बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय हुने सक्ने प्रावधान राखिएको विधेयक पारित भएसँगै एक सामूहिक बलात्कारको घटनामा पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ।
बंगलदेशमा बलात्कारको मुद्दामा मृत्युदण्डको व्यवस्था गरिएपछिको यो पहिलो फैसला हो।
गएको हप्ता बंगलादेशको विकट दक्षिणी क्षेत्रमा एक महिलालाई पुरुषहरुको एक समुहले अपहरण गरी सामुहिक बलात्कार गरेका थिए।
बलात्कार गरिएको भिडियाे सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो। त्यसपछि मुलुकमा बलात्कारको घटनामा दोषीलाई हदैसम्मको सजायको माग राख्दै बंगलादेशभर ठूलो प्रदर्शन भयाे।
प्रदर्शनले ठूलो रुप लिएपछि सरकारले बलात्कारको मुद्दामा मृत्युदण्डको व्यवस्था गर्ने गरी कानुन संशोधन गरेको थियो।
यही समयमा अदालतले बिहीबार सन् २०१२ मा भएको सामूहिक बलात्कारको घटनाका पाँच अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाएको हो।
महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहारका घटना सुल्झाउन गठित विशेष अदालतले १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेका अभियुक्तलाई मृत्युदण्ड दिने फैसला सुनाएको हो।
अभियोजनकर्ता नसिम अहमदका अनुसार उत्तरी जिल्ला टाङ्गिलबाइका पीडित बालिकाको केटा साथीले उनलाई खोला नजिकैको क्षेत्रमा लिएर गएका थिए।
त्यहाँ पीडितको साथी र अरु दुई जनाले बलात्कार गरेका थिए। यो घटनामा अन्य दुई जना युवकले पनि सघाएका थिए। यो घटनामा पाँचै जनालाई अदालतले दोषी रहेको ठहर गरिएको छ।
ऐन ओ सलिश केन्द्र नामक एउटा मानव अधिकारवादी संस्थाका अनुसार नौ महिनाको अवधिमा बंगलादेशमा कम्तीमा नाै सय ७५ जना महिला बलात्कृत भएका थिए। तीमध्ये दुई सयभन्दा बढी घटना सामूहिक बलात्कारका छन्।
पीडितमध्ये ४३ जनाको हत्या भएको र १२ जनाले आत्महत्या गरेकाे तथ्याङ्क छ। बङ्ग्लादेशमा बलात्कारको मुद्दामा एक प्रतिशतभन्दा कम आरोपित मात्रै दोषी ठहर हुने गरेको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ।