गृह मन्त्रालयले महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई निलम्बन गरेकाे छ।
प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो। सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न उनलाई निलम्बन गरिएको हो।
शर्मालाई निलम्बन गरिएसँगै छानविनका लागि छुट्टै समिति बनाउने तयारी छ। कलंकीमा भएको एक दुर्घटनामा अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रियालाई लम्ब्याएको अभियोग शर्मामाथि छ।
मंसिर २६ गते नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रकले चन्द्रगिरी नगरपालिका १५ कलिका पेट्रोलपम्प नजिक बस, स्कुटि, मोटरसाइक र ट्याक्सी आदि सवारी साधनलाई ठक्कर दिएकाे थियाे।
ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियाे। एक जनाकाे भने त्यसकाे दुई दिनपछि मृत्यु भएकाे थियाे। दुर्घटनामा अरु ४ जना घाइते भएका थिए।
त्यसवापत उनले हिरासतमा रहेका व्यक्तिका निकटस्थसँग रकम लिएको आरोप लगाइएको थानकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठकाे आराेप छ।