अमिताभलाई हेर्न भिडमा उभिँदा १० रुपैयाँको पेन हरायो

जीवनमा यस्ता धेरै घटना हुन्छन्, जसलाई सम्झँदा हाँसो, लज्जा र आफ्नो मुर्खताको सम्झना आउँछ। ठूला मान्छे र सेलिब्रिटीको सानै कुरा पनि धेरैका लागि चासोको बिषय बन्ने गरेको छ। तर, पंक्तिकार जस्तो सामान्य र निम्छरो व्यक्तिको अनुभव र सम्झना अरुको लागि रोचक हुनसक्छ भनेर आफ्नो अनुभव साट्न खोज्दैछु। आशा छ, यो प्रसँग तपाईंहरूलाई रोचक लाग्नेछ।

पहिलो प्रसँग तिहारसँगै सम्बन्धित छ।एकपल्ट तिहारमा म घरबाट बडो मुश्किलले अनुमति मागेर देउसी खेल्न गएको थिए।त्यो देउसी यति भयावह र डरलाग्दो भयो कि मेरो जीवनको त्यो नै पहिलो र अन्तिम देउसी बन्न पुग्यो।

भारतीय दूतावास नजिक कपुरधारामा थापा थरका एक सैनिक डाक्टर बस्थे।त्यो दिन हामी देउसी खेल्दै राती एक बजे उनको घरको गेटअगाडि पुगेका थियौं। लामो समयबाहिर भट्टयाउँदा पनि कसैले वास्ता नगरेपछि हामी सबै ‘देउसी रे’भन्दै उनको घरको कौसीमा पुग्यौं।

कौसीमा केहि समय भट्टयाएका मात्र के थियौं, केही समयपछि एउटी सुन्दर युवतीले ढोका खोलिन्। ती सुन्दरी देखेर उत्साही भएका हामीहरूमा कतिबेला भगवान नटराजको आत्मा चढ्यो, पत्तै भएन।  

रक्सीले मात्तिएका साथीहरू उफ्रीउफ्री नाच्दा कौसीको बार नै गल्र्याम गुर्लुम्म ढल्यो। यो घटनामा देउसी खेल्न गएका हामी सबै कौसीबाट एकैपल्ट भूइँमा बजारियौं। यतिसम्म त कहानी ठिकठाक नै थियो। तर, यसपछि जुन ताण्डव नृत्य त्यो घरमा भयो, अहिले सोच्दा लाज लागेर आउँछ। कौसीको बार झरेर भूइँमा एकै पोको परेका हामीलाई त्यतिबेला अर्को समस्याले घेरेको थियो, जब भित्रबाट हातमा लठ्ठी बोकेर आएका अर्दलीहरूले ढाडको करंग भाँचिने गरि भकुर्नु भकुरे।  त्यो सम्झिदा अहिले पनि आङ सिरिङ हुन्छ।

कौसीबाट लड्दा म चौरीमा गमलामा फुलाइएको क्याक्ट्सको माथि बजारिन पुगेछु। यतिबेला क्याक्टसको काँडाले घोच्दा कस्तो भयो होला मलाई? भो सबै तपाईहरूलाई नबताऊ!

अर्दलीको हामीलाई पिट्ने ड्युटी समाप्त भएपछि उनीहरूले देउसीका लागि लगिएको ड्रम सेट घोचेर प्वाँल पारिदिए।हामी एैया र आत्था भन्दै लुरुलुरु घर फर्किन बाध्य भएका थियौं। घरबाट बाहिर निस्किएपछि बाटोमा साथीहरूले आफूलाई कुट्ने अर्दलीका जवानहरूलाई कुनैदिन देखाइदिने धम्की दिन भने बिर्सिएनन्। 

  *******

यस्तै अर्को घटना काठमाडौंको लाजिम्पाटस्थित वडा कार्यालय जाने गल्लीको ठिक अगाडि रहेको एउटा होटल लाली गुराँसमा भएको थियो।त्यो होटल भित्र कपर फ्लोर डिस्को थियो। मेरो एउटा साथीको दिदी, जसको नाम म अहिले लिन सक्दिन।उहाँ ७०को दशकको अन्त्य र ८० को दशकको सुरुवातमा काठमाडौंमा निकै चर्चित हुनुहुन्थ्यो।

उहाँले नै म र मेरो साथीलाई त्यो डिस्कोमा लिएर जानुभएको थियो।सायद त्यतिबेला मेरो उमेर ९–१० वर्षको थियो होला। र, सम्भवत त्यो डिस्को पुग्ने म रायमाझी कूलको पहिलो व्यक्ति हुनुपर्छ। यो मेरो व्यक्तिगत दावी मात्र हो।

