बिस्केट वा बिस्का जात्राको प्रारम्भ कसरी भयो भन्ने विषयबारे प्रष्ट तथ्यहरु भेटाइँदैन्। प्राप्त तथ्य एवम तथ्यांक र जानकारहरुका अनुसार अत्यन्तै प्राचिन र सांस्कृतिक भएको पुष्टि हुन्छ। प्राप्त तथ्यांकले लिच्छविकालमै प्रारम्भ भइसकेको देखिन्छ। विशेषगरि जात्रा विक्रम संवद्को क्यालेन्डर अनुसार मनाइन्छ। चैतको मसान्ततिर मनाउने चलन छ। सूर्यको गति उत्तरतिर गइरहेको अवस्था भनेको चैतको यही समयमा सूर्य भूमध्य रेखाको ठिक माथिमा पर्न आउँछ। त्यस दिन वैज्ञानिक आधारमा भन्ने हो भने दिन र रात बराबार हुन्छ। ३६५ दिनहरु मध्येमा यो दिन विशेष रहने गर्छ। किनभने दिन र रात कहिले पनि बराबार हुँदैन। तर वर्षमा दुई पटक दिन र रात बराबार हुन्छ। बिस्का जात्रा पनि दिन र रात बराबर भएकै दिन मनाइने गरिन्छ।
लिच्छविकालमा नै सुरु भएको यस्तो जात्रा यहाँ मात्रै होइन यस्तै प्रकारको उत्सवहरु थुप्रै देशरुमा मनाइएको पाइन्छ। नयाँ वर्षको रुपमा विभिन्न ठाउँमा विभिन्न नामले पर्वहरु मनाइन्छ। दिन र रात बराबर पारेर उत्सव मनाइने गरिन्छ। यही दिनलाई आधार मानेर भिन्न संस्कृतिहरु नेपालमा निर्माण भएको छ। जसलाई हामी बिस्का जात्रा भन्छौं। बिस्का जात्राको प्रारुप अथवा आदि स्वरुप भनेको विश्वयात्रा हो। विश्वयात्रा भनेको सूर्य उत्तरायणी हुँदै दक्षीयाणी हुँदाको यात्रा नै समग्रमा विश्वयात्रा हो। गौतमी पुराणमा लेखिएका आधारमा चैतको मसान्तमा अर्थात बिस्का जात्राको दिनमा चाँही झण्डोत्तोलन गर्यौं भने चाँही शुभलाभ हुन्छ भनेर लेखिएको छ। त्यसैले बिस्का जात्राका दिन झण्डोत्तोलन गर्दा राम्रो हुन्छ भनेर ध्वजा फैलाउने योसी(लिङ्गो) ठड्याउने संस्कृतिको सुरुवात भएको पाइन्छ।
बिस्का जात्रा मनाउने क्रममा विभिन्न कालखण्डमा विभिन्न वशंहरु आएको पाइन्छ। तिनै वंशहरुले यो जात्रालाई विस्तार गर्दै लगेका हुन्।
मल्लकालमा जात्रालाई विशेष बनाउन विभिन्न ठाउँमा खत(रथ) जात्रा गरियो। भक्तपुरमा भैरवको रथ तान्ने साथै भक्तपुरमै अन्य दिनहरुमा पनि विभिन्न ठाउँहरुमा विभिन्न रथहरु काँधमा बोकेर जात्रा गर्ने परम्परा अहिले विकास गरिएको छ। मध्यपुर थिमि नगरपालिकामा पनि विभिन्न देवीदेवताको खतलाई, मूर्तिहरुलाई काँधमा राखेर नगर परिक्रमा गरेर जात्रा मनाउने परम्परा छ। त्यस्तै ध्वज उत्थान गर्ने अथवा योसी ठड्याउने परम्परा लिच्छिविकालमै सुरु भएको हो। तर पछि मल्लकालमा आएर खत जात्रा थपिँदै आएको छ। तर कुन मल्ल राजाले जात्रा सुरु गरेका हुन् भन्ने तथ्यगत विवरण पाइँदैन। विभिन्न अभिलेखहरु वा