सुपर लार्ज वारहेड्स, गुप्तचर स्याटेलाइट तथा परमाणु शक्तियुक्त सबमरिनसहितका हतियार बनाउने घोषणा गरेकाे छ।

यता न्यूक्लियर सबमरिन बनाउने योजना लगभग पूर्णता पाउने अवस्थामा पुगेको उनले बताएका छन्।

नेता किम उत्तर कोरियाको सत्ताधारी वर्कर्स पार्टीको सर्वोच्च पद महासचिवमा बढुवा भएका छन्।

अमेरिकाको राष्ट्रपतिमा जो वाइडेनले शपथ लिने तयारी गरेका बेला उत्तर कोरियाको यस्तो घोषणा आउनुलाई थप अर्थपूर्ण रुपमा लिइएको छ। यता उनले यसअघि 
अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताएका थिए। 

सत्तामा जो नै आए पनि अमेरिकाले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताएका थिए।

आउँदै गरेको अमेरिकी नयाँ प्रशासनमाथि दबाब बढाउनका लागि किमले यस्तो टिप्पणी गरेको विश्लेषकले बताएका छन्।

किमको महत्वकांक्षी परमाणु योजनालाई अघि बढ्नबाट रोक्नका लागि बाइडेन प्रशासनले चाँडो भन्दा चाँडो काम गर्नु पर्ने विश्लेषकले बताएका छन्।

प्रकाशित मिति: : 2021-01-12 08:08:00

प्रतिकृया दिनुहोस्