काठमाडाैंमा वायुको गुणस्तर ४०० एक्युआई भन्दामाथि, घर बाहिर ननिस्कन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक नगर्न आग्रह गरेको छ ।काठमाडौं उपत्यकामा वायु प्रदूषण खतराको तहमा पुगेको भन्दै मर्निङवाक नगर्न आग्रह गरिएको हो।

खराब मौसम, आगोबाल्दा निस्कने धुँवा, डढेलो, सवारी प्रदुषण, उत्तरी भारतबाट भित्रिएको औद्योगिक प्रदूषण जस्ता कारणले काठमाडौं उपत्यकामा वायुको गुणस्तर खतराको तहमा पुगेको छ।

‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं’, मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

घरबाहिर निस्कँनै पर्ने अवस्थामा मास्कको उचित प्रयोग गर्न अनुरोध गर्दै मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न आग्रह गरेको छ।
 
प्रदूषण कायम रहँदासम्म बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास र मुटुको समस्या भएका बिरामीलाई सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ।

अपिलमा भनिएको छ, ‘केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको छ। यसले श्वासप्रश्वासमा कठिनाई लगायत विविध स्वास्थ्य समस्या देखा पर्दछ।’

अपिलमा हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरी धुलो, धुँवा उड्ने पेशा, व्यवसाय, निर्माण कार्य केही दिनलाई रोक्नसमेत अनुरोध गरिएको छ।

सोमबारदेखि घाम नलाग्दा काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको हो। बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको छ। सोमबार र मंगलबार वायुको गुणस्तर ४०० एक्युआई भन्दामाथि पुगेको थियो ।

काठमाडौं उपत्यका बाहेक तराई क्षेत्रका सहरहरूमा पनि वायु प्रदूषणको मात्रा उच्च देखिएको छ। नेपालगञ्ज, विराटनगरसहितका सहरमा वायु प्रदूषण उच्च रहेको छ।

प्रकाशित मिति: : 2021-01-05 19:20:00

प्रतिकृया दिनुहोस्