अविश्वासको प्रस्ताव दर्ता गर्नेलाई मिलाउन काठमाडौं बोलाइयो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं झिकाएका छन्।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेकपा कर्णाली प्रदेश सभाका सांसद कुर्मराज शाहीलाई दलको सचेतकमा नियुक्त गरेपछि र  प्रदेश इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्यमन्त्रीले हालै प्रमुख सचेतकबाट निलम्बन गरेका गुलावजंग शाह र  मुख्यमन्त्री शाहीलाई छलफल र सहमतिका लागि दुई दिनभित्र काठमाडौं हाजिर हुन  बोलाइएको हो। 

कर्णाली प्रदेशको संसदीय दलमा विवाद चुलिएपछि त्यही विषयको छलफलका लागि अध्यक्षद्वयले प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बोलाएका हुन्।

कामकारबाही प्रभावकारी नभएको भन्दै आइतबार दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

अविश्वासको प्रस्ताव दर्ता भए पनि मंगलबार नेपाल-प्रचण्ड समूहका कर्णालीका नेताबीच सहमति हुँदा अविश्वासको प्रस्ताव फेल भएको छ।

माधव नेपाल पक्षका ३ जनालाई मन्त्री र एकजना सांसदलाई सचेत बनाउन सहमति भएपछि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका ७ सांसद फिर्ता भएका छन्। यसले गर्दा मुख्यमन्त्री शाहीको पद जोगिएको छ।

ओली समूहका नेताहरुले भने सुरुमा स्वतस्फूर्त रुपमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको र अहिले पद पाएपछि हस्ताक्षर फिर्ता लिएको नेपाल र प्रचण्ड समूहका सांसदहरुलाई आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2020-10-13 17:52:00

प्रतिकृया दिनुहोस्