मोरङमा एकै दिन सात काेराेना संक्रमितको मृत्यु

मोरङका विभिन्न अस्पतालमा उपचाररत सातजना कोरोना संक्रमितको मृत्यु भएको छ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३, विराटनगर अस्पताल प्रालि, विराट शिक्षण अस्पताल, न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल, र नोबेल शिक्षण अस्पतालमा उपचाररत समान एक/एकजना संक्रमितको मृत्यु भएको हो।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका १२ की ६४ वर्षीय महिलाको उपचारका क्रममा मंगलबार बिहान ४ बजेर ४५ मिनेटमा मृत्यु भएको छ।

आइतबार पिसिआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई सोमबार केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो। त्यसैगरि केन्द्रमै मोरङ कटहरी गाउँपालिका २ की २१ वर्षीया युवतीको बिहान करिब ५ बजेर ३० बजे मृत्यु भएको छ।

युवतीको पनि आइतबार नै पिसिआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियाे।  सोही दिन केन्द्रमा भर्ना गरिएको थियो।

यता इटहरी उपमहानगरपालिका ५ का ३८ वर्षीय पुरुषको सोमबार बेलुका साढे ६ बजे मृत्यु भएको थियो। कोरोना लक्षणसँगै पिसिआर रिपोर्ट पोजिटिभ आएका पुरुष घरमै क्वारेन्टिनमा बस्दै आएका थिए।

त्यसैगरि, विराटनगर अस्पतालमा उपचाररत रंगेली नगरपालिकाका ८५ वर्षीय वृद्धको पनि मृत्यु भएकाे छ। 

 ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि असोज २८ गते पिसिआर परीक्षण गराउँदा  रिपोर्ट पोजिटिभ आएको वृद्धकाे सोमबार राती करिब १२ बजे उपचारका क्रममा मृत्यु भएको हाे।

विराटनगर अस्पतालकै बुढीगंगा गाँउपालिका टंकीसिनुवारीमा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा वृद्धाको मृत्यु भएको छ।

झापा विर्तामोड नगरपालिका ४ की ७६ वर्षीया बृद्धाको मंगलबार बिहान ८ बजेर ५० मिनेटमा मृत्यु भएको हो।

कोरोना पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको थियो।

त्यसैगरि, विराटनगरकै न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा समेत ६४ वर्षीया महिलाको मृत्यु भएको हो।

विराटनगर महानगरपालिका १० की महिलामा असोज १५ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो।

थप उपचारका लागि उनलाई असोज २४ गतेबाट न्यूरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियाे।

यता विराटनगरको नोबेल शिक्षण अस्पतालमा महानगरपालिकाकी ६९ वर्षीया महिलाको उपचार क्रममा मृत्यु भएको छ।

महिलाको मंगलबार बिहान करिब ८ बजे मृत्यु भएको हो।

असोज २६ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको महिलालाई थप उपचारका लागि शनिबार अस्पतालमा भर्ना गरिएको थियाे। 

यससँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणका कारण १ सय ४३ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-10-20 12:33:00

प्रतिकृया दिनुहोस्