आजभोली ओछ्यानमा पल्टिरहेको बेला पनि दिमागमा समय झन् झन् लामो भएको जस्तो लाग्छ। छट्पटाइ अनि अतितका दुःखका चोटहरूले आलो घाउलाई कोट्याइ दिदा आँखामा निद्रा नै आउदैन।
समयका गोडाहरू दिमागको एउटा कुनादेखि अर्को कुनासम्म दगुर्छन्। तिनै गोडामा स्थिर जोडिएका समयका आकृतिहरू झन् धमिलो देखिन थाल्छन्। नचाहँदा नचाहँदै पनि आइरहन्छन् धमिला दृश्यहरू। तिनीहरू मेरो दिमागलाई थकाँउदै आइरहन्छन्, आइरहन्छन्।
बिरामी हुनु वा बिरामी भएको छु भन्ने कुरा सुन्दा शरीरिरमा काँडा उठेर आउँछ। विभिन्न किसिमका तरङ्गहरू उत्पन्न हुन थाल्छन्। अचानक, मुटु नै भारी भएको जस्तो। लाग्छ मैले सहनै नसक्ने भारी उचालेकी छु। बिरामी भएको बेला अर्थात शरीरले काम नगरेको अवस्थामा मस्तिष्कलाई पनि आराम चाहिन्छ।
तर आमा तपाई बिरामी भएको अवस्थामा पनि आराम पाउनु भएन। रातदिन घरमा बस्नु हुन्नथ्यो। मन मस्तिष्कमा अनेकौं कुराहरू सोच्नुहन्थो, हाम्रै बारेमा। सँधै हाम्रै बारेमा सोच्नुभयो।
जे जस्तो भए पनि चित्त बुझाएर हाम्रै भलोको लागि सकि नसकि काम गर्नु भयो। हामीहरूकै बारेमा सोच्दा सोच्दा तपाईको मन मस्ष्तिकमा ठूलो बोझ परेको थाहा नै पाउनुभएन। त्यसैको कारण खुशीको अनुभुति गर्न कहिले पाउनुभएन।
हजारौं दुःख, कष्ट गर्दा गर्दै पनि जीवनमा खुशी कहिले नआएपछि जीवनदेखि नै हार खाएर भन्नुहुन्थो, ‘हे भगवान मलाई चाडै मुक्ति देउ’ भनेर।
म त्यो समयमा एक्दमै रिसाउन्थे। किनकि मेरो मनमा तपाई नहुँदाको समय र म बाँचिरहेको दिन देख्न नपरोस भन्ने नै थियो। कस्तो संयोग, जे मैले नचाहेको थिए, त्यही म भोगिरहेकी छु।
मैले कहिले सोचिन् तपाईले यसरी एक्लै दोबाटोमा छोडेर जानुहुन्छ भनेर। रहर त तपाईलाई पनि कहाँ थियो र यसरी एक्लै छाडेर जान। सधैँ तपाईँकै काखमा पल्टेर म आफ्ना हरेक दुःख पीडाहरू सहजै बिर्सन सक्थे।
म हरेक पल तपाईँसँगै हुन्थे, जनसुकै ठाउँमा हुँदा पनि। रातको समयमा तपाई सुत्नु हुन्थ्यो अनि म तपाईलाई निहालेर हेरी रहन्थे। तपाईका मलिन आँखाहरूमा रोगले डामेर छाडेका चिन्हहरू अनि तपाईँ बिउझदा ओइलाएको शरीरलाई ओछ्यानमा फालेर तपाईँ मतिर हेरिरहनुहुन्थ्यो।
एउटा सिटामोलको टाटा खाएर निको हुने रोग कहाँ थियो र तपाईको? तपाईँको शरीरमा खानाको मात्रा भन्दा पनि औषधीको मात्रा बढि थियो।
तपाईलाईँ औषधीले नै त अगाडी बढाइरहेको थियो। भनौं न औषधीले मसँगै रहने दिन बढाइरहेको थियो। तैपनि स्वास्थ्यमा आउने विभिन्न समस्याका अगाडि औषधीको केही लागेन।
बैरीको कुराकानी र व्यवहार देखेर दिक्क मान्नुहुन्थ्यो। हामीलाई पनि कहाँ खुसी लाग्थ्यो र? उनीहरूको बोलचाल, व्यवहार। उनीहरूमा भएको झगडालु स्वभाव र उनीहरूमा भएको राक्षसीपनाले गर्दा ओइलाइरहेको पर्यावरणमा पृर्थ्वी आकाश र पातालमा पनि तुँवालो लागेको जस्तो मान्नुहुन्थ्यो सधैँ।
दुखेको आलो घाउलाई झन् बढि कोट्याइ दिन्थे, उनीहरू। आज उनीहरुकै कारण नजिकैका राम्रा राम्रा दृश्यहरू पनि छेकिदै आएका छन्।
घामको चहकिलो प्रकाश पनि कतै देखिँदैन। सूर्यको किरणबाट आउने उज्यालो चहलपहलहरू अन्तरध्यान भएका छन्। अनि तपाईँ नै हाम्रो साथमा हुनुहुन्न।
त्यसैले न्यास्रो लाग्छ। मायाको न्यास्रो, तपाईको काखको न्यास्रो, अभावको न्यास्रो, आफन्तहरूको न्यास्रो।
तपाईँ बिरामी भएको बेला रोग भन्दा पनि मनमा लागिरहन्थ्यो कतिखेर के हुन्छ भन्ने। न्यास्रोले बढी थकाइ लाग्थ्यो। जीवन सारै कमजोर लाग्थ्यो। एउटा कच्चा भवन जस्तो, डुब्न लागेको सूर्य, कर्कलाको पानी, सिसाको टुक्रा अनि हाम्रो जिन्दगी उस्ताउस्तै लाग्थ्यो।