आमाकाे यादमा -२: अनि मेरा आँखा रसाइरहे

सानाे तिनाे भुँइचालाे आउने वित्तिकै एउटा कमजाेर भवन ढल्ने सम्भावना बढी हुन्छ। तपाईकाे अवस्था पनि त्यस्तै भइरहेकाे थियो। त्यही कमजाेर स्वास्थ्यले गर्दा नै सबैले हेप्ने गर्थे। यस्तै कुराहरू सहन नसकेकै कारण पनि हाेला सधैँ भन्नुहुन्थ्यो हे, 'भगवान मलाई मुक्ति देउ'। 

म विज्ञान पढ्छु। विज्ञानले भगवान् छन् भनेर विश्वास गर्दैन। त्यसैले पनि मलाई लाग्थ्यो तपाई हामीसँगै हुनुहुनेछ भनेर। तर तपाईले विश्वास गरेकाे भगवानले चाँडै सुन्याे, सायद। तपाईले भनेजस्ताे नै भयाे। तपाईले मुक्ति पाउनु भयाे।

तपाईकाे शरीरबाट शक्ति जति सबै चाेरेर राेगले राज गरिरहेकाे थियो। राेगकाे साम्राज्य अगाडि हाम्राे केही लागिरहेकाे थिएन। हामी हारिरहेका थियौं। आइसियूकाे बेडमा तपाई मृत्युुसँग लडिरहनु भएकाे थियाे। हामी दर्शक बनिरहेका थियाैं।

जसरी माेबाइल चल्नका लागि ब्याट्री र चार्जकाे आवश्यकता पर्छ, ब्याट्री र चार्जविना माेबाइल चलाउन कठिन हुन्छ, त्यसरी नै तपाईलाई पनि बचाउनका लागि आैषधी अनि कृत्रिम मेसिनहरु प्रयाेग गरिरहेकाे थियाे। तपाई हाेसमा हुनुहुन्थेन। एक मुठी सास मात्र थियाे। न बाेल्नु हुन्थ्याे, न त आँखा नै हेर्नु हुन्थ्याे। 

तपाईले सधैजसाे 'नानी' भनेर बाेलि दिएकाे भएपनि मलाई जिन्दगीमा केही चाइदैनथ्याे। एकातिर ढल्किरहेकाे जीवनलाई उठाउने प्रयास गर्दै थियाे, हाम्राे परिवार अनि हाम्रा आफन्तहरु। हजाराैं काेसिस गरेर पनि बुबा हारिरहनु भएकाे थियाे। भनाै न सेकेन्ड सेकेन्डमा गलिरहनु भएकाे थियाे।

अर्काेतिर ढलिरहेकाे जीवनलाई अझ दह्राे बनाएर उभ्याउने इच्छाकाे छेउमा उभिएका हामी छाेराछाेरी हारिरहेका थियाैं। समग्रमा हार्नु नै हाम्राे नियति हुन पुग्याे। 

आइसियूमा छँदा आमाकाे अवस्था एक्दमै नाजुक देखेर म 'आमालाई अब कहिले ठिक हुन्छ? कति दिनपछि हाेस् आउछ? अनि कहिले हामीसँग बाेल्नुहुन्छ त बुवा?' भनेर बारम्बार प्रश्न साेधिरहन्थे। तर त्यतिखेर बुबा कुनै उत्तर लिएर म सक्षम आउनु भएन।

हाम्राे जीवनमा एक पछि अर्काे दुःख साउनमा परेकाे पानीझैं पर्न थाल्याे। एउटा समस्याकाे हल गर्न नपाउदै अर्काे समस्या थपिहाल्थ्याे। जसरी एउटा थाेपा भूइमा खस्न नपाउँदै अर्काे थाेपा आउँछ। 

