विपद न्यूनीकरणका लागि सबैसँग मानवीय, परोपकारी र सहकार्यको भावना हुनुपर्छ: प्रधानमन्त्री ओली (भिडियाेसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासबाट प्रकृतिक विपद् जोखिम न्यूनीकरण गर्नुपर्ने बताएका छन्। 

प्राकृतिक विपद जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपद न्यूनीकरणका लागि मानवीय, परोपकारी र सहकार्यको भावना आवश्यकतमा रहेको बताए।

उनले जोखिम प्रकट हुनै नपाउने र भइहालेमा त्यसको समाधान कसरी गर्ने भन्ने सम्बन्धमा सरकार तत्पर रहेको पनि बताए। यस्तै उनले उद्धार, राहत र पुननिर्माणका कामहरुलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सरकारले आफ्नो सहभागितालाई बढाउँदै लगेको दावी समेत गरे।

‘सन २०१५ देखि सुरु भएको दिगो विकास लक्ष्यले पनि विपद् जोखिमको सन्दर्भमा महत्वपूर्ण दृष्टिकोण अगाडि सारी काम गरिराखेको छ,’ उनले भने, ‘केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा केन्द्रले तय गरेका राष्ट्रिय नीति, रणनीति र कार्ययोजनालाई प्रवाहित गर्ने र सबै तहमा जानकारी गराउने काम भइराखेको छ।’

पछिल्लो समय कोरोना भाइरसले मानवीय र अर्थतन्त्रमाथि गम्भीर क्षति पुर्‍याएकोले पनि सबै मिलेर न्यूनीकरणमा लाग्नुपर्ने प्रधानमन्त्री ओलीले बताए। कोरोना संक्रमणको अहिलेको स्थितिले विश्व व्यवस्थाको सन्दर्भमा नयाँ नयाँ ढंगले सोच्नुपर्ने समेत उनको भनाइ थियो।

उनले नेपालमा विपद् जोखिम न्यूनीकरण र त्यसबाट उत्पन्न भएका असरहरुको समाधान गर्ने सन्दर्भमा राष्ट्रिय नीतिको तर्जुमाबाट तयार भएको रणनीतिक कार्ययोजनालाई दिगो विकास लक्ष्यसँगै जोडेर राष्ट्रिय रणनीति तय भइसकेको पनि बताए। 
 

प्रकाशित मिति: : 2020-10-13 14:23:00

प्रतिकृया दिनुहोस्