ताम्रपत्रदेखि लिएर शिलापत्र र विभिन्न अभिलेखहरुमा यस जात्राबारे उल्लेख भएको पाइन्छ। त्यही क्रममा मध्यपुर थिमि नगरपालिकामा गरिने जात्रामा देवताहरुमध्ये एउटा जुन खतमा राखेर जात्रा गरिन्छ त्यसमध्येक एक देवताको मुर्तिमा एउटा अभिलेख भेटिएको छ। जुन अभिलेख भनेको ज्योति मल्लको पालामा मुर्ति बनाइएको हो भन्ने कुरा प्रष्ट लेखिएको छ। मुर्तिले के देखाउँछ भने ज्योति मल्ल भन्दा अगाडि नै जात्रा सुरु भइसकेको थाहा हुन्छ।
मध्यपुर थिमिमा ३२ देवीदेवताको जात्रा हुन्छ। बिस्का जात्रा सातदेखि आठसय बर्ष पूरानो जात्रा हो भन्ने छ। सबै विवरण हेर्दा सातदेखि आठसय वर्ष पुरानो हो भन्ने देखाएको छ। सुरुवाती चरणमा बिस्कालाई विश्वयात्रा भनेर मनाइयो। यात्रा र जात्रा मिलाएर नै बिस्का जात्रा भनियो। कतै यसलाई विश्वयात्रा भनिएको छ भने कतै विश्वजात्रा भनिएको छ। वैशाख सक्रान्तिलाई विश्व संक्रान्ति पनि भनिएको छ। त्यसैले यसको आदीस्वरुप कालान्तरमा जात्राको नाम बिस्का जात्रा भएको देखिन्छ। किनभने त्यसपछिका मल्लकालिन अभिलेखहरुमा बिस्का जात्रा भनेर उल्लेख गरेको पाइन्छ। पछि अपभ्रंश भएको शब्दावलीको रुपमा बिस्केट जात्रा भनिएको हो।
अभिलेखमा जाने हो भने बिस्का जात्रालाई बिस्केट जात्रा भनेर उल्लेख गरेको पाइँदैन। बरु बिस्कात्व जात्रा भनेर भनिएको छ। यसलाई विभिन्न स्वरुपले अथ्र्याउने गरे पनि यसको मौलिक नाम भनेको बिस्का जात्रा नै हो। बिस्का जात्रामा विशेष गरेर विभिन्न खालका संस्कृतिक क्रियाकलापहरु सम्पन्न हुन्छन् भक्तपुर र मध्यपुरमा। मध्यपुरकै कुरा गर्दा चैत मसान्तको आठ दिन अगाडिदेखि यसको विभिन्न क्रियाकलापहरु सञ्चालन हुन्छ। जात्रा गरिने देवीदेवताहरुको गहनाहरु निकाल्ने, गहनाहरु सफा गर्ने, पूजा गर्ने, जात्रा गर्ने क्रममा कुनै खालको बाधा नहोस् भनेर नगरलाई विभिन्न तान्त्रिक विध्यामार्फत सुरक्षा प्रदान गर्ने किसिमका क्रियाकलापहरु गरिन्छ। समूदाय एवम राज्यस्तरबाट मन्दिरहरु सजाउने, धिंमे बाजा लगायतका बाजाहरु प्रशिक्षण गर्ने कार्य गरिन्छ। तर बिस्का जात्रामा योसी ठड्याएर जात्रा प्रारम्भ हुन्छ भने योसी ढालेपछि जात्रा सम्पन्न भएको मानिन्छ। यस्तो चलन धेरै ठाउँमा छ।
जिब्रो छेड्ने जात्रा
