विश्व हिन्दु युवा संघले पोखराको गोरखनाथ मन्दिरबाट सुरु गर्‍याे हिन्दु राष्ट्रको अभियान

कास्कीको बेगनास तालमा अवस्थित गोरखनाथ मन्दिरका महन्त योगी बलभद्र नाथको हातबाट प्रासद र टीका ग्रहण गरेर विश्व हिन्दु युवा संघले एकसाता लामो हिन्दु जागरण तथा दशैं तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम सुरु गरेको छ। 

उक्त कार्यक्रमको शुभारम्भ महन्त योगी नाथ, विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खराल, र विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले गरेका थिए। 

कार्यक्रमको शुभारम्भ गर्दै योगी नाथले नेपाललाई हिन्दु राष्ट्रमा रुपान्तरण गर्ने समय आइसकेको भन्दै यसमा कटिबद्ध भएर लाग्न आग्रह गरेका थिए। 

साथै उनले अहिले धर्म र मौलिकताको रक्षा गर्न नसके सिङ्गै देशको अस्तित्व धरापमा पर्ने भन्दै सुझबुझ हिसाबले लाग्न सुझाव समेत दिए। 

उक्त सुझाव पछि संघका अध्यक्ष शाहले आफू मौलिकता र धर्म बचाउने सबै कुराको त्याग गर्न तयार भएको बताए। उनले आफूले मृगस्थलीबाट हिन्दु धर्म र पुर्वीय दर्शनको महत्त्वबारे हरेक हप्ता कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै उक्त कार्यक्रम गण्डकी प्रदेशमा पनि सञ्चालन गर्नुपर्ने बताए। 

कार्यक्रम विश्व हिन्दु महासंघका उपाध्यक्ष खराले हिन्दु राष्ट्र पुनस्थापना गर्न गरेको गतिविधिको प्रसंसा गरे। 

उक्त कार्यक्रममा संघका प्रवक्ता अनुराग शाह, केन्द्रीय सदस्य मुक्त मल्ल, रेशम केसी, सिरोज विजय कोइराला, सन्तु ढकाल पौडेल लगायतको उपस्थिति थियो।

प्रकाशित मिति: : 2020-10-15 07:20:00

प्रतिकृया दिनुहोस्