राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतलनिवास

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। 

पार्टीभित्रको विवाद अन्त्यको प्रयास भइरहेका बेला नेकपा अध्यक्ष प्रचण्ड शीतलनिवास पुगेका हुन्।

आन्तरिक विवाद चुलिएका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित असन्तुष्ट सदस्यहरु बुधबार सचिवालय बैठक सफल पार्न कस्सिएका छन्।

त्यसैले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु पनि छलफलमा जुटेका छन्।

सरकारी निवास बालुवाटारमा भइरहेकाे छलफलमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल,  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्व सभामुखसमेत रहेका पार्टी संसदीय दलका उपनेता सुबासचन्द्र नेम्बाङ सहभागी छन्। 

उनीहरुले प्रचण्ड समूहको सचिवालय बैठक डाक्ने योजनामा आफ्नो रणनीति तयार गर्न बैठक बसिरहेको जनाइएकाे छ। यसअघि पाैडेल ओलीको प्रस्ताव बोकेर खुमलटार पुगेका थिए। 

दाहाल र महासचिव पौडेलबीच आन्तरिक विवाद समाधानबारे छलफल भएको बताइन्छ। 

पार्टी कमिटी बैठकमा आपसी विवाद गरेर समस्या झन् जटिल बनाउनुभन्दा दुई अध्यक्ष र अन्य नेताहरूबीच छलफल गरेर समाधानसहित छलफल गर्नुपर्ने प्रस्ताव महासचिव पौडेलले लिएको बताइएको छ ।

उक्त सुझावसहित महासचिव पौडेलले दुईपटक ओलीका दूतका रुपमा प्रचण्डसँग भेट गरिसकेका छन् तर प्रचण्डलगायत उक्त प्रस्तावका समर्थक पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनालसहित बामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओली पक्ष उपस्थित नभएपनि बैठक भएरै छाड्ने अडान लिएका छन्।

नेकपाको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ। यसअघि लामो समयको रस्साकस्सीपछि कार्तिक २८ गते सचिवालय बैठक बसेको थियो । 

प्रकाशित मिति: : 2020-11-17 17:45:00

प्रतिकृया दिनुहोस्