अकस्मात मनमा अनेक थरिका शंका उपशंकाले राज गर्न थाल्थ्ये। आमालाई केही भइहाल्याे भने हाम्राे जीवन अनि हाम्राे हालत कस्ताे हाेला भनेर। मेराे सामु वा मेराे आँखाकाे सामु मृत्युकाे प्रारम्भ भएझैं लाग्थ्याे। मलाई एक्दमै डर लाग्थ्याे। 

ममा उकुुसमुकुस भएकाे भावुकतालाई कसैले नदेखाेस भनेर हँसिलाे हुन खाेज्थ्ये। जीवनमा अभिनय कहिलै नगरेकाले हाेला मेराे अनुहारबाट उदासी हाम फालेर आमा र बुवाकाे आँखातिर पुग्थ्याे। 

आमा अस्पतालकाे बेटामा छँदा, उपचारकाे क्रममै हुँदा, आमाले भन्नुहुन्थ्याे, 'के भाे मलाई एकदमै अप्ठेराे भएकाे छ। सास फेर्न पनि राम्राेसँग सकिरहेकी छैन। के भयाे छाेरी?' भनेर मलाई साेध्नाेहुन्थ्याे। तर मसँग कुनै जवाफ हुँदैनथ्यो।

आमाकाे मन हलुका बनाउनकै लागि भए पनि 'केही भएकै छैन। दुई तीन दिनमै निकाे हुन्छ' भनेर झुटाे बाेलिरहन्थे। रातभरि सुत्नुहुँदैनथ्याे। 

एकदिन बिहान ट्वाइलेछ जान्छु भन्नुभयाे। मैले ह्वीलचियरमा राखेर ट्वाइलेट लगे। त्यहाँबाट फर्किने बेला ढाेकामै ढल्नुभयाे। म एकमै आत्तिए। आमालाई उठाउन धेरै काेसिस गरे तर सकिन। 'ममि ममि' भनेर कराउन थाले। धेरै बेरसम्म बाेलाउदा पनि आमा नउठेपछि म एक्दम आत्तिए अनि ठूलाे स्वरले कराए। त्यसपछि डाक्टर अनि नर्स आएर आमालाई उठाएर बेडमा लगे र आैषधी गरे।

केहिबेरपछि आमाकाे हाेस आयाे। म राेएकाे देखेर 'किन आत्तियाै छाेरी? मलाई केही हुँदैन। अब दुई तीन दिनमै निकाे भइहाल्छ।' भन्नुभयो।

आमाले पनि मैले जसरी नै बाेल्नुभयाे। आमालाई अप्ठ्यारो हुँदा मैले सम्झाउने। म रुँदा आमाले उस्तै गरि आफूलाई कुही हुँदैन भन्ने क्रम चलिरहयाे, इकाे सिस्टम जस्तै।

हामी आमाछाेरीकाे मन हलुका बनाउने शब्दाहरु नै दुई तीन दिनमा निकाे भइहाल्छ। तर परिस्थितिका  अगाडि शब्दहरु जाबाेकाे केही नलाग्ने रहेछ। केवल एक छिन मन हल्का बनाउने काम मात्रै भयाे। आजभाेली मैले सपनामा आमा बाँचिरहेकाे देखेजस्ताे। 

त्याे दिन आमाकाे हाेस आए पनि, आमाले दुई तीन दिनमा निकाे हुन्छु भनेपनि, आमाकाे जीउ आेरालाे लागेकाे मृगझै भइसकेकाे रहेछ। आमाकाे काख आकासकाे फल बन्दै गएकाे रहेछ। भित्रभित्रै आमाले मानेकाे भगवान हावी भएकाे रहेछ। एक हिसाबले मैले मानेकाे विज्ञानले हारिरहेकाे रहेछ। अनि मेरा आँखा रसाइरहे। रसाइरहे।

 

प्रकाशित मिति: : 2020-11-07 19:36:00

प्रतिकृया दिनुहोस्

यो पनि पढ्नुहोस्