सरकार ‘भष्मासुर’ बनेर देश र लोकतन्त्रको अस्तित्व बर्बादीतर्फ लग्याे: नेता केसी

नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेकपा सरकार ‘भष्मासुर’ बनेर देश र लोकतन्त्रको अस्तित्व बर्बादीमा धकेलिरहेको आरोप लगाएका छन्।

कांग्रेसले सोमबार बागलुङमा गरेको विरोध र्‍याली र सभामा बोल्दै नेता केसीले भने, ‘निर्वाचित भस्मासुरहरुले देश र व्यवस्थालाई नै धरापमा पारेका छन्। जनताको मत लिएर लोकतान्त्रिक पद्धति सिध्याउने काम सरकार र नेकपाका नेताहरुले गरेका छन्।’

उनले नेकपा सरकारकै कारण लोकतन्त्र र गणतन्त्र नै धरापमा परेकोसमेत आरोप लगाए।

‘फरक विचारलाई शत्रु ठान्ने कम्युनिष्टबाट लोकतन्त्र र गणतन्त्र, बहुदलीय व्यवस्था र बहुलबाद नै खतरामा पर्‍यो,’ उनले भने।

यस्तै भ्रष्टाचारलाई सरकारी संरक्षण भएको समेत बताए। ‘सेक्युरिटी प्रिन्टिङ प्रेस, वाइडबडी, ओम्नी र यति समूह, बुढीगण्डकी जलविद्युत आयोजना लगायतका दर्जनौं विषयमा भ्रष्टाचारलाई सरकारी संरक्षण भएको केसीको आरोप छ,’ उनले भने।

यता तनहुँमा भएको घटनामा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको अभद्र व्यवहारले कांग्रेस जाग्‍ने एउटा निहुँ बनेको बताए। 

‘यसअघिका दर्जनबढी घटनामा कांग्रेस कार्यकर्तामाथि सरकारी आक्रमण भएको छ। कांग्रेसका जिल्ला सभापति, महासमिती सदस्य र केन्द्रीय सदस्य सम्मलाई सरकारी तहबाट आक्रमण भएको थियो।

उनले पौडेलमाथि आक्रमणको घटनामा भिजिलान्ते र प्रशासन पनि प्रयोग गरेर सरकारले लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाए। 
 

प्रकाशित मिति: : 2020-12-14 16:29:00

प्रतिकृया दिनुहोस्