शेयरबजारमा पुन: फर्कियो रौनक, नेप्से ७२.२८ अंकले बढेर २००० विन्दुमाथि

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारमा फेरि एकाएक रौनक फर्किएको छ। पुँजी बजारमा सोमवार नेप्से सूचक ७२.२८ अंकले बढेर २००४.३९ विन्दुमा पुगेर बन्द भएको छ। 
आइतबार नेपाली पुँजी बजारको इतिहासमै सर्वाधिक १२३ अंकको गिरावट आएपछि आम लगानीकर्ता आत्तिएका थिए।

सोमवार बजार खुल्दा सुरुमा निकै उतारचढाव देखिएको बजार विस्तारै लयमा फर्किएको छ। केन्द्रीय बैंकले सेयर धितो कर्जामा पुनरावलोकन गर्ने भनेपछि लगानीकर्ता एकाएक झस्किएका हुन्।

लगानीकर्ताहरुसँगको भेटमा फेरि केन्द्रीय बैंकले सरोकारवालाहरुसँग छलफल नगरी कुनै पनि निर्णय नलिने आश्वासन दिएको छ। यसबाट फेरि लगानीकर्ताको आत्मबल वृद्धि भएको हो। 

यता, केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामा उल्लेख गरेका विषयमा संघीय संसद्को अर्थ समितिले समेत चासो राखेको छ।अर्थ समितिले गभर्नरलाई समेत छलफलको लागि बोलाएको छ। 

नेप्से सूचक ७२.२८ अंकले बढेर २००४.३९ विन्दुमा आइपुगेको छ । २०६ कम्पनीको   ६ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड १९ लाखभन्दा धेरै कित्ता कारोबार भएको छ । खरिदबिक्री भएका सबै समूहको सूचक वृद्धि भएका छन् । बिमा, उत्पादनमूलक, व्यापारिक, हाइड्रोपावर लगायतका समूहका सूचकहरुमा धेरै तेजी आएको छ ।

आधा दर्जन कम्पनीको भाउ सर्किट लाग्ने गरी बढेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसको १ अर्ब भन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स तथा नेपाल टेलिकम परेका छन् । 
 

No description available.

No description available.

प्रकाशित मिति: : 2020-12-07 15:21:00

प्रतिकृया दिनुहोस्