माइनस २० डिग्रीमा सिमा सुरक्षा गर्दै सशस्त्र प्रहरी, लकडाउनमा ७६ वीओपी स्थापना

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले नेपाली सिमानको सुरक्षाको लागि देशसँग सिमाना जोडिएका देश चीन र भारतको बोर्डरमा आउट बोर्डर पोष्ट (वीओपी)हरुको संख्या बढाइरहेको छ।

हिजो (२०७७ मंसिर २९ गते)सम्म चीनतर्फको सिमानामा ७ वटा वीओपी र भारततर्फ १८८ वटा वीओपी स्थापना गरेको छ।

पछिल्लो समयमा कालापानी र लिपुलेखको विषयलाई लिएर भएको विवाद भारतसँग बढ्दै गएपछि नेपालले आफ्नो सिमा सुरक्षाको लागि देशभरमा ५ सय वटा  विओपी स्थापना गर्ने जसमा चीनसँगको जोडिएको सिमानामा १८ वटा बनाउने लक्ष्य लिएको छ। 

त्यसै अनुसार अहिले देशमा विभिन्न सिमानाहरुमा विओपी स्थापना भइरहेका छन्। 

नेपालको सबैभन्दा होचो ठाउँमा रहेको जिल्ला झापादेखि उच्च हिमाली सिमानासम्म वीओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्ना कर्मचारीलाई सिमा सुरक्षामा खटाएको छ।

‘नेपाल सरकारको लक्ष्य अनुसार दक्षिणी सिमानादेखि उत्तरको उच्च हिमाली सिमानामा अहिले २४ सै घण्टा डिउटीमा खटिने गरि हामीले बल खटाएका छौं,’ सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) राजु अर्यालले बिएल नेपाली सेवा भने, ‘उत्तरी क्षेत्रमा निकै चिसोका बाबजुत पनि हामीले हाम्रा फौजालाई देशको सुरक्षाको निमित्त उच्च मनोबलका साथ खटाएका छौं।’

चीनको सिमानामा सबैभन्दा पहिलो वीओपी ३२ सय मिटर माथि रहेको संङखुवासभा भोटखोला गाउँपालिका १ किमाथांकामा २०७६ पुष २९ स्थापना भएको थियो जसको २०७७ कार्तिक  २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। 

यस्तै ३२ सय मिटरमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा असोज २१ गते, ४ हजार मिटरको उचाईमा रहेको मुस्ताङको लोमाङथाङ गाउँपालिका–४ नेचुङमा यहि जेष्ठ १५ गते, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाको तातोपानी नाकाको १७ सय मिटरको उचाईमा यहि भदौं १ गते, २०७० मिटरको उचाइमा दोलखाको बिगुँ गाउँपालिका १ लामाबगरमा असोज २८ गते, १७१० मिटरको उचाईमा रसुवाको गोसाइकुण्ड गाउँपालिका २ टिमुरेमा भदाैं१ गते, र ३६३० मिटरको उचाईमा हुम्लाको नाम्खा गाउँपालिका ५ हिल्सा नाकामा असार ६ गते वीओपी स्थापना भएको एसपीएफले जनाएको छ।

भारतसँगको कालापानी र लिपुलेक विवाद पछि दार्चुलाको व्यास गाउँपालिका २ मा वीओपी स्थापना गरेर सिमा सुरक्षा गर्दै आएको छ। 

कोरोना भाइरसको संक्रमणका कारणले भएको बन्दाबन्दी अर्थात लकडाउनको समयमा पनि सशस्त्रले ७६ वीओपी स्थापना गरेको छ। भारतसँग सिमा जोडिएको क्षेत्रमा ७० वटा र चीनसँग सिमाना जोडिएको नाकामा ६ वटा वीओपी स्थापना भएको सशस्त्रले जनाएको छ।

माइनस २० डिग्री चिसोमा सिमा सुरक्षा

माइनस २० डिग्री चिसोमा अहिले एपीएफले वीओपी स्थपना गरेर सिमानाको सुरक्षा दिइरहेको छ। किमाङथाङका नाकामा आज (मंसिर ३०) गते माइनस २० डिग्री तापक्रमा सुरक्षा दिइरहेको एसपीएफले जनाएको छ।

अहिले हिमाली जिल्लाको अधिकांश ठाउँहरुमा हिमपात भइरहेको छ। त्यहाँ माइनस २० डिग्रीसम्म चिसोमा आफ्ना जवानहरुले डिउटी गरिरहेको एसपीएफ प्रवक्ता अर्यालले बताए।

‘अहिले उत्तरी क्षेत्रको किमाथानकामा रातीको समयमा २० डिग्रीसम्म जाडो हुने गरेको रिपोर्ट त्यहाँ भएका इन्चार्ज दिइरहेका छन्,’ डीआइजी अर्यालले भने, ‘अन्य हिमाली जिल्लाका वीओपी क्षेत्रमा पनि हिमपातका कारण निकै चिसोमा पनि सुरक्षा दिइरहेका छन्।’

खाद्यन्न र उपचारमा खठिनाई

चीनसँग सिमा जोडिएका विओपीहरुका खाद्यन्न ढुवानी र उपचारको लागि कठिनाई छ। भौगोलिक कठिनाईले गर्दा ६ महिना अगाडि खाद्यन्न किनेर राख्ने गरेको सशस्त्र प्रहरीले जनाएको छ। कुनै जवानहरु विरामी भएको खण्डमा उपचारको लागि कठिनाइ हुने गरेको छ।

