रुपन्देही र बाँकेमा उपचाररत एक स्वास्थ्यकर्मीसहित ६ संक्रमितको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

रुपन्देही र बाँकेमा उपचाररत एक स्वास्थ्यकर्मीसहित ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

बुटवलका २ र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको हो। यता बर्दियाका दुईजना र दाङका एकजना संक्रमितको मृत्यु भएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका १० की ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ। उनी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य केन्द्रकी सिनियर अनमी हुन्।

कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि १८ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी उनको सोमबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलले बताए।

 रुपन्देहीमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु यो नै पहिलो हो।

यस्तै सिद्धार्थनगर नगरपालिका १२ का ७० वर्षीय पुरुषको पनि भीम अस्पताल भैरहवामा मृत्यु भएको छ। कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको मंगलबार बिहान ६ बजे मृत्यु भएको हाे। डा. पोखरेलका अनुसार संक्रमित पुरुष दमको दीर्घरोगी थिए।

यसैगरी कपिलवस्तुका एकजना कोरोना संक्रमितको बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका ६ का ७९ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

उनको सोमबार राति ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पुष्टि गरे। कात्तिक २३ गते बिहान १० बजे अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको सोमबार दिउँसो २ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। 

यता बर्दियाको ठाकुरद्वारा नगरपालिका २ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ। 

कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको हो।

कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरशेबाबु श्रेष्ठका अनुसार मृतकमा निमोनियाको समस्या थियो।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका ८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ। 

सोमबार साँझ ५ बजे कोरोना संक्रमण पुष्टि भएको तीन घण्टापछि अर्थात् गएराति सवा ८ बजे उनको मृत्यु भएको हो।

यस्तै दाङको घोराही उपमहानगरपालिका १५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ। सोमबार बिहान अस्पताल भर्ना भएको उनको गएराति साढे ९ बजे मृत्यु भएको हो। उनको  कोरोना परीक्षण रिपोर्ट भने राति १० बजे आएको हो।
 

प्रकाशित मिति: : 2020-11-10 12:11:00

प्रतिकृया दिनुहोस्