पहिलो पल्ट यस्तो माहोलमा प्रवेश गर्दा म तीन छक्क परेको थिए। बल्दै र निभ्दै गर्ने बत्ति, चर्को आवाजमा बजेको  ‘फन्की टाउन’ बोलको गीत, फ्लोरमा अंगालो मारेर नाच्दै गरेका युवायुवतीको जोडी, म अवाक भएको थिए।

अझ म त्यति बेला दंग परे, जब नाच्दा नाच्दै सबै युवतीले आफ्नो लुगा एक एक गर्दै फुकाल्दै भूइँमा फ्याल्न थाले। त्यस्तो प्रक्रियालाई ‘स्टिपिङ’भनिदो रहेछ। अहिले अमेरिका आएर पो थाहा भयो।

एक हुल युवतीलाई अर्धनग्न अवस्थामा देख्दा मलाई भने रमाइलो लागिरहेको थियो, डर पनि।यसैबीच एउटी मोटी युवती आफ्नो अर्धनग्न छाति हल्लाउँदै मेरो नजिक आइपुगिन् र मेरो गाला सुमसुमाउँदै च्वाप्प म्वाइँ खाइन्। मलाई यति बेला लाज मात्र होइन, अचम्म लागेको थियो।

आजभोलि यस्तो हुन्छ कि हुदैन, कुनै अनुभवीले बताए हुन्थ्यो।म त्यसपछि आजसम्म डिस्को गएको छैन।

   *******

इतिहासको कालखण्डमा बटुवालाई आराम गर्न बनाइएको काठमाडौं १६ नम्बर वडास्थित सोह्रखुट्टे पाटीमा हामीले थाहा पाएदेखि नै गरिब माग्नेहरूले कब्जा जमाएका थिए।विकाशको नाममा हुने चरम कुरुप क्रियाकलापका कारण हाल त्यो पाटी अस्तित्वमा छैन।

कुनै बेला त्यो पाटीमा एउटी मानसिक समस्या भएकी महिला बस्ने गर्थिन्।स्थानीय बदमास केटाकेटी उसलाई ‘उइँचा’भनेर जिस्काउँथे।

सायद नेवारी भाषामा यसलाई बहुला भनेको हुनुपर्छ।जब केटाकेटी उनलाई जिस्काउन आउँथे, उनी ढुंगाले हानेर लखेट्थिन्।मलाई त्यस किसिमको मनोरञ्जनमा खासै रुचि थिएन।मैले कहिले उसलाई जिस्काइन् । त्यसैले उसले पनि कहिल्यै ढुंगाले हानिनन् मलाई। 

तर उसलाई देख्ने बित्तिकै मलाई डर लाग्थ्यो। किन हो, त्यो अहिलेसम्म पत्ता पाउन सकेको छैन। तर, उसँग सबैभन्दा ठूलो अमानवीय कृत्य त्यतिबेला हुन्थ्यो, जब उनी बर्षेनी बच्चाकी आमा बन्थिन्। र, खान खान नपाएर ती बच्चा केही दिनमै मर्थे। मरेको बच्चालाई काखमा लिएर जोडजोडले रोएको दृश्यले अहिले पनि मलाई बेचेन बनाउँछ। कति अमानवीय र लज्जाजनक समाजमा हामी हुर्किएका थियौं? उनको रोदनले मेरो मुटु चिरिन्थ्यो। तर, उसलाई सहयोग गर्ने अवस्थामा म थिइन। 

कहिले काही मेरो आत्माले मसँग प्रश्न गरिरहेको हुन्छ– होस् नै नभएको ती महिलासँग जबरदस्ती शारीरिक सम्बन्ध राख्ने नरपशु को होला? यदी त्यो पशुले मेरो यो आलेख पढ्दै छ भने म उसलाई भन्न चाहन्छु– तेरो जुनी धिक्कार छ।

  *******

८० को दशकमा निकै तामझामका साथ अन्य कलाकारसँग भारतीय सिनेमाका सुपरस्टार अमिताभ बच्चन काठमाडौं आएका थिए, ‘महान’ फिल्मको सुटिङका लागि। उनलाई हेर्न र भेट्न उनी बसेको नयाँ बानेश्वरस्थित तत्कालिन एभरेष्ट सेराटन होटल र सुटिङ भएका स्थानहरूमा नेपालीहरूको थाम्ने नसक्ने भिड लागेको थियो। हामी स्कुले ठिटाहरूलाई पनि उनीसँग भेट्न र उनको अटोग्राफ लिने ठूलो इच्छा पलायो। तर, हामी जस्ता भाराभूरेले उनलाई भेट्ने कसरी? त्यो सम्भव थिएन। त्यतिबेला काठमाडौंमा मान्छेहरू तीन श्रेणीमा वर्गिकृत भएका थिए।