बिस्का जात्राका क्रममा खत जात्राहरु गरिन्छ। स्थानीय शक्तिपिठ एवम देवीदेवताहरुको मुर्तिलाई विभिन्न प्रकारका खतमा राखेर चक्का भएको रथमा तानेर जात्रा गरिन्छ। मध्यपुर थिमिमा खतलाई काँधमा बोकेर जात्रा गरिन्छ। जात्रा गर्ने खतको स्वरुप विभिन्न कालखण्डमा विकास गरिएको पाइन्छ। बिस्का जात्रासँगै खत जात्रा मुख्य विशेषता हो। मध्यपुर थिमिको हकमा जिब्रो छेड्ने जात्रा बिस्का जात्राकै उपलक्ष्यमा मनाइने हो। जिब्रो छेड्ने परम्परा चाँही मध्यपुर थिमिमा पाइन्छ। हरेक वर्ष बैशाख २ गते मध्यपुर थिमि नगरपालिकाको बोडेमा चाँही जिब्रो छेडेर यो जात्रा मनाउने गरिन्छ। तर त्यससँग सम्बन्धित लिखित अभिलेखहरु भने छैनन्। तर विभिन्न किंवदन्तीहरु छन् र यो परम्परा अत्यन्तै प्राचिन हो। जिब्रो छेड्ने जात्रा बैशाख २ गते बोडेमा मनाइन्छ। भने यस्तै खालको जिब्रो छेड्ने जात्रा मध्यपुर थिमिकै थिमि नगरमा दुईचोटी जिब्रो छेड्ने जात्रा मनाइन्छ।
एउटा बोडेमा बिस्का जात्राको दिन मनाइन्छ भने अर्को थिमिमा पूर्णिमाका दिन मनाइन्छ। थिमिमा मनाइने जिब्रो छेड्ने जात्रासँग सम्बन्धित जात्राको इतिहासलाई खोतल्ने हो भने जिब्रो छेडिसकेपछि सियोलाई निकालेर बोडेको हकमा गणेश मन्दिरको दलिनमा गएर ठोक्ने गरिन्छ। थिमिको हकमा भने बालकुमारी मन्दिरको थाम र काठको स्टकचरमा लगेर ठोकिन्छ। प्रत्येक चोटी जात्रा सकियो अनि सियो निकालेर ठोक्ने गरिन्छ। जति पनि सियोहरु ठोक्किएको छ त्यो गणना गर्ने हो भने जात्रा कम्तिमा पनि सात सय वर्ष पूरानो हो भन्न सकिन्छ। तर बोडेमा सियोको संख्या कम छ। मन्दिरका पुरानो काठ हटाएर नयाँ काठ राखिएको हुनाले कम भएको हुनसक्छ। तर थिमिमा रहेको मन्दिर नेपाल संवत् ४७० को हाराहारीमा बनाएको करिब सातसय वर्ष पुरानो भएकाले त्यहाँ ठोकिएका सियोको संख्या गणना गर्ने हो भने जात्रा धेरै पहिलादेखि नै चलिआएको देखिन्छ।
किन मनाइन्छ?
बिस्का अन्तरगतका जात्राहरु किन मनाइन्छ भन्ने सन्दर्भमा विभिन्न मान्यताहरु रही आएको छ। नकरात्मक शक्तिमाथि विजय हासिल गरेको उत्सवको रुपमा जात्रा मनाइएको मान्यता रही आएको छ। यसलाई धर्म कमाउने तपस्याको रुपमा पनि हेर्न सकिन्छ। किनभने हामीले कुनै भाकल गर्दा वा केही कुराको कामना गर्दा जति कठोर ब्रत गर्नुपर्छ यो पनि त्यही मध्ये एक हो। आस्थाको रुपमा जिब्रो छेड्ने र बिस्का जात्रा मनाइएको हो।
भूतप्रेत जस्ता नकरात्मक शक्तिलाई जिब्रो छेडेर सजाय दिएको स्वरुप यो जात्रा मनाएको भन्ने भाष्य अहिले जहाँ पनि सुन्न पाइन्छ। तर यो गलत हो। यो जात्रामा जसले पनि जिब्रो छेड्न पाइन्छ। तर हाम्रो मान्यता अनुसार एक वर्ष जुन मान्छेले जिब्रो छेडेको छ त्यही मान्छेले निरन्तरता दिएसम्म अरुले नछेड्ने भन्ने छ। तर अरुले गर्नै नहुने भन्ने हुँदैन्। थिमिमा कुनै समयमा सात जनाले एकै दिन जिब्रो छेडेको इतिहास पनि छ।
