बुढीगण्डकी परियोजनाबारे बाबुरामले दिएकाे अभिव्यक्तिमाथि छानविन गराैं: खरेल

पूर्वडिआइजी रमेश खरेल नेतृत्वको ‘हाम्रो नेपाल सुशासन अभियान’ले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनाबारे दिएको अभिव्यक्तिबारे छानविन गर्न माग गरेकाे छ।

मंगलबार विज्ञप्ति जारी गर्दै डा भट्टराईको उक्त अभिव्यक्तिमाथि छानविन गर्न माग गरेको हो। 

‘यो चानचुने विषय होइन, डा. बाबुराम भट्टराईले यसमा गम्भीर बनेर प्रमाणसहित अघि बढाउन प्रमाण साहस गर्नुपर्छ,’ अभियानका संयोजक खरेलद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘अन्यथा दोष मात्र लगाएर चुप बस्ने हो भने उनको राजनीतिक भविष्य र व्यक्तित्वमा गम्भीर आघात पर्नेछ।’ 

भट्टराईले केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा बूढीगण्डकी आयोजनामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्कमल दाहालले ९ अर्ब बाँडेर खाएको बताएका थिए।

‘परियोजनामा नेपालका प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहालले भ्रष्टाचार गरेको कुरा सार्वजनिक भएको छ, उच्चस्तरीय छानविन आयोग गठन गर्न चुनौती समेत दिनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भट्टराई देशका पूर्वप्रधानमन्त्री हुन् र हाल पार्टीका नेता पनि। उनले यसपूर्व पनि पुष्पकमल दाहाललाई भ्रष्टचारको दोष लगाउँदै आएका थिए। यसपटकको उनको अभिव्यक्तिमा तीन जनाको नाम छ, छानविन होस्।’

अभियानको विज्ञप्तिमा भ्रष्टाचार हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतले यस विषयलाई गम्भीरतापूर्वक लिएर छानविन गर्नुपर्ने उल्लेख छ। ‘कसैको आदेश नमानी, कानुनसम्मत अनुसन्धान गरियोस् भन्ने हाम्रो अभियानको माग छ,’ विज्ञप्तिमा छ। 

यता पूर्वप्रधानमन्त्री भट्टराईले पनि उच्चस्तरीय र निष्पक्ष छानविनको माग गरेका छन्।

‘मेरो प्रधानमन्त्रीकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्दछु। त्यसलाई सहयोग गर्न प्रतिवद्ध छु,’ भट्टराईले ट्वीट गर्दै भनेका छन्।

प्रकाशित मिति: : 2020-10-13 20:11:00

प्रतिकृया दिनुहोस्