नेपाल विद्युत् प्राधिकरणले कुनै पनि प्रकारको लोडसेडिङ नभएको र लोडसेडिङ गर्नुपर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ।
केही दिनदेखि प्राधिकरणले विभिन्न स्थानमा सूचना जारी गरेरै घन्टौंसम्म लाइन बाट्न थालेपछि आम जनतामा फेरि लोडसेडिङ फर्किएको हो कि भन्ने चिन्ता थपिएको बेला प्राधिकरणको यस्तो विज्ञप्ती आएको हो।
तर प्राधिकरणले कुनै पनि प्रकारको लोडसेडिङ गर्नुपर्ने अवस्था अहिले नरहेको प्रष्ट्याएको हो।
बिहीबार एक विज्ञप्ती जारी गर्दै अहिले लाइन जाने समस्या छोटो समयको लागि भएको आपूर्ति अवरोध मात्रै भएको जनाइएकाे छ।
प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जारी गरेको विज्ञप्तीमा राष्ट्रिय विद्युत् प्राणालीमा भारवहन भन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपूर्ति अवरोध लोडसेडिङ नभएको जनाइएकाे छ।
प्रसारण प्राणालीमा अधिक भार हुँदा, पोलहरु सार्ने, ट्रान्सफर्मर प्रतिस्थापन गर्ने, वितरण प्रणालीमा पुराना संरचना मर्मतसम्भार गर्ने कार्य हुँदा र प्राकृतिक वा आकस्मिक समस्या हुँदा विद्युत् प्रसारण रोकिनसक्ने भन्दै यसलाई लोडसेडिङ भन्न नमिल्ले तर्क प्राधिकरणको छ।