अमिताभलाई भेटेर उनको अटोग्राफ लिने विशिष्ठ वर्गको कहलाउँथे। उनलाई सुटिङ वा अन्य स्थानमा टाढाबाट देख्नेहरू मध्यम वर्ग र उनको एक झलक पनि नपाउने काठमाडौंवासीहरू निम्न वा निकृष्ट वर्ग, मानौं अमिताभलाई नदेख्दा उसले जन्म लिएको नै निरर्थक भए जस्तो। 

एकदिन सुटिङको सेड्युल परेको रहेछ, लैनचोरस्थित मल्ल होटलमा। म लैनचोरकै स्कुलमा पढ्थे। त्यसैले उनी सुटिङमा आएको हल्लाखल्लाका बीच उनलाई हेर्न होटल नजिक पुगेको थिए। टाढैबाट उनको अनुहार देखेपछि मेरो पनि श्रेणीमा पदोन्नति भयो, अर्थात निकृष्ट वर्गबाट मध्यम वर्गमा बढुवा भयो। उनी बसेको होटल र सुटिङ हुने स्थानसँग सम्बद्ध मानिससँग कुनै किसिमको पहिचान नहुँदा मध्यमबाट विशिष्ट वर्गमा उक्लिने मेरो सपना भने पुरा भएन। 

म मध्यम वर्गमा बढुवा भएको दिन मल्ल होटल बाहिर भएको सुटिङमा अमिताभ दुईवटा सुटकेश बोकेर होटलभित्र प्रवेश गरे। अमजद खान भने होटलको सिसाबाट अमिताभलाई नियालिरहेका थिए। करिब ४ पटकको रिटेकपछि सुटिङ समाप्त भयो। मलाई अहिले पनि याद छ, त्यो दिन लैनचोरमा थामिनसक्नुको भिड थियो। हामी पढ्ने लैनचोर स्कुल र कन्या मावीका विधार्थीबीच अमिताभलाई हेर्ने धक्कामुक्कीका कारण मेरो १० रुपैयाँ पर्ने चाइनिज पेन कता हरायो कता, त्यसको दुःख अहिले पनि मलाई छ।   

  *******

यस्तै, एउटा गफाडीको अगाडि आफूलाई बुझक्कड प्रमाणित गर्ने चक्करमा मुर्ख बनेको घटना सम्झँदा अहिले पनि हाँसो उठ्छ। एकपल्ट ठूलो फूर्ति लगाउन इटालियन रेस्टुरान्ट छिरेको थिए। बाउँपट्टिको सात पुस्ता र आमापट्टिको दश पुस्ताले इटालियन खाना नखाएको मलाई पनि यस विषयमा जानकारी नहुनु स्वभाविक नै हो। तर, साथीभाईलाई पोज देखाउन मैले मेनु अर्डर गरे। मेनु यस्तो थियो, त्यो हेर्दाहेर्दै भन्डै बेहोस् भइएला जस्ता। मेनुमा लेखिएको इटालियन खानाको नाम यति लम्बाचौडा थियो, के खाएर त्यो बुझ्ने हो? फेरि कहिल्यै नखाएको हुनाले त्यसको स्वाद पनि थाहा थिएन। 

कफीको सट्टा एस्प्रेसो, क्यापाचिनो, लाते जस्ता नाम कसरी थाहा पाउनु? धेरै बेर मेनुमा आँखा घुमाएपछि बल्लतल्ल खाने जस्तो नाम भेटियो बनाना लेखेको। जे पर्ला बेहोरुला, बनाना भनेपछि केरा त पक्कै ल्याउलान नि भन्ने सोचेर त्यही खाना अर्डर गरियो। 

एकछिनपछि अर्डर गरेको खाना टेबलमा आइपुग्यो। डराई डराई यसो हेरेको काँचो केरालाई घ्युमा तारेर गुलियो सस हालेको रहेछ। त्यतिबेला मेरो लागि त्यो खाना विश्वकै सबैभन्दा मिठो खाना भएको थियो। किनभने कम्तिमा हामीले खान मिल्ने खाना त रहेछ। दिङ्दिङ् लागेपनि फूर्ति गर्न त्यो खाना खानु पर्ने मेरो बाध्यता पनि उस्तै थियो। मैले पनि साथीलाई सोधिन्–खाना कस्तो लाग्यो भनेर। उसले पनि मलाई सोधेन्, कस्तो नमिठो खाना अर्डर गरिस् भनेर। कुरा त्यही टुङ्गियो। 