जात्राको मुख्य दिन अबिर, सिन्दुरको प्रयोग गर्ने चलन छ। नेवार समूदायले जुन ठाँउमा भएपनि जात्राको मुख्य दिनमा सिन्दुर छरेर जात्रालाई अझ रंगिन र हर्षमय बनाउने गर्छन्। यसले जात्राको शोभा बढाउनुको साथै जात्रालाई रमाइलो बनाउँछ। थिमिमा बैशाख २ गते सिन्दुरको प्रयोग गरेर जात्रा मनाइन्छ।
मध्यपुर थिमिको जात्रा दुई वर्ष, दुई महिना र दुई दिन चल्ने जात्रा हो भन्छौ। जस्तै २०८१ को चैत्र मसान्तमा जात्रा सुरु हुन्छ। त्यसपछि २०८२ साल बैशाख १ र २ गतेसम्म जारी रहन्छ। पहिलो दिनको जात्रा रातको समयमा हुन्छ, दोस्रो दिन साँझ हुन्छ भने तेस्रो दिनको जात्रा बिहान सुरु हुन्छ। मध्यपुर थिमिमा सबै गरेर ३२ वटा खत (रथ) को जात्रा हुन्छ। त्यो रथहरुको नेतृत्व शक्तिपिठहरुको मूर्ति स्थापित गरेको खतले गर्छ। नेवार समूदायभित्र जहाँ टोलहरुको विकास गरिन्छ त्यो टोलले गणेशको स्थापना गरेको हुन्छ। टोल गणेशको खत पनि जात्रामा सहभागि हुन्छ। यसरी हेर्दा शक्तिपिठ र टोल गणेशको यो जात्रामा संलग्नता हुन्छ।
नेवार बस्तीमा बढी उल्लास
विशेष गरेर जात्रा र संस्कृतिको विकास सबै नेवार बस्तीमा भएको देखिन्छ। पूर्वदेखि पश्चिमसम्म जहाँ जहाँ नेवार बस्ती छ त्यो ठाँउमा आफ्नै प्रकारको जात्रा परम्परा छ। यस्ता धेरै जात्राहरु चैत्र, बैशाखदेखि साउनसम्म सम्पन्न हुन्छन्। नेवार समुदायको केन्द्रको रुपमा भक्तपुर हो र अरु बस्ती भनेको त्यहीबाट विस्तार भएको हो। जुन ठाँउमा नेवार बस्ती विस्तार भयो त्यो ठाँउमा नेवार संस्कृती र जात्रा पनि विस्तार भयो। र भक्तपुरमा सुरुमा भएको बिस्का जात्रा अन्य ठाँउमा फरक समयमा हुने भएकाले फरक नाम मात्र भएको हो। तर टोखा, भक्तपुर, मध्यपुर थिमि, साँगालगायतका ठाँउमा बिस्का जात्रा भनेर नै मनाइन्छ।
भक्तपुरमा तानिने रथ काशी विश्वनाथ भैरवको रथ हो। जात्रालाई उत्साहमूलक र सहभागितामूलक बनाउनको लागि रथ दुईतर्फ तानेर प्रतिस्पर्धाको जस्तो माहोल बनाइन्छ। योसी उठाएर जात्रा सुरु हुन्छ। विशेषगरि चैत्रमा सूर्य मेष राशिबाट मीन राशिमा प्रवेश गर्छ। त्यसलाई आधार मानिन्छ।
कुनै समय महिनाको नामाकरण भएको थिएन। त्यो समयमा हरेक महिनालाई राशिको नाममा चिनिन्थ्यो। चैत्र, बैशाख महिना भनेझै मेष, मीन भन्ने चलन थियो। १२ महिनालाई १२ राशिको रुपमा नामाकरण गरिएको थियो। क्यालेन्डरको विकासपछि मात्र महिनाको नामाकरण भएको हो।
