तिहारमा फूूलको अभाव, ग्राहक रित्तै फर्किन बाध्य

यस वर्षको तिहारमा फूलको अभाव भएको छ। पुष्प व्यवसाय गर्ने कमै हुँदा पाल्पामा फुलको अभाव सिर्जना भएको हो। गत वर्षको तिहारमा सयपत्री फूलको राम्रो उत्पादन गर्नुभएका रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यो वर्ष फूलको माग बढी रहेकाले पुर्याउनै सकेनन्। 

उनले पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा पर्ने रामपुर नगरपालिकामा पहिलो पटक पुष्प व्यवसाय सञ्चालन गरेका छन्। “फूलको व्यापार असाध्यै राम्रो भयो, तिहारका बेला धेरै ग्राहकलाई खाली हात फर्काउनु परेको छ, बाहिरी बजार तथा स्थानीयस्तरबाट फूलको माग ह्वात्तै बढ्दा पुर्याउन समस्या भयो”, दिलबहादुरले भने।

गत वर्ष परीक्षणका रूपमा एक रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाइएको थियो भने उत्पादन राम्रो र माग बढेपछि यो वर्ष तिहार लक्षित दुई रोपनी जग्गामा सयपत्री फूल लगाइको लालबहादुरले बताए। तिहारको समयमा फूल बिक्रीबाट रु दुई लाख बराबरको कमाइ भएको छ। गतवर्ष यस व्यवसायबाट रु एक लाख आम्दानी भएको थियो। यस पटकको तिहारमा नेपालगञ्जमा ५० किलो फूल, बुटवल बजारमा ५० किलो फूल र दुई सय ५० वटा माला खपत भएको छ। दिलबहादुरका अनुसार विभिन्न जिल्लाबाट धेरै माग आए पनि पुर्याउन सकिएको छैन। थोकमा प्रतिमाला  ८० रुपैया, फुटकर १ सय  फूल थोकमा प्रतिकिलो मुल्य ३ सय  र फुटकर ४ सयमा बिक्री भएको छ।

तिहारका लागि माला तथा फूल खरिद गर्न पुगेकी नारायणी अर्याल खाली हात फर्कनुपर्याे। “फूल र माला किन्नका लागि आउँदा बोट नै रित्तिसकेछ, तिहारको अघिल्लो दिनमै फूल सकिँदा म जस्ता धेरै ग्राहक खाली हात फर्कन बाध्य भएका छन्”, उनले भनिन्।

गतवर्ष तिहार लक्षित गरी परीक्षणका लागि लगाइएको फूलको सफल उत्पादनले पुनः दोस्रो पटक गत फागुन चैतमा उत्पादन हुने गरी लगाइयो। उत्पादनको समय बन्दाबन्दीले फूल बिक्री गर्न नपाई बोटमै ओइलाएर गयो। पुनः तिहार लक्षित गरी लगाइएको फूलले सोचेभन्दा राम्रो उत्पादन दिएको व्यवसायी बताउँछन्।

बाहिरी बजार र स्थानीयवासीबाट फूलको माग बढ्न थालेपछि व्यवसायिकतालाई अगाडि बढाएको दिलबहादुर थापाको भनाइ छ। करिव १० वर्ष विदेश बसेर स्वदेश फर्कनुभएका थापाले दुई वर्षयता जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। 
–––

प्रकाशित मिति: : 2020-11-16 09:30:00

प्रतिकृया दिनुहोस्