तर, यो घटनापछि मैले प्रण नै गरे। आइन्दा थाहा नभएको विषयमा फूर्ति गर्दिन। त्यसैले म आजभोलि रेस्टुरान्टमा खानुप¥यो भने बरु इन्डियन कहाँ छिर्छु, सानपट्टि देखाउन विदेशी रेस्टुरान्टमा प्रवेश गर्दिन। 

  *******

हरेक केटाकेटीलाई दुईवटा कुरा निकै प्रिय हुन्छ। दशैं र मामाघर। तर, मलाई यी दुबै कुराले कहिल्यै आकर्षित गरेन। 
दशैंप्रति आकर्षण नहुनुको प्रमुख कारण पशुप्रति मेरो माया हो। निर्दोष अनुहार लाग्ने खसी र बोकालाई च्वाट्ट छिनाएको दृश्यले मलाई लामोसमय उद्देलित गथ्र्यो। मासु खान मन नलाग्नु वा शाकाहारी हुनुको प्रमुख कारण त्यो पनि हुनसक्छ। 

यस्तै मामाघरमा आफूलाई कसैले महत्व दिएको मैले कहिले महसुस गरिन्। उनीहरूको व्यवहार मलाई लाग्थ्यो, मामाघरमा म ‘अनवान्टेड’ छुँ। यो मेरो ‘इन्फेरिरीटी कम्प्लेक्स’ पनि हुनसक्छ। मामाघरमा जहिले पनि मेरो कुरुप अनुहार, बुद्धिहीन व्यक्तित्व र होचो कदको आलोचना मात्र भयो। कसैले स्नेह गरेको मलाई अनुभव छैन। त्यसैले मामा र मामाको सन्तानसँग कहिले पनि मेरो सुमधुर सम्बन्ध बनेन्,केही अपवादलाई छोडेर। आफूप्रति स्नेहभाव नराख्ने कारण कहिल्यै पनि उनीहरूलाई खोज्दै हिँडिन्, न उनीहरूले मलाई खोज्ने प्रयास गरे। 

यी सबै प्रकरणको जिम्मेवार म स्वयम हुँ। किनभने म जन्मिदै खराब गुण बोकेर जन्मिए। मेरो मामलीका सन्तान सबै दुधले पखालिएर जन्मिए। अनन्तकालसम्म उनीहरू बत्तिस लक्षणयुक्त रहनेछन्। यो मेरो नितान्त नीजि विचार हो। 

  *******

नेशनल टेलिभिजन बन्द भएर बेरोजगार भएपछि मैले एकपल्ट नवधनाढ्य, नेपालको हकमा जग्गाविद् (जग्गा दलाल) को छोरीलाई घरमै ट्युसन पढाउने जागिर पाए। नाम चलेको रेस्टुरेन्टबाट खाजको व्यवस्थासहित दिनमा एक घण्टा पढाएबापत १२ हजार रुपैयाँको तलब। मेरो लागि त्यतिबेला आकर्षक नै मान्नुपर्छ। यो घटना सन् २०१४ को हो। 

जागिरको लागि पहिलो पल्ट अन्तर्वार्ता दिन ती मान्यवर कहाँ पुग्दा उनी हेर्दै डर लाग्ने कुकुरसँग अंग्रेजीमा कुरा गरिरहेका थिए। म पुग्ने वित्तिकै उनले आफ्नो कुकुरको बखान गर्न थाले। मलाई बेरोजगारीको धब्बाबाट बाहिर निस्किनु थियो, बुझे पनि नबुझे पनि हजुर हजुर भन्दै टाउको हल्लाउनु मेरो बाध्यता थियो। त्यसै गरे।  

यत्तिकैमा छोटो लुगा पहिरिएकी मोडल जस्ती युवती हामी बसेको कोठामा प्रवेश गरिन्। र, उनले परिचय गराए– तपाईले पढाउनु पर्ने मेरो छोरी उनी नै हुन्। 

