शेयरबजारमा रौनक, नेप्से सूचक सोमबार ५६.७२ अंकले बढेर २०६७.१७ विन्दुमा

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजार बुलिस प्रवृत्तिमा अघि बढेको छ। नेप्से सूचक सोमबार ५६.७२ अंकले बढेर २०६७.१७ विन्दुमा पुगेको छ। 

विशेषगरी बिमा, व्यापारिक, उत्पादनमूलक र अन्य समूहमा व्यापक तेजी आएको छ। यसमध्ये पनि जीवन बिमा समूहमा व्यापक वृद्धि देखिएको छ। 

२०२ कम्पनीको ७ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १ करोड २८ लाख ८८ हजारभन्दा बढी कित्ता कारोबार भएका छन्। हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन्।

एक साताको करेक्सनपछि नेप्सेसूचक फेरि ऐतिहासिक उचाई तय गर्ने क्रममा अघि बढेको छ। नेप्से सूचक आइतबार नै २००० विन्दुभन्दा माथि अडिएको थियो। 
त्यसपछि सोमबार लगानीकर्ताको आत्मबल थप उच्च भएको पाइएको हो। बैंकहरुले शेयर कर्जा प्रवाह गरिरहेका छन्। कर्जाको ब्याजदर सस्तो छ। बैंकहरुले धमाधम मुद्दति निक्षेपको समेत ब्याजदर घटाउन थालेका छन्।

बजारले लामो अवधिको वियरिस चक्र पूरा गरेको छ। शेयर बजारसम्न्धी नीतिनियमहरु निकै सुधारउन्मुख छन्। यस्तो बेलामा बजार बढ्नुलाई अन्यथा मान्न नहुने विश्लेषकहरु बताउँछन्।

सोमबार व्यापारिक, जीवन बिमा, निर्जीवन बिमा, उत्पादनमूलक तथा अन्य समूहमा धेरै तेजी आएको छ। करिब १ दर्जन कम्पनीको भाउ सर्किट लाग्ने तहमा बढेको छ।

नेपाल लाइफ, नेपाल पुनर्बिमा तथा नेसनल लाइफ अत्याधिक बढी कारोबार हुनेमा परेका छन्।

प्रकाशित मिति: : 2020-12-14 16:02:00

प्रतिकृया दिनुहोस्