‘कतिपय हिमाली क्षेत्रका वीओपीहरुबाट यदि कोहि विरामी भयो भने उपचारको लागि पैदल ३ दिन हिँडेर ल्याउनु पर्ने बाध्यता छ,’ प्रवक्ता अर्यालले भने, ‘चिसोमा विरामी भयो भने हेलिकप्टर पनि जानको लागि त्यति सहज छैन।’ 

तर पनि सुरक्षाको निम्ती आवश्यक परेको खण्डमा हेलिकप्टरबाट भएपनि उपचार र खाद्यन्नको परिपूर्ति गर्नको लागि सशस्त्र तयार रहेको अर्यालले बताए।

हिमाली क्षेका वीओपीमा कार्यरत कर्मचारीको लागि दैनिक ४ हजारसम्मको खाद्यन्नको स्केल रहेको छ। 

सबैभन्दा माथि रहेको किमाथानकामा मासिक १२ हजार अर्थात ४ हजार खानाको स्केल रहेको सशस्त्रले जनाएको छ। यसका अलवा हिमाली ज्याकेट, बुट, पञ्जा लगायतका सामाग्रीहरुसमेत उपलब्ध गराएको छ।

भने तराईका क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीले दैनिक २५२ रुपैयाँका दरले खाद्यन्न पाइरहेको सशस्त्रले जनाएको छ।

तर पनि हिमाली जिल्लाहरुका स्थापना हुने वीओपीहरुमा चिसोको समयमा सशस्त्र प्रहरीहरु बस्नको लागि जाडोसँग बच्नको लागि आवश्यक पर्ने लत्ता कपडा लगायतका सामाग्रीहरुको आवश्यकता भएको सुरक्षा विज्ञहरु बताउँछन्।

भौतिक संचरनाको अभाव

कतिपय वीओपीहरुमा भौतिक संचरनाको अभाव छन्। पहिले नै स्थापना भएका वीओपीहरु पनि भाडाको भौतिक संरचनामा बसिरहेको सशस्त्रले जनाएको छ। अहिले पनि तराईका कतिपय जिल्लाहरुमा पालमुनि बसेर सिमाको सुरक्षा गरिहेका छन्।

सशस्त्र प्रहरीका अनुसार हालसम्म ४९ वटा वीओपीको मात्रै आफ्नौ जग्गामा भौतिक संरचना छ। १४६ वीओपीहरु भाडामा बसिरहेका छन्। वातावरण र ठाउँ अनुसारको भौतिक संरचना नहुँदा डिउटी खटिन अफठ्यारो परेको सशस्त्रका एक उच्च अधिकारीले बताए।

‘धेरै जसो वीओपीको भौतिक संरचना आफ्नो छैन जसले गर्दा जवानहरुर्ला आरामसँग बसेर गस्त गर्न पाएका छैनन,’ ती अधिकृतले भने, ‘दिउँसो भरी डिउटी गर्यो राती सुत्नको लागि राम्रो ठाउँ छैन्।’

हिमाली क्षेत्रका वीओपीहरु भरखरै स्थापना भएकाले आफु अनुकुलका भौतिक संरचना नहुँदा जाडोमा डिउटी गर्न निकै कठिनाई रहेको ती अधिकृतले बताए।

अफठ्यारो वीओपीमा खटिने प्रहरीलाई फोन गरेर हौसला

अफठ्यारो ठाउँमा स्थापना भएको वीओपीका जवानहरुलाई फोन गरेर हौसला दिइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

‘प्रतिकुल मौसम कारणले डिउटी गर्न कठिनाई भएका क्षेत्रमा दैनिक जसो फोन गरेर हौसला दिने गरेका छौं,’ प्रवक्ता अर्यालले भने, ‘जसले गर्दा उनीहरुको मनोबल उच्च हुन्छ भन्ने हाम्रो विश्वास छ।’

यसले गर्दा प्रधानकार्यलयले आफुहरुको अवस्थालाई नजिकैबाट नियालीरहको महसुस गर्ने अर्यालले बताए।

सुरक्षित महसुस गरेका छौं स्थानिय 

हिमाली क्षेत्रका बासिन्दाले वीओपी स्थापना भएपछि सुरक्षित महशुस भएको बताएका छन्।  विषेश गरेर चीनसँगको सिमाना जोडिएका उत्तरी क्षेत्रका बासिन्दाहरुलाई चीन तर्फको हेपाह प्रवृति र चोरीले गर्दा आजित भएको स्थानिय अहिले  सुरक्षित भएको महशुस गरेको बताएका हुन्।

‘एसपीएफ आएपछि स्थानियहरुले हामीले सुरक्षित महसुस गरेको हामीले पाएका छौं,’ भोटाखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत फुर्पु भोटेले लोकान्तसँग भने, ‘१ सय घरधुरी भएका त्यहाँका बासिन्दाले सहज भएको हामीहरुसँग प्रतिकृया दिनुहुन्छ।’

सोही गाउँपालिकाकी उपाध्यक्ष पान्जम भेच्यावा भोटेले सशस्त्र प्रहरी आइसेकपछि चोरी आजित भएका स्थानिय खुशी भएको पाएको बताएकी छन्।

‘अहिले स्थानिय खुसी हुनुहुन्छ किनकी त्यहाँ एसपीएफ आउँदा चोरीका घटनाहरु नभएको बताउनुहुन्छ,’ उपाध्यक्ष भेच्यावा भोटेले बिएल नेपालीसँग भनिन्।

हिमाली जिल्लामा स्थापना भएका वीओपी नजिकैका स्थानियहरुले जाडो महिनामा बस्न सकिँदो रहेछ, अर्को बर्षदेखि हामी पनि बस्छौं भन्ने खालका प्रतिक्रिया आउने गरेको उनले बताए।

प्रकाशित मिति: : 2020-12-25 06:35:00

प्रतिकृया दिनुहोस्