नबाट मेष राशिमा प्रवेश गर्ने दिन विषेश हो। त्यो दिन दिनरात बराबर हुन्छ। माघे संक्रान्तिबाट दिन लामो हुँदै जाने र साउने संक्रान्तिको दिन दिनरात बराबर हुन्छ। त्यसपछि दिन छोटो हुँदै रात लामो हुँदै जान्छ। वर्षमा ६ महिना रात लामो दिन छोटो र ६ महिना दिन लामो रात छोटो हुन्छ। चैत्र र वैशाखको बिचमा र साउनमा गरी दुई दिन चाहीं दिनरात बराबर हुन्छ। त्यसलाई विषेश दिन भनिन्छ। त्यसलाई धार्मिक आस्थाले हेरिन्छ। त्यो दिनमा झण्डोतलन गर्ने, योसी ठड्याउने गर्छन। त्यसो गर्दा शत्रु नाश हुन्छ भन्ने विश्वास छ।
जात्राका विधिहरु
यसका विधिहरु धेरै छन्। विषेशत योसी ल्याउने ठाउँ भक्तपुरबाट नाला जाने बाटोमा भएको जङ्गल हो। योसी ल्याउन विभिन्न तान्त्रिक विधिबाट पूजा गरेर वलि बोकालाई छाडिन्छ। त्यो बोकाले जुन रुखलाई टाउकाले हान्छ त्यसलाई योसीका रुपमा काटिन्छ। योसीको छनोट पनि तान्त्रिक विधिबाट हुन्छ। त्यो समयमा योसी ठड्याउँदा उपयुक्त विधि भनेको तान्ने थियो। किनभने बोक्नलाई कठिनाइ भएर हो। त्यसलाई वैज्ञानिक आधारमा हेरिएको छ। जात्रामा सहभागी हुँदा वातावरण पनि उल्लासपूर्ण हुन्छ। वातावरणलाई उल्लासपूर्ण बनाउने भनेको धिमे बाजा पनि हो। धिमे शब्द धेमष भन्ने संस्कृतबाट आएको हो। त्यो बाजाले नै मानिसमा उत्साह ल्याउने गर्छ। अरु जात्रामा धिमे बाजा बजाइँदैन्। नेवार समुदायमा वलि दिने प्रचलन परम्परा नै हो। पशुपंक्षीको मात्र वलि होइन वलि भनेको समर्पण, त्याग हो र चढाउनु हो। पूजामा समयबजि भनेर चिउरा, समयबजि, छोइला, माछा, अण्डा गरी पाँचथरीका पञ्चंकार वलिको स्वरुप ग्रहण गरिन्छ। तान्त्रिक विधि अनुसार शक्तिपिठहरुमा वलि चढाइन्छ। नेवार समुदायमा गणेशलाई पनि वलि चढाइन्छ।
पछिल्लो समय जात्रामा सहभागी हुनेको संख्या कम हुँदै गएको छ। सहभागिता हुँदै गर्दा पनि मौलिकता हराउँदै गएको छ। बाजामा पनि मौलिकता हराउँदै गएको छ। ब्यान्ड बाजा बजाउनु नयाँ पनि होइन्। विकृति हो। त्यसले मौलिकता जोगाउँदैन्। पछिल्लो समय युवा पुस्तामा मौलिकता जोगाउनको निम्ति बाजा सिक्ने, सिकाउने चलन बढेको छ। पहिले बाजा पुरुषहरुले मात्र बजाउथें भने अहिले महिला, केटाकेटीहरुले पनि बजाउँछन्। यसले संस्कृति बचाउनुपर्छ भन्ने मान्यता राख्छ। परम्परागत रुपमा मौलिक सम्पत्तिको जोगाउनुपर्छ भनेर युवाहरु सक्रिय भएका छन्। नेवार समुदाय वाहेक अन्य समुदायले पनि सहभागिता जनाउने, अपनत्व लिने गरेका छन्। त्यसलाई नेवार समुदायले पनि अपनाउनुपर्छ। त्यसो गर्दा झगडा हुँदैन र भएको छैन्। नेवार समुदाय कुनै जातिय समुदाय नभइ भाषिक समुदाय भएकाले जातिक मतभेत रहनु हुँदैन्।
(कला, संस्कृति र इतिहास सम्बन्धी अध्ययन गर्दै आइरहेका राजेन्द्र श्रेष्ठसँग कुराकानीमा आधारित)