हाम्रो परिवार २३ जनाको ठूलो थियो, जतिबेला म ९ वर्षको थिएँ। परिवारलाई वर्षभरी पुग्ने नुन एकैपटक किन्ने चलन थियो। किनभने, सिन्धुलीको गोलञ्जोर—२ वितिजोर हर्कपुर घरबाट नजिकको बजार सिराहा जिल्लाको गोदार चिसापानी पुग्न ३ दिन लाग्थ्यो भने फर्कन ४ दिन। हाम्रो परिवारलाई मात्र त्यतिबेला वर्षको २२ पाथी नुन चाहिन्थ्यो। प्रायः दशैं र तिहारको बीचमा, कहिलेकाहिँ तिहारपछि नुन लिन झर्ने चलन थियो। पहिलो पटक नुन लिन चिसापानी झर्दा म ९ वर्षको थिएँ।
बुबा र मसहित हाम्रो टोलीमा १३ जना थियौैं । तीमध्ये अरु ३ जना आफ्नै लागि नुन लिन हिँडेका थिए भने बाँकि हाम्रो भरिया बनेर। जंगली जनावर तथा अज्ञात शत्रुको डरले त्यसबेला एक्लै दुक्लै गाउँबाट ननिस्किइने हुँदा त्यसरी नै हुलमा हिँड्ने चलन थियो। नुन बोक्ने भरियालाई त्यो बेला दिनको चारमाना च्याख्ला (मकै दरालेर टुक्रा पारिएको) वा पिठो दिने चलन थियो। रोजगारको अभाव हुँदा त्यति ज्यालामा पनि नुन बोक्न जानेको अभाव हुदैनथ्यो। बाटोमा भारीका मालिकसँगै खाना पाउँनेहुँदा भरियाको ज्याला सबै बच्थ्यो।
हामी सबैले फापर भरेको जुटको बोरा डोकोमा बोकेर हिँडेका थियौं। म पहिलोपटक नुन बोक्न तराई झर्दै थिए। अरुको डोकामा ८—९ पाथी फापर थियो, मेरोमा ४ पाथी थियो। फापरसँग नुन, मट्टितेल, सुर्ती साट्ने चलन थियो। ब्यापारीले एक पाथी फापरको कहिले ३ त कहिले ४ पाथीसम्म नुन दिन्थ्यो। फापरको पिठोको रोटी वा ढिडो बन्ने हुँदा ब्यापारीहरुले अरु अन्नभन्दा नुनसँग साट्न फापर मन पराउँथे।
फापरमाथि, भुटेको मकैको सातु, भुटेको मकै—भटमास, मकैको च्याख्ला, गुन्द्रुक, पकाउने र खाने हलुका भाँडाकुँडा बोकेका थियौं । त्यति मान्छेलाई बास दिने घर नपाइने हुँदा रातीका लागि ओड्ने बर्काे पनि हामीसँग थियो। एक दिन गोठको आडमा र दुई दिन रुखको आडमा रात बिताएर तेश्रो दिन बेलुका हामी चिसापानी पुग्यौं।
दोहोरो लाइन घर भएको बजारमा पसलहरुको अगाडी नुनका बोराहरुको उरुङ राखिएका थिए। बजारको बीचमा टट्टु (साना घोडा)हरु ओहोरदोहोर गरिरहेका देखिन्थे । त्यहाँ पनि गाडी नचल्ने/नआउने हुँदा दक्षिणबाट नुनसहित अरु सामान बोकेर ल्याउने साधन तिनै टट्टु थिए। त्यहाँ कहाँबाट नुनलगायत सामान ल्याउँथे भन्ने हामीलाई थाहा थिएन। सायद, जनकपुर वा भारतको कुनै बजारबाट त्यहाँ सामान आउथ्यो होला।
बुबासहित हाम्रो समुहका ठूलाबडाले चिनेका साहुसँग फापर—नुन सट्टाको कारोवार गर्नुभयो। नुन, मट्टितेल, सुर्तीको जोहो गरेपछि हामी बेलुकाको खानाको बन्दोबस्तीमा लाग्यौं। तीनवटा ठूला ढुङ्गाको तीन चम्कोको बीचमा दाउरा राखेर झुलोमा चकमक (त्यो बेला सलाई वा लाइटर नपाइने हुँदा फलामको सानो चक्कु जस्तो तर धार नभएको कर्द र दर्शन ढुङ्गा ठोक्काइन्थ्यो र त्यसबाट निस्किेको झिल्काले कपासमा आगो लाग्थ्यो) ले आगो सल्काएपछि एकै छिनमा ढिडो र गुन्द्रुकको खाना बन्यो। खानापछि साहुकै पसल बाहिर गुन्द्रीमा हामीले नै ल्याएका ओड्ने ओडेर सुत्यौं।
भोलिपल्ट बिहानै हिँडेर चौथो दिनमा हामी घर पुगेका थियौं। नुनको भारी गह्रौ हुने तथा फर्कदा बाटो उकालो पर्ने हुँदा जाँदाभन्दा फर्कदा एक दिन बढि समय लाग्थ्यो। घरदेखि चिसापानीबीचमा कतै पसल, होटल थिएनन्। बस्ती पातला थिए। ती बस्तीमा पनि त्यत्रो हुललाई खुवाउन, बसाउन सक्ने हैसियत कमैको हुन्थ्यो। त्यसैले खाना खाने बेला भएपछि पानी भएको ठाउँ पारेर तीनचम्का जोडेर खाना पकाइन्थ्यो। अनि, आगो बालेरै त्यसैको वरिपरि आफूले ल्याएका ओड्ने ओडेर सुतिन्थ्यो।