केही दिन उनलाई पढाएपछि मलाई यो बुझ्न गाह्रो भएन– उनलाई पढाईमा खासै रुचि थिएन। बरु नायिका बन्ने उत्कट चाहना थियो। तर, यसका लागि पनि पढ्नेपर्छ भन्ने ज्ञान उनीसँग थिएन। मैले एक घण्टा पढाउँदा उनको मोबाईलमा ५० जति कल आउँथ्यो। एसएमएसको कुरै छोडौं। करिब ६ महिना मैले उनलाई पढाएको अभिनय मात्र गरे। यसपछि मनले मानेन, जागिर छोडे। उनी मसँग आइएको ट्युसन लिँदै थिइन। उनले पछि पास गरिन कि गरिनन्, त्यो मलाई थाहा हुने विषय भएन। तर, बेरोजगारीको त्यो समय अलिकति भएपनि आयआर्जन गर्न सफल भएकोमा ती मान्यवरलाई धन्यवाद दिन चाहन्छु। 

                                                                  *******

हामी केटाकेटी हुँदा रेडियो खुब सुन्थ्यौं। त्यतिबेला मनोरञ्जनको साधन भनेकै रेडियो त थियो नि। रेडियो नेपालमा फर्माइसी गीतको कार्यक्रम आउँथ्यो। पाँच मिनेटको गीतमा फर्माइस गर्ने मान्छेका नाम पढ्न मात्र दश मिनेट लाग्थ्यो। जसको नाम फर्माइसकर्ताको सूचीमा आउँथ्यो, त्यो सेलिब्रिटी नै बन्थ्यो। 

त्यस्तै सेलिब्रिटी भएका फर्माइसकर्तामा अहिले पनि मलाई केहीको नाम याद छ। ती थिए, भक्तपुर कटुञ्जेका सुभाषचन्द्र ढुङ्गेल, लेले महत गाउँबाट कमल महत, कुपण्डोलबाट अमिर घर्ती, किरण पन्त, श्रीकृष्ण कार्की र विजय सिजापती, कमलपोखरीबाट जंगे, बमेर निलम, वीरगञ्ज गहवाबाट जहिल हवारी, कुर्बान हवारी र बेगमताज हवारी। 

यस्ता सेलिब्रिटी फर्माइसकर्ता अरु पनि थिए, तर मलाई अहिले सबैको नाम सम्झना छैन। उनीहरू जस्तै हामीलाई पनि सेलिब्रिटी बन्ने ठूलो इच्छा थियो। तर नाम कसरी आउँछ, पत्तो थिएन। 

समयक्रमसँगै निकै खोजीनीति गरियो। पछि थाहा भयो, एउटा साथीको ज्ञानेश्वरस्थित मामाघरको छिमेकी रेडियो नेपालमा काम गर्ने रहेछन्। उनी रेडियो नेपालमा कुन पदमा काम गर्थे त्यो हामीलाई थाहा हुने कुरा भएन। तर, रेडियो नेपालमा सम्बोधन हुँदा उनको नाम प्राविधिक साथी फलोनो भनेर आउँथ्यो। 

बडो मुस्किलले एकदिन हामीले सामुहिक रूपमा उनलाई भेटेर आफ्नो समस्या बतायौं। लामो हारगुहारपछि उनले पनि हामीलाई आश्वासन दिए– ल ठिक छ। यसै दिन भन्न सक्दिन, कुनै दिन नाम राखिदिउँला।’ उनले त्यो भनेको दिन हामीलाई भगवान भेटे सरह भयो। 

आफ्नो नाम आउने प्रतिक्षामा धेरै दिन राती मैले रेडियोको अगाडि कान ठड्याए। तर, नाम आएन। एकदिन राती छिट्टै सुतेछु। त्यही दिन कार्यक्रममा भारतीय गायक मन्नाडेको गीतमा फर्माइसकर्ताको नाम लिँदा सोह्रखुट्टे नयाँ बजारबाट नवीन रायमाझी, पाक्क महर्जन, सेते दमाई र साथीहरू भनेर फुकिदिएछन्। 

छिट्टै सुतेको हुनाले मैले आफ्ना नाम त सुन्न पाइन। तर, अरू साथीहरूले सुनेका रहेछन्। म त रातारात स्टार भएछु। हिजोसम्म फुटेको आँखाले हेर्न नसक्ने भोलि पल्टदेखि मेरो नजिक आउँछन् बा। म त दंग। 

अब भन्नुस् त मध्यरातमा आउने कार्यक्रममा नाम सुन्दा त सेलिब्रिटी भइयो भने, प्राइम टाइममा नाम आएको भए के हुन्थ्यो होला?
 

प्रकाशित मिति: : 2020-11-16 11:10:00

प्रतिकृया दिनुहोस्