त्यसपछि अनेक पटक नुन लिन गइयो। पछिल्लो समय बजार नजिक सर्दै आएकाले चिसापानी पुग्नुपरेन। सिन्धुलीको भीमानमै नुनलगायत सामान पाइनथाल्यो। घरबाट भीमान एक दिनमै पुगिन्थ्यो भने नुनको भारी बोकेर फर्किदा पनि दुई दिनमै घर आइपुगिन्थ्यो। र, त्यसरी एक्लै—दुक्लै नुन लिन जान सकिने अवस्था आएपछि आफन्तको घर वा ओहोरदोहोर गर्दा चिनेका मान्छेको घरमा बास पाउन थालियो। त्यसरी बास पाइनथालेपछि एक्लै दुक्लै हिँड्न अरु सजिलो भयो।
मैले थाहा पाएदेखि हाम्रो घरमा नुनको अभावमा बिलिनो खानुपरेको सम्झना छैन। वर्षभरी पुग्नेगरी एकै पटक नुन ल्याइने हुँदा छिमेकीलाई समेत पैंचो दिनपुग्नेगरी हाम्रो घरमा नुन हुन्थ्यो। अन्नपात कम हुनेले पर्याप्त नुन ल्याउन नसक्नेहुँदा पैंचो माग्थे र त्यसको सट्टामा पछि नुन नै फिर्ता गरेर वा कुनै काम गरिदिएर पैंचो तिर्थे। पहिले पहिले भोटबाट नुन ल्याइन्थ्यो भन्ने सुनेपनि त्यताबाट नुन बोक्नेलाई मैले भेटिन। मेरो बुबाले पनि सानैदेखि चिसापानी गोदारबाटै नुन बोक्नुभएको हो र थाहा पाएअनुसार हजुरबाले पनि।
हाम्रो गाउँ बितिजोर तराई र पहाड ओहोरदोहोर गर्ने मुख्य बाटोमध्ये एक थियो। रामेछाप, दोलखा, ओखलढुङ्गाका मानिस तराई जाँदा तथा फर्किदा शुलीभञ्ज्याङ, बितिजोर बगैचा, धापचौकी, तीनपाटन हुँदै कमलाखोज निस्किने बाटो नै प्रयोग गर्थे। अन्नपात बेच्न तथा नुनलगायत आवश्यक सामान किन्न तराई जाने र फर्किनेले खाना पकाउन बनाएका तीनचम्के चुलोहरु बाटैभरी हुन्थे।
पहिले पहिले अन्न दिएर नुन ल्याउने गरिएकोमा पछि पैसा दिएर नुन किन्न थालियो। पैसा कमाउने हाम्रो माध्यम भनेको घिउ बेच्नु थियो। घिउचाहिँ काठमाडौंतर्फ लगेर बेचिन्थ्यो। म बुझने हुँदा सिन्धुली जिल्लाकै रातामाटामा बजार बसिसकेको थियो। रातामाटाका ब्यापारीले बनेपा वा काठमाडौंबाट सामान ल्याउँथे तथा घिउलगायत कृषि उब्जनी त्यहाँ पुरयाउँथे। हामी त्यही घिउ बेच्थ्यौं र त्यो पैसाले कपडा किन्थ्यौं। तर, नुन किन्न भने तराईका बजारतिरै झर्नुपथ्र्याे।
नुन बोक्न भीमान जाँदाको एउटा घटना मैले अहिलेसम्म बिर्सन सकेको छैन। त्यो पटक एक्लै गएको थिएँ, नुन,मट्टितेल र सुर्ती लिएर फर्किदा कोटगाउँमा बास बसियो। राती गोठको माथिल्लो तलामा सुतेर भोलीपल्ट बिहान भारी बोक्ने बेला सुर्तीको बिटो हराएको थाहा पाएँ। घरबेटीलाई त्यो बताउँदा उनले चोरबाट बच्न आफैं सतर्क हुनुपथ्र्याे भनेर पन्छिए। धेरै खोजखबर गर्दा पनि नभेटेपछि नुन—मट्टितेल मात्र बोकेर घर जानुभन्दा अर्काे उपाय रहेन।
नुन—मट्टितेल त्यही छाडेर बजार फर्किदा एक त त्यो पनि हराउने डर, अर्काेतिर सुर्ती किन्ने अन्न/पैसा पनि बाँकि थिएन। त्यसपछि सुर्ती सेवन गर्ने बुबा/ठूलाबाको खप्की खाने डर हुँदाहुँदै घर फर्किनुपर्यो। भारीमा सुर्ती नदेखेपछि ठूलाबाले एक पटक ठूलो स्वरमा खोजी गरेपनि सबै वृतान्त बताएपछि चोरलाई सराप्दै चित्त बुझाउनुभयो।
अन्नपात नहुने तथा नुन बोक्न एक हप्ता छुट्याउन नसक्नेले माटोको ढिस्कोमा रहेको नुनिलो छानेर पनि नुनको काम चलाउँथे। नुनिलो तत्व भएको माटोलाई खार भनिन्थ्यो र त्यो माटोलाई पानी घोल्दै छानेर नुनिलो निकालिन्थ्यो। तर, त्यसरी छानेर निकालेको नुन बजारबाट ल्याएको जस्तो तिख्खर हुँदैनथ्यो।